जाजरकोट— जिल्ला प्रशासन कार्यालय जाजरकोटले तिहारमा यस वर्ष देउसीभैलो खेल्न रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्धारा हस्ताक्षर गरिएको सुचना अनुसार, कोभिड–१९ को संक्रमण फैलन सक्ने भएकोले तिहारमा देउसींभैलो खेल्न रोक लगाइएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो । यदि कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । ‘पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गइरहेको अवस्थामा आफू सुरक्षित रहँदै अरुलाई पनि सुरक्षित बनाउन चहलपहलमा न्यूनीकरण गर्न लागिएको हो, चहलपहल कम हुँदा संक्रमण फैलदैन,’ बरालले भने । स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर एकाघरमा मात्रै चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरिएको छ । बरालका अनुसार सूचनाको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । सकेसम्म घरदेखि बाहिर ननिस्कने र निस्कनै पर्ने भएमा अनिवार्य रूपमा मास्क लगाएर मात्रै निस्कन जिल्ला प्रशासन कार्यालय जाजरकोटले आग्रह गरेको छ ।