धानको सिजन भएकाले बडघरहरुले चौकीदार, गुरुवा लगायतका पारिश्रमिक गाउँमा उठाउन थालेका छन् । माघी आउन अब दुई महिनामात्रै बाँकी रहेकाले को बडघर हुने मुद्दाले चर्चा पाउन थालेको छ । बडघरहरु हरेक वर्ष फेरिन सक्छन् । तर बाँके राप्ती सोनारी गाउँपालिका गुलरीका सिताराम चौधरी २८ वर्षदेखि लगातार बडघर चलाउँदै आएका छन् । स्थानीयले उनलाई सर्बसम्मतरुमा आफ्ना अगुवा मान्दै आएका छन् । उनका बाजे र बुबा पनि बडघर थिए । पुर्खाले बडघरको भूमिका निर्वाह गर्दै आएको भन्दै स्थानीयले उनलाई अगुवा स्वीकार गर्दै आएका हुन । उनी १५ वर्षकै हुँदादेखि बडघरको भूमिकामा चयन भइरहेका छन् । उनको काम गर्ने शैलीले स्थानीयहरु आफ्ना नेता मानेका हुन ।
सितारामले कोही बडघर बन्न तयार भए आफू छोड्न तयार रहेको हरेक वर्ष घोषणा गर्छन । तर, कोही पनि बन्न तयार नभएपछि फेरि उनकै काँधमा जिम्मेवारी आइपरेको हो । ‘म सधै कति भइरहने हो रुलाई बनाउनुस भन्दा कोही तयार हुँदैनन् । तपाई नै बडघरका लागि उपयुक्त हो भन्छन्,’ उनले भने,‘पुर्खाले बनाएको परम्परालाई तोड्न पनि मिलेन । स्थानीयको प्रस्तावपछि बडघर पद स्वीकारेको छु ।’
गाउँका लागि स्वयंसेवीरुपमा काम गर्नुपर्ने भएकाले स्थानीय युवाहरु बडघर बन्न तयार नभएका हुन । घरको काम छोडेर भएपनि समुदायका लागि बडघर खटिनु पर्छ । बडघरले कुनै पारिश्रमिक पाउँदैनन् । ‘रातदिन खट्नु पर्ने भएर होला बडघर बन्ने रुची अरुमा देखिदैन । बर्षौदेखि बडघर बन्दै आएकाले होला मेरो बानी परिसक्यो,’ सिताराम भन्छन्,‘गाउँका लागि निशुल्क रुपमा समय दिने गरेको छु ।’
गाउँको विकासका कामको अगुवाई बडघरले नै गर्नु पर्ने परम्परा छ । खानेपानी, कुलो, सिंचाई, सडक मर्मत, विकास निर्माणका काममा श्रमदान र गाउँको नीति नियमलाई बडघरले कार्यान्वयन गर्नुपर्छ । त्यस्तै, झारफुक र देबीदेउताको पूजाका लागि गुरुवा र सहायक गुरुवा चयन गरी बडघरले नै उनीहरुलाई निर्देशन दिन्छन् । गाउम्ँको सुरक्षाका लागि चौकीदार उनैले परिचालन गर्नुपर्छ । गाउँमा हुने विहेबारीमा बाहिरबाट आउने जन्तीको स्वागत पनि बडघरकै जिम्मा हो । ‘यि सबै काम गर्न स्वयंसेबी भूमिका निर्वाह गर्नै पर्छ । समय दिन नसक्ने भएकाले होला बडघर बन्न अरु तयार हुँदैनन्,’ उनले भने,‘जन्तीदेखि मलामीको काम हामीले नै गर्नुपर्छ ।’ माघी सुरु भएपछि थारु समुदायमा बडघर छान्न सुरु हुन्छ । पश्चिम तराईका थारु समुदायमा बडघर प्रथा कायमै छ । गाउँको भेलाले बडघरको कार्यकुशलताका आधारमा फेरबदल गर्न पाउँछन् । तर, सिताराम भने २८ वर्षदेखि निरन्तर बडघर हुँदै आएका छन् ।
फाईल फोटो