नेपालगन्ज— ०६२÷६३ को जनआन्दोलनका क्रममा सदरलाईनस्थित राजा त्रिभुवनको शालिक तोडफोड भयो । त्रिभुवन चोकबाट परिचित त्यस ठाउँमा हाल राष्ट्रिय झण्डा राखिएको छ मधेस आन्दोलन त्यही क्षेत्रबाटै उठ्यो । थुप्रै पटक प्रहरी र आन्दोलनकारीबीच झडप भयो । एक युवाको गोली लागेर कमल अधिकारीको ज्यान गयो । आन्दोलनकारीले त्रिभुवन चोकलाई कमल मधेसी चोक घोषणा गरे । त्रिभुवन वा कमल मधेसी चोक हुने विवाद हालसम्मै कायमै छ । जे होस परिवर्तनको नाममा एउटा इतिहास मेटाउने प्रयास भयो । नेपालगन्ज उपमहानगरपालिकाले त्यस निर्णय गर्न सकेको छैन । त्रिभुवनको शालिक पनि इतिहास मेटाएरै राखिएको थियो । जंगबहादुर राणााले नेपालगन्ज शहर बसाएको जानकार बताउँछन् । राणाहरुको शासनमा त्यहाँ जुद्द शम्सेर राणाको को शालिक थियो । १८६० ताका उक्त चोक खाली थियो । बि.स. १९४२ मा जुद्दशम्सेरको शालिक राखियो । २००७ मा राणा शासन राखिएपछि शाहबंशीय राजाहरुले शासन गर्न थाले । मरिचमान सिंह प्रधान भएपछि जुद्दको शालिक फाल्न लगाए । राजा त्रिभुवनको शालिक स्थापना गरियो । जनआन्दोलनले त्यो शालिक पनि हटायो । ‘लोकतन्त्र प्रजातन्त्रका लागि आन्दोलन हुनु राम्रो हो । आन्दोलनले हामीलाई परिवर्तन दियो । तर ईतिहास मेट्ने काम राम्रो होईन,’ नेपालगन्जको इतिहास बारे जानकार प्रज्ञा सनत रेग्मी भन्छन्,‘ईतिहास भन्ने चिज नयाँ पुस्ताका लागि पनि आश्यक हुन्छ । त्यसैले संरक्षण गर्नु पर्छ ।’ अझै पनि नाममै विवाद कायम छ । विवादपछि त्यहाँ नेपाली झण्डा फहराइएको छ ।
भित्रुवनको चोकको कथाब्यथा झै नेपालगन्ज—कोहलपुर फोरलेन सडकको कारकांदो चोक पनि छ । तत्कालिन खासकारकांदो गाविसको ०५८ को परिषदले राष्ट्रिय बिभुती संखधर स्वाखा नाम राख्ने निर्णय ग¥योे । स्थानीयका अनुसार त्यसअघि उक्त चोकलाई कारकांदो भनिन्थ्यो । पुर्ब राजा ज्ञानेन्द्र शाहले सत्ता हड्पेपछि राजाबादीहरुले त्यसलाई पारस चोक नाम दिए । तर गणतन्त्रपछि उक्त चोक हट्यो । हाल उक्त चोकको नाममा फेरि विवाद हुन थालेको छ । केहीले तत्कालिन खासकारकांदो गाविस परिषदले गरेको निर्णयलाई कार्यान्वयन गर्न माग गर्दै आएका छन् । तर केहीले कारकांदोको पहिचान यथावत राख्नु पर्ने दाबी गर्दै आएका छन् । केही दिनअघि जनजाती अगुवाहरुले नेपालगन्ज उपमहानगरमा ज्ञापनपत्र बुझाउँदै तत्कालिन गाविसले गरेको निर्णय कार्यान्वन गर्न माग गरे । ‘गाविसले निर्णष्य गरिसकेको राष्ट्रिय बिभुती संखधर स्वाखा चोक कार्यान्वन हुनु पर्छ । राजा ज्ञानेन्द्रका पालामा जवरजस्ती पारस चोक बनाउन खोजिएको मात्रै हो,’ आदिबासी जनजाती महासंघ बाँकेका अध्यक्ष डम्बर थापा भन्छन्,‘शासकहरुले जहिले पनि इतिहास आफ्नो नाममा राख्ने प्रयास गरेको देखिन्छ ।’
जनआन्दोलनका क्रममा भेरी अस्पताल परिसरमा रहेको स्व. राजा महेन्द्र र स्व. रानी इन्द्र राज्यलक्ष्मी को शालिकमाथि घन बर्साइयो । धातुको शालिक रहेका कारण पूर्णरुपमा तोडफोड हुन सकेन । तर घनको चोटले शालिक जिर्ण बनेको छ । तर भेरी अस्पताललाई जग्गा दान दिने नेपालगन्जका समाजसेवी स्व. औतार देई कसौधन (चौधराइन) को शालिक भने राखिएको थिए । ०७० असोज १३ गते तत्कालिन उपराष्ट्रपति परमानन्द झाले अनावरण गरेका थिए । जग्गा दाताको शालिक महेन्द्रको जीर्ण शालिक नजिकै स्थापना गरिएको छ । जग्गा दाताकोस्व. औतर देईको शालिक स्थापना गरिएपछि कसौधन परिवारले सम्मान पाएको महसुस गरेका छन् । बागेश्वरी मन्दिर, मिनी पार्कमा रहेका शालिकहरु पनि तोडफोड गरिए ।
