गुलरिया नगरपालिकाकी उपप्रमुख सुशीला गिरी ।
नेपालगन्ज— बढैयाताल गाउँपालिकाले उपप्रमुखका लागि गाडी किन्न करिव ४० लाख बजेट बिनियोजन गरेको थियो । गत आर्थिक वर्षमा छुट्याइएको उक्त बजेटबाट उपप्रमुख दिपा गौतमले कार्यालयका लागि डोजर खरिद गरिन । आफू भने स्कुटी चढ्ने गरेकी छन् । गाडी किन्ने बजेटले डोजर खरिद गरिएपछि गौतमको प्रशंसा सामाजिक सन्जालमा भाइरल बनेको थियो । गाउँपालिकाले निमार्ण गर्ने सडक लगायतका विकासका कामका लागि डोजर प्रयोग हुँदै आएको छ । ‘हामी विकास गर्नैका लागि आएका हौँ ।
बढैयाताल गाउँपालिका उपप्रमुख दिपा गौतम
त्यसैले आफ्नो लागि सवारीसाधन किन्नु राम्रो लागेन,’ उनले भनिन्,‘जनताबाट उठेको करले विकास गर्ने हो । गाडी महत्वपूर्ण कुरा भएन ।’ उक्त पालिकासंग एउटा गाडी छ ।
गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरी सरकारी नम्बर प्लटेको स्कुटी स्टार्ट गरीन । एक्सीलेटर दबाईन । थोरै भए पनि बढी गतीमा स्कुटी हुईक्यो । नगरपालिकासंग दुई वटा जीप छ । एउटामा नगरपालिका प्रमुख र अर्कोमा कार्यकारी प्रखुखलगायतका कर्मचारी चढ्छन् । ‘अरु गाडी छैन । यही स्कुटीले काम चलाएकी छु । घरबाट कार्यालय आउजाउ गर्न स्कुटीमै सहज छ । तर बाहिर जानु परे समस्या हुन्छ,’ उपप्रमुख गिरीले भनिन्,‘कहिलेकसो पानी परेका बेला अटो सिक्सा चढेर कार्यालय आउनेजो गर्छु । आफ्नो निजी स्कुटी पनि कहिलेकांही चढने गरेको छु ।’ गुलारिया बर्दियाकै सबैभन्दा पुरानो नगरपालिका हो । यो जिल्लाकै सदरमुकाम हो । नगरपालिकाको आन्तरिक स्रोत कम भएका कारण नयाँ गाडी किनिएको छैन । तर उपमेयर, वडा अध्यक्ष र कर्मचारीहरुका लागि मोटरसाईकल, स्कुटी भने किनिएको छ । जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सवारीसाधनको इन्धन आवश्यकता अनुसार नगरपालिकाले ब्यहोर्ने गरेको छ ।
गेरुवा गाउँपािलका उपप्रमुख हिमाकुमारी थरुनी ।
गुलरिया नगरपालिकासंगै जोडिएको मधुवन नगरपालिकाका उपप्रमुख सुवरानी थारुको कार्यालय आउजाउ गर्न अझै कठिन छ । पालिकासंग दुई वटा गाडी छ । एउटा नगरप्रमुख प्रयोग गर्छन । अर्कोमा कार्यकारी चढ्छन् । त्यसमै कृषि, स्वास्थ्य, महिला तथा बालबालिका लगायतका शाखाको समान बोकिन्छ । गाडी नभएपछि उपप्रमुख थारु आफ्नै निजी मोटरसाईकलबाट काम चलाउँदै आएकी छन् । ‘मेरो लागि स्कुटी छैन । त्यतिराम्रो चलाउने बानी पनि परेको छैन । श्रीमानले घरकै मोटरसाईकलमा मलाई बोक्ने गर्नु भएको छ,’ उनले भनिन्,‘नयाँनयाँ नगरपालिका हो । दुई वटा गाडी किनिएको छ । तर मेरो लागि भने छुट्टै छैन ।’ बाहिर जिल्लाका कार्यक्रममा सहभागि हुनु परे कार्यकारी चढ्ने गाडी माग्ने गरेकी छ । ‘बढीजसो एउटा गाडी कार्यालको समान बोक्नै ठिक्क हुन्छ । खाली भएको बेला काममा कर्मचारी चढ्नु हुन्छ,’ उनले भनिन्,‘जे भए पनि काम चलेकै छ । समस्या परेको छैन ।’
राजापुर नगरपालिकाकी उपप्रमुख मनकलाकुमारी चौधरी ।
बर्दियामा आठ स्थानीय तह छन् । विकासमा निकै पछाडि परे पनि गुलारिया, बाँसगढी, बारबर्दिया, ठाकुरबाबा, राजापुर र मधुवन गरी छ नगरपालिका छन् ।
