नेपालगन्ज—पहिले संयुक्त परिवार थियो । परिवारका ५० बढी सदस्य एउटै छानोमा बस्थे । एउटै भान्सामा खानपीन हुन्थ्यो । बाँडेर काम गर्थे । हाल संयुक्त परिवार छुट्टिएपछि सिंगो गाउँ भएको छ । गोतियारभरिका घरको नाम देउराने हो । धैरै घर भएपछि बडका (ठूलो) मझला (माईलो) देउराने भनेर चिन्नु पर्छ । मधुवन गाउँपालिका वडा न. ३ धनौरा बस्ती एउटै परिवार भएको गाउँ हो । संयुक्त परिवार फुटेर ५० घरपरिवार भएको छ । संयुक्त परिवारमा बस्न रमाउने थारु समुदाय पछिल्लो समय सानो परिवारमा बस्न थालेका छन् । पछिल्लो समय उक्त समुदायमा बुबाछोराको अलगअलग परिवार बनाएको देख्न सकिन्छ । धनौरा गाउँ बसेको पुस्तौ भईसक्यो । उहिले चार÷पाँच घर थिए । एउटै परिवारमा धेरैजना अटाउन सक्ने बातावरण थियो । हाल त्यो चलन हराएको छ । संयुक्त परिवार फुट्दै गएपनि मन भने फुटेको छैन । विवाह, ब्रतबन्धन, चाडपर्वसंगै मनाउछन् । दुःख पीडा बाँडछन् । परेका बेला एकालेअर्कालाई सहयोग गर्छन् । ‘अहिले पनि हाम्रो तीन पुस्ता छ । हाल संयुक्त परिवार फुट्दै गएर ५० घर पुगिसक्यो । परिवार फुटे पनि मर्दापर्दा एकलेअर्कालाई सहयोग गरिरहेका छौँ,’ देउराने घरकी बुहारी बालकृष्णी चौधरी भन्छिन्,‘पुर्खाहरुको एउटै परिवार थियो । चार÷पाँच भाईका परिवार एउटैमा बस्थे । अहिले फुटेर ५० घर भइसक्यो ।’
गाउँभरी फिजिएको देउरान परिवारको घर एउटै प्रकृतिको छ । खपडाको छानो छ । कामिक्सदार डिजाईनमा घर बनेका छन् । धेरै घर भएका कारण बस्ती गुजुमुजु देखिन्छ । केही घर नअटेर अलि टाढा घर बनाएका छन् । सबैले पुज्ने कुलदेउता पनि एउटै हो । त्यसैले सबैको घरभित्रको उत्तर तर्फको पुर्बी कोठा (मिन्झारीमा) कुलदेउता राखिएका छन् । ‘परिवार छुटिएपछि पनि कुलदेउता एउटै हुन्छन् । दशैंका बेला बिशेष पूजा गरिन्छ,’ बालकृण्णी भन्छिन् । धेरै घर गोतियार भएपछि फाईदा बेफाईदा दुबै छन्् । धेरैको मन जित्न समस्या हुन्छ । तर परेका बेला भने सहयोग लिनदिन निकै सहज हुने गरेको उनीहरुको भोगाई छ । बिवाह, ब्रतबन्ध र मृत्यु संस्कारका बेला सबैले सहयोग गर्ने परम्परा जिउदै छ । खानका लागि पकाउन दाउरा खोज्न सबै एकसाथ जान्छन् । महिलाले भान्साको काम संयुक्त रुपमा गर्छन । खेतिपातिमा पनि उनीहरुको सहयोग छँदै छ । एउटालाई कुनै समस्या आईपरे संयुक्तरुपमा सामना गर्छन । ‘परिवारमात्रै अलग भएको हो । मन त सबैको मिल्छ । किनभने हामी एउटै पुर्खाको सन्तान हो,’ अर्का सदस्य नाथुराम चौधरी भन्छन्,‘चाडपर्वका बेला सबै गोतियार जम्मा भएर रमाईलो गर्छौ । मिठोमसिनो खानपीन भए बाँडेरै खान्छौँ ।’
उक्त परिवारको मुलपुर्खा स्वर्गीय राजबंशी थारु भएको परिवाकारका सदस्यले बताए । उनका छोरा दुलाल थिए । दुलालका भगवानदिन र नाथुराम लगायतका सन्तायन हुँदै परिवार ठूलो हुँदै यहाँसम्म आइपुगेको हो । उनीहरुबाट सुरु भएको पुस्तान्तरण झाँगिदै गएको छ । ‘हाम्रा धेरै पुस्ता यही ठाउँमा बसे । यति नै पुस्ता भएको थाहा भएन तर सयौंं बर्षदेखि बसेको पुर्खाहरु भन्छन्,’ पछिल्लो पुस्ताका दिनेश भन्छन्,‘बाजे र बुबा अझै हुनुहुन्छ । तीन पुस्ताका सन्तान अझै संगसंगै छौँ ।’
यो परिवार भेट्न गुलरिया ढोढरी चँेक हुँदै ओराली बजार पुग्नु पर्छ । त्यहाँबाट करिव दुई÷तीन किलो मिटर दक्षिण पुगेपछि धनौरा गाउँ आउँछ । प्रहरी चौकी छ । नेपाल—भारत सीमावर्ती गाउँ भएकाले सुरक्षाका लागि चौकी राखिएको हो । छोटी भन्सार थियो तर सशस्त्र द्धन्द्धका क्रममा हटाइयो । छोटी भन्सारको दुई तले पक्की भवन पूर्णरुपमा जिर्ण भइसकेको छ । धेरै गोतियार भएका कारणले उक्त परिवार गाउँकै आर्दश परिवारकारुपमा मानिन्छ । घर अलग भएपनि दुःखसुःखमा एक हुनु उनीहरुको बिशेषता हो । अझै पनि गोेतियारबीच छलफल हुने गरेको छ । छलफलमा आफूहरुबीचको सम्बन्धलाई कसरी कसिलो पार्ने बारे बहस हुन्छ । आफूबाट भएका कमिकमजोरीलाई सुधार गर्दै उनीहरुले सम्बन्धलाई बलियो बनाउँदै आएका हुन । ‘कसैले जानेर नजानेर कमजोरी गर्यो भने छलफलबाटै समाधान गरिन्छ । गोतियारका सबैभन्दा ज्यष्ठ सदस्यले छलफल गराउने चलन छ,’ दिनेश भन्छन्,‘कहिलेकसो मनमुटाव हुनु स्वभाविक हो । तर छलफल गरेर मिलाईन्छ ।’
अझ धेरै गोतियार हुनुको अर्को फाईदा चुनावताका देखिन्छ । धेरै मतदाता भएका कारण विभिन्न दलका नेताहरु त्यहाँ पुग्छन् । उनीहरुलाई आफूतिर आर्कषित गर्ने प्रयास गर्छन । गोतियार एकजुट हुने भएकाले भोटका लागि नेताहरुलाई बढी कसरत गर्नु पर्छ । गोतियारहरुबीच छलफल गरी एउटै पार्टीमा भोट दिने परम्परा पुरानै हो । वडाका लागि उनीहरुको भोट निर्णयक बन्न सक्छ । परिवारको कुनै सदस्यको मृत्यु भए गोतियारका सबै सदस्यले अनिवार्य कपाल फाल्दा गाउँ भरीका मासिन टकला देखिन्छन् ।
क्याप्सन ः बर्दिया मधुवन गाउँपाकिला ३ धनौरामा एउटै परिवारको गाउ“ । तस्बिर ः दस्ताबेज