नेपालगन्ज—महिला समाबेशीका मुद्दा नयाँ होईन । हरेक पल समाबेशीका कुरा गरिन्छ । तर बाँके र बर्दियाका पालिकामा महिलाको सहभागिताको अवस्था हेर्ने हो भने समाबेशीको मुद्दा हावा खाएको छ ।
बाँके नेपालगन्ज उपमहानगरपालिकामा २३ र कोहलपुर नगरपालिकामा १५ वडा छन् । तर एक जना पनि महिला वडा अध्यक्ष अटेनन् । बैजनाथ गाउँपालिकामा ८, खजुरा गाउँपालिकामा ८, डुडवा गाउँपालिकामा ६, राप्ती सोनारी गाउँपालिकामा ९ र नरैनापुरमा ६ वडा गरी बाँकेमा ७६ वडामा एक जना पनि वडा अध्यक्ष अट्न सकेनन् । ६ नगरपालिका र दुई गाउँपालिका गरी ८ स्थानीय सरकारका ७४ वडा बर्दियामा छन् । ति मध्ये तीन महिलामात्रै वडा अध्यक्ष हुन सफल भएका छन् । ठाकुरबाबा नगरपालिकामा एक र गुलरिया नगरपालिकामा दुई जना महिला वडाको जिम्मेवारी निर्वाह गरीरहेका छन् । ति मध्ये एक हुन ठाकुरबाबा नगरपालिकाकी एक्ली वडा अध्यक्ष राधा चौधरी । उनी वडा न. ९ बाट प्रतिनिधित्व गर्छिन । बाँकी आठ वडामा पुरुष वडा अध्यक्ष छन् । नगरसभामा पुरुष वडा अध्यक्षहरुबीच आफ्ना कुरा दरोरुपमा उठान गर्छिन । वडाको विकासका लागि योजना पार्न लड्नु छँदै छ त्यससंगै महिला अधिकारको मुद्दा छोड्नै भएन । कारण— महिला वडा अध्यक्ष भएपछि महिलाहरु बढी आशाबादी देखिन्छन् । उनी वडाबासीको मन जित्न रातदिन विकासकै काममा जुट्छिन । सर्वसाधारणहरुको गुनासो सुन्दै समस्या समाधान गर्दै आएकी छन् । सुरुमा वडा अध्यक्ष हुँदा सरकारी कामको मेसो नपाएका उनले दुई वर्षयता धेरै सिक्न पाएकी छन् । ‘सुरुमा वडा अध्यक्ष हुँदा कसरी काम गर्ने होला भन्ने चिन्ता लाग्थ्यो । बिस्तारै काम गर्दै गएपछि सहज बनेको छ,’ वडा अध्यक्ष चौधरीले भनिन्,‘सबैको मन जित्ने गरी काम गर्ने प्रयास गर्दै आएको छु । मेरो काम गराइको जनताले प्रशंसा गरेको सुन्छु ।’
वडा अध्यक्ष हुनुअघि उनी विभिन्न सामाजिक संघसंस्थामा काम गर्थिन । आफैले खोलेको सहकारी संस्था खोलेर चलाएका थिईन । यसले उनको राजनीतिक नेतृत्वलाई निखार्न सहयोग गरेको थियो । वडा अध्यक्ष चलाउन नसक्ने भन्दै कुरा काट्नेलाई काम गरेर गतिलो जवाफ दिएको उनको दाबी छ । ‘चुनावका बेला थारु महिलाले के वडा अध्यक्ष चलाउला भनेर केहीले कुरा पनि काटे । मलाई कमजोर पार्न त्यसो भनिएको होला । तर म डराईन र जनताले जिताए,’ नेकपाबाट जितेकी उनले भनिन्,‘वडामा विकासका योजना ल्याएर कुरा काट्नेहरुलाई जवाफ दिएकी छु ।’
गुलरिया नगरपालिका वडा न. ५ को अध्यक्षमा सवित्रा गौतम र वडा न. ७ की वडा अध्यक्ष गीता बस्नेत चुनिएका छन् । उनीहरु पनि पुरुष जनप्रतिनिधिहरुकै भिडका बीच आफ्नो वडाको विकासमा जुटेका छन् । काम गर्न भने सजिलो छैन । नगरसभाका बेला महिलाको मुद्दा अल्पमतमा पर्छ । तर अधिकारको लडाईमा भने उनीहरु तल्लिन छन् । ‘महिला भन्ने बितिकै हेर्ने दृष्टिकोण अझै पनि पुरानै छ । वडा अध्यक्ष भइसकेपछि पनि विकास गर्ला भनेर विश्वास गरिदैन,’ वडा न. ५ की वडा अध्यक्ष गौतम भन्छिन्,‘तर पनि काम देखाएर विश्वास जित्ने प्रयास गरिरहेका छौँ।’ उनले महिलाहरुलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नआउँदा दुःख लाग्ने गरेको बताईन । कतिपय अवस्थामा कर्मचारीहरुले सही सल्लाह र सुझाव नपाएको गुनासो उनको छ । ‘तर पनि काम गर्न प्रयासरत छौँ । सबैको मन जित्ने गरी विकासको काम भइरहेको छ,‘ उनले भनिन्,‘काम गर्दै जाने हो । किनभने काम गर्नैका लागि जनताले जिताएर पठाएका छन् ।’ कांग्रेसको राजनीतिमा आउनु भन्दा पहिले उनी पनि सामाजिक संस्थामा काम गर्थिन । संघसंस्थामै काम गर्ने क्रममा समुदायले उनलाई नेताको रुपमा स्वीकार गरिसकेको थियो । वडा न. ७ की वडा सदस्य गीता बस्नेतलाई सोमबार काम भ्याईनभ्याई थियो । उनलाई बोल्नसमेत फुर्सद थिएन । वडाबासीले उनलाई घेरेर राखेका थिए । उनले वडा अध्यक्ष भएर काम गर्न निकै चुनौती रहेको बताईन । ‘महिला भनेपछि काम गर्नै समस्यै हुने रहेछ । तर समस्यालाई पन्छाउँदै काम गरिरहेको छु,’ उनले संक्षिप्त प्रतिक्रिया दिंदै भनिन्,‘पहिलो कुरा महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु पर्छ । त्यसपछि महिलालाई काम गर्न निकै सहज हुने छ ।’
बर्दियाको बारबर्दिया, राजापुर, मधुवन, बाँसगढी नगरपालिका, गेरुवा र बढैयाताल गाउँपालिकामा महिला वडा अध्यक्ष शुन्य छन् ।
संबिधानले महिलाको अनिवार्य सहभागिता निश्चितबाहेक अन्य पदमा महिलाको सहभागिता हुननसक्नु दुखद भएको अधिकारकर्मी बताउँछन् । उनीहरुले स्थानीय सरकारमा महिलाको सहभागिता बढाउन अहिलेदेखि नै बहस र छलफल हुनु पर्ने सुझाउँछन् ।