बाँके—कोरोना संक्रमणका कारण बन्द भएका नरैनापुरका विद्यालय तिहारपछि खोल्ने निर्णय भएको छ । गाउँपालिकाको गाउँ शिक्षा समिति संयोजक तथा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई मंसिर १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुका अनुसार विद्यालय सञ्चालन गर्न कार्यविधि तयार गरी एक हप्ताभित्रमा कार्यपालिकामा पेश गर्ने निर्णय भएको छ । विद्यालयमा प्रत्यक्ष सिकाई सहजीकरण गर्दा अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्था स्वास्थ्य शाखाले गर्ने, मापदण्ड पूरा भए नभएको निक्र्यौल अनुगमन समितिले गर्ने तथा विद्यालय सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई तथा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिने निर्णय गरिएको छ । गाउँपालिका अध्यक्ष शाहले अनलाइन कक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै लामो समयदेखि कोरोना नदेखिएकाले अब निश्चित मापदण्ड बनाएर विद्यालय सुचारु गर्ने निर्णयमा पुगेको बताए । विद्यालय सञ्चालन तथा विद्यार्थी सहजीकरण कार्यविधि तयार गर्न प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही संयोजक रहेको सात सदस्यीय समिति बनाइएको छ ।