पेशा न पहिचान – Dastabej

पेशा न पहिचान

अल्पसंख्यक मगन्ता समुदायको पीडा


  • दस्तावेज

  •  

    नेपालगन्ज — पुर्खाले माग्ने पेशा अपनाए । त्यही पेशाले मगन्ता जातीले पहिचान पाए । २१ औ शताब्दीमा आएर उनीहरुले पेशा र पहिचान दुबै गुमाएका छन् । न उनीहरुसंग पुर्खौली पेशा रह्यो न पहिचान नै । पेशा र पहिचानविना उनीहरु जीवन संघर्ष गरिरहेका छन् । गरिबी, अशिक्षाले उनीहरुलाई गाँजेको छ । जीवन धान्न कष्ट छ । पुर्खाको पेशा अपनाउँदा समाजले अपहेलना गर्ने छँदै छ, तिरस्कृत हुनु परेको तितो अनुभव मगन्ता समुदायको छ । तर जीवन जिउन विकल्प पनि छैन उनीहरुसंग । त्यसैले उनीहरु बैकल्पिक पेशा अपनाउन थालेका छन् । माग्नेसंगै मजदुरी गर्ने रिक्सा तान्ने काममा लागेका छन् । तर पुर्खाको नासो धान्न उनीहरु अझै पनि बालवालिकालाई पढ्नभन्दा पनि माग्न सिकाउँछन् ।
    त्यही समुदायकी एक किशोरी हुन फुच्ची मगन्ता । उमेर थाह छैन । बिद्यालयको मुख देखेकी छैनन् । जन्म दर्ता बारे जानकारी छैन । सबथोक बारे बेखबर छन् उनी । किन त ? ‘जान्ने भएपछि बुबाआमाले पढ्न पठाएनन् । बरु सानै उमेरमा माग्न सिकाए । अरुको घर दैलोमा माग्न पठाए । जन्म दर्ता गरेको छैन,’ करिव १५ वर्षकी देखिने फुच्चीको जवाफ थियो । अरुको खाली जग्गामा मगन्ता परिवार आश्रय लिएका हुन्छन् । डुडवा गाउँपालिकाको हिरमिनीया नजिकैको ऐलानी जग्गामा सानो टहरा थियो । त्यही टहरा लिएर परिवार पाल्न उनीहरु नेपालगन्ज बस्दै आएका छन् ।
    फुच्चीको के कुरा ? बुबा नारायण र आमा बासमति मगन्ताको आफ्नै पेशा र रोजगारीको ग्यारेन्टी छैन । उनका पुर्खाहरु माग्ने पेशा अपनाए । हाल पुर्खौली पेशा भने धरापमा परिसकेको छ । माग्ने पेशाले गुजारा गर्न र परिवार पाल्न सम्भव नभएपछि उनीहरु मजदुरी गर्ने र रिक्सा तान्ने काम गर्न थालेका छन् । तर पुर्खाको नासो जोगाउन उनीहरु छोराछोरीहरुलाई बिद्यालय पठाउनु भन्दा पनि माग्ने बिधि सिकाए । सम्पत्तीको नाममा बुबाआमासंग केही नभएपछि के गर्नु । माग्ने तरिका सिकाए । अरुको खुट्टा ढोगेर पैसा माग्न भने ।

    नारायण मगन्ताको कथा ब्यथाले ंबाँकेको डुडवा गाउँपालिका वडा नम्बर १ को हिरमिनिया गाउँ नजिकै रहेको मगन्ता समुदायको समस्यालाई समेटेको छ । धेरैलाई आश्चार्य लाग्न सक्ला । अझै पनि उक्त गाउँ मगन्ता बस्ती भनेर चिनिन्छ । २१ औं शताब्दीमा मगन्ता गाउँ छ भनेर सुन्दा धेरैले जिब्रो टोक्छन् । यहाँ करिव ६५ बढी परिवार मगन्ता समुदायकै छन् । त्यसैले गाउँको नाम मगन्तापुर परेको स्थानीय बताउँछन् । उनीहरु सबैको पेशा माग्ने नै थियो तर हाल उनीहरु जीवन जीउन बैकल्पिक पेशामा लाग्न थालेका छन् । तर पछिल्लो समय उनीहरुको पुर्खौली पेशा भने धरापमा परिसकेको छ ।

    यसरी धरापमा प¥यो पहिचान
    मगन्ता समुदाय नेपालका अल्पसंख्यक हुन । बाँकेको हिरमिनियामा करिव७० घर परिवारका चार हाराहारीमा उनीहरुको जनसंख्या छ । गाउँमा एक सय बढी बालवालिका छन् । तर कोही पनि बिद्यालय जाँदैनन् । माग्नका लागि विभिन्न स्थानमा अभिभावकहरु बसाई सर्ने भएका कारणले बालवालिकाहरु बिद्यालय पढ्न नपाएका हुन । मागेर जीवन निर्वाह गर्ने भएकाले समुदायले मगन्ता जाती भनेको हो । पुर्खाहरुले मगन्ता नै लेखाए । तर युवाहरुलाई आफ्नो नामको पछाडि झुण्डिने थरले पोल्न थालेपछि उनीहरु माउत लेखाउन थाले । हाल उनीहरुको पेशासंगै आफ्नै पहिचान लोप हुन अवस्थामा पुगेको छ । असारसाउनमा घरमै बसने तर त्यसपछि माग्न हिडने उनीहरुको परम्परा हो । जसका कारण उनीहरुसंग घरजग्गा र अन्य सम्पत्ती हुने कुरै भएन । त्यसो त उनीहरुले पहिचानका लागि एक÷दुई पल्ट स्थानीय प्रशासन मार्फत सरकारलाई ज्ञापनपत्र नबुझाएका होईनन् ।
    मुलुकमा संघीय संरचनाको संविधान जारी भएको छ । सबै समुदायको पहिचान र मानव अधिकारको ग्यारेन्टी नयाँ संविधानले गरेको छ । तर मगन्ता बस्तीमा भने कुनै परिवर्तन आएको देखिदैन । राउटे लगायतका अल्पसंख्यक समुदाय काठमाडौं पुगेर आफ्ना समस्या राख्ने भएका छन् । तर बाँकेका मगन्ता समुदाय भने आफ्नो परम्परा धान्न संघर्षमा जुुटिरहेको छ । माग्ने पेशा गर्दा समुदायको अपहेलना र तिरस्कार सहनु पर्ने बाध्यता छ । बैकल्पिक पेशा नहुँदा जीवन गुजारा गर्न समस्या भएको छ, उनीहरुलाई । मगन्ता समुदायलाई दलितको सूचीमा राखिएको छ । तर थर माउत लेख्ने गरेका कारण उनीहरु सामाजिक सुरक्षा भत्ताबाट पाउन मुस्किल हुन थालेको छ ।

  • ४ मंसिर २०७७, बिहीबार ०७:५९ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान