भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे बुधबार आज नेपाल आउने निश्चित भएको छ । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने तालिका तोकिएको छ । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम तय गरिएको छ । भारत फर्किनु अघि शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने नेपाली सेनाले जनाएको छ । उनको भ्रमणलाई लक्षित गरी काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाल–भारत सीमा विवाद चर्किएको बेला लिम्पियाधुरासहितको नेपालको नक्सालाई लिएर नरवणेले विवादास्पद टिप्पणी गरेकाले बिरोध हुन सक्ने भन्दै सुरक्षा सर्तकता बढाइएको छ ।