बर्दिया— कोरोनाको महामारी छ । जसका कारण स्वास्थ्य जनशक्ति अभाव छ । यसैलाई मध्यनजर गरी बारबर्दिया नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई एमबीबीस पढाईका लागि छात्रबृति दिने नयाँ नीति ल्याएको छ । सर्वसाधारणहरुलाई सहजरुपमा स्वास्थ्य सेवा दिन नयाँ आर्थिक वर्षबाट छात्रबृति दिने नीति ल्याएको हो । नगरपालिकाका जेहेन्दार, अतिविपन्न बर्गलाई पहिलो प्राथमिकता दिइएको छ । एमबीबीएस पढाईका लागि नाम निकाल्न सफल नगरपालिकाका एक बिद्यार्थीले अवसर पाउने छन् । ‘एउटा प्राथमिक स्वास्थ्य केन्द्र छ । डाक्टर थिएनन्, करारमा राखेका छौ“ । अगामि दिनमा स्वास्थ्य अवस्था सुधार ल्याउन डाक्टर पढाउने नीति ल्याइएको हो,’ बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारु भन्छन्,‘यो नीतिले स्थानीय बिद्यार्थीहरु डाक्टर पढ्ने अवसर पाउने छन् ।’
नगरपालिकाको एकमात्र प्राथमिक स्वास्थ्य केन्द्र मगरागाडीमा एमबीबीएस डाक्टरको दरबन्दी उहिलैदेखि छ । तर डाक्टर नबस्ने भएपछि समान्य उपचारका लागि सर्वसाधारणहरुलाई नेपालगन्ज, कोहलपुर र सदरमुकाम गुलरिया धाउनु पर्ने बाध्यता बर्षौदेखिको हो । बारबर्दियाको सदरमुकाम मगरागाडीदेखि नेपालगन्ज करिव ५० किलो मिटर दुरीमा छ । सदरमुकाम गुलरिया पुग्न २० किलो मिटर दुरीमा छ । कोलपुर शिक्षण अस्पताल पुग्न ३० किलो मिटर दुरी पार गर्नु पर्छ । तर यहाँका अधिकांश स्थानीयहरु उपचारका लागि नेपालगन्ज नै आउने गरेका छन् । सर्वसाधारणहरुलाई स्वास्थ्य सेवा दिन नगरपालिकाले ६ महिनाअघि करारमा एक जना चिकित्सक नियुक्ती गरेको छ । तर कोरोनाको महामारी सुरु भएपछि स्वास्थ्यकर्मीहरुको चरम अभाव भएको छ । त्यसलाई चिर्न नगरपालिकाले नयाँ नीति ल्याएको हो । यो आर्थिक वर्षमा पालिकाले एमबीबीस अध्ययनका लागि १७ लाख बजेट बिनियोजन गरेको छ । उक्त रकमले पहिलो वर्षमा एक जना बिद्यार्थीले एमबीबीस भर्ना हुनसक्छन् । ‘यो वर्ष भर्ना हुने बिद्यार्थीका लागि दोस्रो बर्षका लागि पनि बजेट बिनियोजन गर्छौ । थप एक जनालाई एमबीबीस भर्नाका लागि रकम बिनियोजन हुन्छ,’ पालिका प्रमुख थारु भन्छन्,‘यसै गरी निरन्तररुपमा छात्रबृति दिंएर चिकित्सक उत्पादन गर्दै जान्छौँ ।’ पालिकाको नीतिले एमबीबीस पढ्न चाहने तर आर्थिक अवस्था कमजोर बिद्यार्थी पनि चिकित्सक बन्ने अवसर जुराएको छ ।
बारबर्दिया नगरपालिका विकासमा निकै पछाडि परेको छ । पुर्बपश्चिम राजमार्गबाहेक ग्रामिण क्षेत्रका सडकहरु कच्ची छन् । स्वास्थ्य अवस्था पनि कमजोर छ । विकटकै कारण चिकित्सकहरु बस्न नमानेका हुन । पालिकामा तीन स्वास्थ्य केन्द्र छन् । पदनहा, धधवार र बानियाभारमा रहेको स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा दिने गरिएको हो । ‘
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बारबर्दिया नगरपालिकाले स्वास्थ्यका लागि निकै राम्रो नीति ल्याएको बताए । ‘स्थानीय बिद्यार्थीले नाम निकाल्न सक्ने हो भने निशुल्क एमबीबीएस पढ्न पाउने अवसर नीतिले दिएको छ । यसले स्थानीयस्तरको स्वास्थ्य अवस्था पनि सुधार हुँदै जाने छ,’ उनले भने । नगरपालिकामा ११ वटा वडा छन् । २०६८ को जनगणना अनुसार जनसंख्या ६८ हजार १२ छ । महिला ३२ हजार ६ सय ७३ पुरुष र ३५हजार ३ सय ३९ महिला छन् । यहाँका महिलाहरुको स्वास्थ्य अवस्था पुरुषभन्दा कमजोर छ । सिकसेल एनेमीया (रक्त अल्पता) डरलाग्दो छ । थारु समुदायमा देखिएको सिकलसेल नियन्त्रणका लागि नगरपालिकाले प्रयोगशाला स्थापना गरिसकेको छ । सिकलसेल बारे जानकारी दिन पालिकाले बिद्यालयहरुमा पाठ्यक्रम नै लागु गरिसकेको छ ।