नेपालगन्ज— बैज्ञानिकरुपमा व्यवस्थापन गरिएका बाँकेका सामुदायिक र सरकारी वनबाट सालका रुखसहित वार्षिक ६ हजार ८ सय ५२ रुखहरु कटान गरी करोडौ फाईदा लिन सक्ने कार्य योजना पेश गरिएको छ । कटान गरिने रुखको आयु ८० वर्ष बुढो हुनुपर्ने अनिवार्य शर्त छ । माथेबास सरकारी वन र १७ वटा सामुदायिक वनबाट १० वर्षसम्म उक्त परिणाममा रुख काटन गर्न पाउने कार्ययोजना ल्याइएको हो । बैज्ञानिकरुपमा संरक्षण र व्यवस्थापन गरिएका वनबाट यसरी रुख काटन गर्दा बातावरणीय प्रभाव नपर्ने संरक्षणकर्मीहरुको तर्क छ । काटन गरिने क्षेत्रमा प्रति हेक्टर २५ वटा माउ रुखहरु संरक्षण गरिने छ । यसले नयाँविरुवाहरु उत्पादन गर्ने बिश्वास गरिएको छ । त्यस्तै जैविक विविधतले महत्वपूर्ण (गिद्द बस्ने सिमलको रुख, महुवा) लगायतका रुखहरु कटान गर्न नपाईने वन कार्यालयका अधिकारीहरु बताउँछन् । त्यस्तै बैज्ञानिकरुपमा बुढो रुख कटान गरेपछि नयाँ रुखहरुको उत्पादन बढेको छ । डिभिजन वन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रीले सरकारी नीति अनुसार उक्त कार्य योजना तीन वर्ष अघि नै ल्याइएको बताए । उनका अनुसार सरकारी वनमा बैज्ञानिक वन व्यवस्थापन कार्यन्वयनमा आइसकेको तर सामुदायिक वनको हकमा रोकिएको हो । ‘बैज्ञानिक वन व्यवस्थापन गरी रुख कटान गर्ने हो भने सरकारलाई करोडौं आम्दानी हुन्छ । हजारौ सर्वसाधारणहरुले रोजगारी पाउछन्,’ उनले भने,‘बुढा रुख काटन गर्ने हो भने नयाँ उत्पादन बढ्छ ।’ उनले बुढा रुख काटन गरिएको माथेवास वनमा नयाँ रुखहरु उत्पादन हुन थालेको जनाए । बैज्ञानिकरुपमा वन व्यवस्थापन गर्दा रुख काटेर वातावरणमा प्रभाव पर्ने तर्क बैज्ञानिक नभएको उनको तर्क छ । ‘रुख काटन गर्नुअघि बैज्ञानिकरुपमै वनको बिश्लेषण गरिन्छ । जीपीएस लगाएर रुखरुखबीचको दुरी नापिन्छ । कुन स्थानबाट कति रुख काटन गर्न सकिन्छ हेरिन्छ । रुखको अग्लाई मोटाई र कति वर्ष पुरानो हो सबै पत्ता लगाएर मात्रै कटान हुन्छ,’ डिभिजन वन कार्यालय बाँकेका प्रमुख क्षेत्री भन्छन् । उनका अनुसार एक वर्ष कटान गरिएको स्थानमा अर्को ८० वर्षसम्म कटान गर्न पाईने छ ।
माथेबास चक्ला सरकारी वनबाट चालु आर्थिक वर्षमा २ हजार ५२ रुखहरु कटान गरिने छ । १० वर्षसम्म २० हजार ५ सय १९ रुख कटान हुने कार्य हुने छ । १० लाख २९ हजार क्युफिट काठ र १ हजार चट्टा दाउरा उत्पादन हुने छ । बिक्री गर्दा ४५ करोड ४६ लाख ७० हजार सरकारलाई फाईदा हुने छ । १ लाख ५० हजारले रोजगारी पाउने कार्य योजनामा उल्लेख छ । ४ हजार ५ सय ६६ माउ रुख र २८ वटा जैविक विविधताले महत्वपूर्ण रुखलाई भने कटान गर्न नपाईने वन कार्यालयले जनाएको छ ।
त्यस्तै राप्ती सोनारी गाउँपालिका क्षेत्रका १७ सामुदायिक वनबाट चालु आर्थिक वर्षमा ४ हजार ८ सय रुखहरु कटान गरिने कार्य योजना छ । १ लाख ४५ हजार क्युफिट काठ २ सय २५ चट्टा दाउरा उत्पादन हुने छ । एक वर्षमै करिव १२ करोड फाईदा गर्ने लक्ष्य छ । एक वर्षमा २० हजारले रोजगारी पाउने कार्य योजनामा छ । डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेशबहादुर खडकाले बैज्ञानिक वन व्यवस्थापन तरिकाले रुख काटन गर्दा पर्यावरणमा खासै फरक नपर्ने जनाए । उनका अनुसार स्थानीय उपभोक्तालाई आवश्यक पर्ने काठ सहुलियत मुल्यमा खरिद गर्न पाए चोरी पनि कम हुन्छ । ‘बैज्ञानिक तरिकाले वनको अध्ययन अनुसन्धान गरेरमात्रै रुख काटन गर्न दिईन्छ । रुख काटन गर्दा अनैतिक हुननदिन ब्यापक अनुगमन गरिन्छ,’ उनले भने बाँकेको कुल क्षेत्रफल मध्ये आधा भन्दा बढी वन क्षेत्र छ । १ लाख १९ हजार ९ सय ४० हेक्टर क्षेत्रमा वन छ । सँमुदायिक वन उपभोक्ता महासंघका स्थानीय अध्यक्ष कृष्ण केसीले सरकारले ल्याएको नीति अनुसार नै बैज्ञानिक वन व्यवस्थापन गर्दै आएको बताए । तर सामुदायिक वनको महत्व बुझ्न नसक्दा विरोध हुने गरेको उनले जनाए । ‘देशको कुनै दुईचार स्थानमा बैज्ञानिक वनको नाममा बदमासी भएको हुनसक्छ । त्यस्तालाई कारवाही हुनु पर्छ छ । तर सबै सामुदायिक वनलाई एउटै घानमा हालेर हेर्न मिल्दैन,’ उनले भने,‘बैज्ञानिक वनको नीति अनुसार रुख काटन गर्दा कुनै हानी नोक्सानी छैन । बरु रोजगारी दिएको छ ।’ बा“केलाई घर निमार्णका लगायतका कार्यका लागि वार्षिक एक लाख क्युफिट काठ आवश्यक पर्छ । तर काठको अभाव हु“दै आएको छ । बैज्ञानिक वनले जिल्लाको मागलाई पूरा गर्ने र बढी भएको काठलाई अन्य स्थानमा बिक्री गर्न सकिने छ ।
क्याप्सन ःबाँकेको बैज्ञानिक व्यवस्थापन गरिएको राप्ती सोनारीको वन । तस्बिर ः दस्ताबेज