बर्दिया— भारत बहराईच जिल्ला मिहिपुरवा क्षेत्रमा एउटा गाउँ छ । गाउँको नाम बर्दिया हो । स्थानीयले प्रेमपुर्बक बरदिया पनि भन्छन्,लेख्छन् । बर्दियाको मधुवन नगरपालिका वडा न.३ धनौरागाउँ छ । उक्त गाउँबाट दशगजा पार गरेपछि भारतको बर्दिया आउँछ । थारु समुदायको बाक्लो बस्ती छ । त्यहाँका स्थानीयहरुको मधुवन, ठाकुरवावा र बारबर्दिया नगरपालिकाका नेपालीहरुसंग चेलीबेटीको सम्बन्ध छ । दुबैतिरका स्थानीयको भाषा मिल्छ । संस्कार संस्कृति मिल्ने भएकाले पनि उनीहरुको बिचको सम्बन्ध कसिलो बनेको हो । दैनिकरुपमै सर्वसाधारणहरुको दुईतर्फी आउजाउ हुन्छ । छिमेकी गाउँ भएका कारण सहयोग आदानप्रदान बर्षाैदेखि जारी छ । तर खासमा मिल्ने भनेको गाउँको नाम हो । पारी भारतीय र वारी नेपालीगाउँको नाम त्यसै जुरेको होईन । घर कहाँ हो ? ‘दुईतर्फी नागरिकहरुको जवाफ हुन्छ,‘हमार घर बर्दिया हो ।’ यकिन गर्नका लागि प्रति प्रश्न गर्नै पर्छ ‘नेपाल कि भारत ?।’ नाम जुर्नुको कारण ऐतिहासिक तथ्य छ । डेढ सय वर्षअघि उक्त भारतीय गाउँ बर्दियासंगै जोडिएको थियो । सन १८६० नोभेम्बर १५ मा नेपाल—भारत सीमा छुट्याउन दशगजा कोरिएपछि दुई गाउँ भयो । दशगजाले स्थानीयलाई दुई चिरा पा¥यो । बर्दियाबाट उछिटिएपछि भारतीय गाउँको नाम पनि बर्दिया रहेको स्थानीय बताउ‘छन् । ‘म जान्ने भएदेखि हालसम्म वारीपारीको दुबै गाउँको नाम बर्दिया भएको थाह छ । पुर्खाहरुले पहिले दुबै गाउँ जोडिएको भनेको सुनेको छु,’ मधुवन नगरपालिका वडा न. ३ का वडा सदस्य ६३ वर्षीय लौटनदास थारु भन्छन्,‘गाउँको नाममात्रै मिलेको छैन हाम्रो मन पनि मिल्छ । दुबैतिरबाट सौहर्दपूर्ण सम्बन्ध छ ।’ नोभेम्बर १५ का दिन बॉके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लालाई तत्कालिन भारतीय बिट्रिस सरकारले नेपाललाई दिएपछि नयाँ मुलुक भन्ने गरिएको हो । त्यतिबेला भारतमा उब्जेको सिपाही विद्रोहका बेला इस्ट इन्डिया कम्पनी सरकारको अनुरोधमा नेपालले गोर्खाली फौज पठाएर सहयोग गरेपछि ति जिल्लाहरुलाई नेपालले फिर्ता पाएको हो । सिमा बाँधिएपछि केही भाग नेपालको बर्दियामा प¥यो केही भाग भारततर्फ गयो । ‘नेपाल भारत सीमा छुटिएपछि दुईतिर गाउँ परेको हुनसक्छ,’ वडा सदस्य थारुले भने,‘गाउँ यकिन गर्न नेपाल कि भारततिर भनेर सोध्नु पर्छ ।’

क्याप्सन ः भारत बहराईच जिल्ला मिहिपुरवा क्षेत्रमा रहेको बर्दिया गाउँ । तस्बिर ः दस्ताबेज
बर्दिया जिल्लाको नामाकरणको पनि थुप्रै किबन्दती छन् । कुनै बेला १२ जना गोठाला (थारु भाषामा बरदिवा) थिए । उनीहरुकै नामबाट बर्दिया जिल्ला नामाकरण भएको भनाई छ । बारबर्दियाको थान अझै छ । भारततर्फको बर्दिया गाउँका ६५ वर्षीय पुजुवा थारुले पनि दुबैतर्फको गाउँ पहिले जोडिएको बताए । (नो म्यान्स ल्याण्ड) दशगजा कोरिएपछि दुबैतिरको गाउँ अलि पछि सरेका हुन । नेपालतर्फको गाउँतर्फ भएको जंगल सकिएको छ । गाउँ बिस्तारै क्रममा छ । भारततर्फ भने दशगजाबाट थोरै जंगल पर्छ । केही मिनेटमै भारतीय बर्दिया गाउँ भेटिन्छ । ‘भारतको भएपनि सबथोक नेपाली गाउ“का स्थानीयसंग मिल्छ । बिहेबारी चल्छ । चाडपर्व पनि संगै मनाउँछौ,’ ६५ वर्षीय पाका पुजुवा भन्छन्,‘नेपाल भारत भनेर छुट्याउदैनौ । एकले अर्कालाई सहयोग गर्छौ ।’
क्याप्सन ः भारत बहराईच जिल्ला मिहिपुरवा क्षेत्रमा रहेको बर्दिया गाउँ । तस्बिर ः दस्ताबेज