नेपालगन्जको मुटुमा रहेको सुर्खेत रोड, नेपालगन्ज गुलरिया सडकको बीचको धम्बोझी चोकको अवस्था पनि उस्तै छ । नेपालगन्जको धम्बोझीमा यसअघि राजा बीरेन्द्रको शालिक राखिएको थियो । वीरेद्र चोकको नाम अझै पनि कानुनीरुपमा परिवर्तन भइसकेको छैन । तर लोकतन्त्रपछि शालिक भत्काइएको छ । राजाबादीहरुले पटकपटक राजा वीरेन्द्रको शालिक राख्ने प्रयास गर्दै आएका छन् । स्थानीय प्रशासनले हस्तक्षेप गर्दै शालिक राख्न दिएको छैन । हाल वीरेन्द्र चोकलाई धम्बोझी चोक भन्ने गरिएको छ । नयाँ पुस्ताले स्व. राजा वीरेन्द्रको शालिक देख्न पाएन । कतिपय शहरमा अझै पनि राणाकालिन शालिक छन् । तर नेपालगन्जले भने राणा, शाह बंशीय शासकहरुको इतिहास गुमाउँदै गएको छ । ‘वीरेन्द्रचोक मात्रै होइन यसअघि नामाकरण भइसकेका चोक यथावत छन् । नयाँ निर्णय नभएसम्म त्यही नाम कायम रहन्छ,’ नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणा भन्छन्,‘नयाँ स्थानहरुको लिस्ट बनाएर छलफल गर्न बाँकी छ ।’ उनका अनुसार कसैले बोर्ड झुण्ड्याउँदैमा चोक र टोलको नामाकरण नहुने जनाए । उनले नेपालगन्जका पुराना चोकहरुको नाम यथावत नै रहेको बताए । ‘कसैले बोर्ड झुण्डयाउ“दैमा चोकले अधिकारिता पाउने होईन । पहिलेको यथावत नै छन्,’ उनले भने,‘नयाँ चोक तथा गल्लीको नामाकरण नगरपालिकाको बोर्डले पास गर्छ ।’
नेपालगन्जको न्यूरोडमा हाल शहीद सेतु विकको शालिकसहित चोक छ । त्यसअघि ज्ञानेन्द्र चोक थियो । जनआन्दोलन ०६२÷६३ मा ज्ञानेन्द्र चोक तोडफोड भयोे । चोक तोडफोडकै क्रममा प्रहरीले हानेको आश्रु ग्यास लागेर सेतु शहिद भएकी हुन । शहिद सेतुको शालिक पनि पटकपटक तोडफोड भयो । धेरै पल्ट आगजनी भए । कहिले राजाको कहिले शहिदको शालिक तोडफोडले पुराना इतिहासमा प्रहार भइरहेको छ । नेपालगन्जमा पुष्पलाल, गणेशमान, बीपी चोकहरु रहेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले चोकहरुको अभिलेख राख्ने जनाएको छ ।
पछिल्लो समय नेपालगन्जमा निमार्ण भइरहेका नयाँ सडक तथा टोलहरुको नाम स्थानीयले आफू खुसी राख्दै आएका छन् । टोलको नामाकरण विवाद त्यहाँ छैन । तर चोकको नामाकरणका लागि भने कानुनी प्रकृया पूरा गर्न आवश्यक छ । नामबिनाको खाली चौबाटो देख्नै हुन्न । रातारात चोकको नामसहित बोर्ड राखिँछ । त्यो पनि आफ्ना निकटकाका व्यक्तिका नाममा चोक राख्ने चलन बढेको छ । खासगरी स्थानीय तह जनप्रतितिनिधिबिहिन भएयता यो क्रम बढेको थियो । स्थानीय सरकार आएपछि व्यवस्थित हुन सकेको छैन । तर सार्वजनिक स्थानका चोकको नामाकरणका लागि कानुनी प्रक्रिया अनिवार्य पूरा गर्नु पर्छ । सर्वदलिय बैठक अनिवार्य छ । सर्वसम्मत नामलाई स्थानीय सरकारको बोर्डले पारित गर्छ । मुलुकका लागि केही नकेही निस्वार्थ योगदान दिने व्यक्तिहरुको नामबाट चोक राख्ने नीति छ । राष्ट्रिय बिभुती, शहीद र मुलुकका राजनेताहरुको नामले चोक नामाकरण हुँदै आएका थिए । मन्त्री परिषदको निर्णयबाट चोकको नामाकरण हुँदै आएको थियो । तर नेपालगन्जका कतिपय सार्वजनिक स्थानलाई आफूखुसी चोकको नामाकरण गरेको पाइएको छ । नेपालगन्जमा यस्ता दर्जनौ चोकहरु छन्, जसको नामाकरण विवाद अझै टुङ्गीन बाँकी छ ।