मधुवन नगरपालिकाका प्रमुख सुवरानी थारु ।
बढैयाताल र गेरुवा गरी दुई गाउँपालिका छन् । आठ वटै पालिकामा महिला उपप्रमुख छन् । नगरप्रमुखहरु सुविधा सम्पन्न महँगो गाडीमा हुईकिदा उपप्रमुख भने स्कुटीबाट काम चलाउदै आएका छन् । गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाबाहेक छ वटा पालिकामा थारु महिला उपप्रमुख छन् । पछिल्लो समय राजनीतिक पहुँचमा थारु महिलाको सहभागिता बढ्दै गएको छ । जिल्लाकै फुच्चे गेरुवा गाउँपालिकाकी प्रमुख हिमाकुमारी थरुनी कहिले सरकारी स्कुटी कहिले आफ्नै निजी मोटरसाईकल चढ्ने गरेकी छन् । उपप्रमुखमा निर्वाचित हुनुअघि पनि उनी आफ्नै मोटरसाईकल चढ्थिईन । पहिलेदेखि मोटरसाईकल चढ्ने बानीले स्कुटीमै हिड्न सहज हुने गरेको उनको अनुभव छ । ‘पहिले पनि स्कुटी चढिएकै हो । हिडेरै चुनाव प्रचार गरियो ।
बारबर्दियाका उपप्रमुख अन्जु दहित ।
अहिले पनि कार्यालय आउजाउ गर्दा बाटोमा जनता भेटिन्छन् । मोटरसाईल रोकेर कुरा गर्न सहज हुन्छ,’ उनको अनुभव छ,‘मोटरसाईल चढ्यो भने आउजाउ गर्न सजिलोमात्रै होईन कार्यकर्ता भेट्न पनि निकै सजिलो हुन्छ ।’ उनका अनुुसार मोटरसाईकल वा स्कुटी चढे समुदायमा सकारात्मक सन्देश पनि जान्छ । चुनाव जित्यो कि महँगो गाडी चढ्न थाल्यो भनेर कुरा काटिदैन । ‘मेरो धरातल भनेको मोटरसाईकलसम्म चढ्न सक्ने क्षमताको हो । त्यो भन्दा बढी गर्नु भएन । अझै मलाई राजनीतिमा धेरै अगाडि बढ्नु पर्ने भएकाले बिलासिताको साधन प्रयोग गर्नु भएन,’ नेपाली काँग्रेस महासमिति सदस्य सदस्यसमेत रहेकी उपप्रमुख थरुनी भन्छिन्,‘सानो गाउँपालिका छ । एउटा गाडी किनिएको छ । मेरा लागि छुट्टै गाडी किन्न सकिएको छैन ।’
बाँसगढी नगरपालिकाका उपप्रमुख सुस्मा चौधरी स्कुटीमै बाकेर कार्यालय आउजाउ गर्छिन । यो उनको दैनिकीजस्तै हो । कार्यकक्षमा छोरालाई झुला राखेर उनी कार्यालयको काम गर्छिन । जटिल परिस्थितीमा पनि उनी सर्वसाधारणलाई सरकारी सेवा दिंदै आएकी छन् । नगरपालिकासंग दुई वटा गाडी छ । एउटामा कर्मचारी चढ्छन् । औषधिलगायतका समान अर्को गाडीले बोक्छ । ‘गाउँघरमा मोटरसाईकल चढेर पनि काम चल्छ । तर बाहिर जिल्लाको कार्यक्रमा जानु परे मिलाएर गाडी लिएर जानुपर्छ,’ उनले भनिन्,‘आवश्यकता अनुसार गाडी चढ्ने हो भने काम चल्छ ।’
बाँसगढी नगरपालिकाका उपप्रमुख सुष्मा चौधरी
राजनीतिकशास्त्रका बिज्ञ डा. जनार्दन आचार्यले नेपालका सरकारी कार्यालयमा महँगो गाडी किन्ने प्रबृति बढेको बेला बातावरिण हिसाबले कम इन्धन खर्च हुने सवारीसाधन प्रयोग गर्नु सकारात्मक रहेको बताए । उनले प्रमुख उपप्रमुुुखले आवश्यकता अनुसार सवारीसाधन प्रयोग गर्न सुझाव दिए । ‘यो जमानामा गाडी नचढेर काम चल्दैन । तर सकेसम्म कम कम प्रयोग गर्दा राम्रो हुन्छ,’उनले भने,‘नयाँ गाडी किन्नुभन्दा पनि बिग्रिएर फालिएका गाडी मर्मत गरेर प्रयोग गर्दा राम्रो हुन्छ ।’ सरकारी कार्यालयमा गाडी किन्ने र बिग्रिएपछि फाल्ने प्रबृति बढेको छ । जसका कारण करोडौंको सम्पत्ती खेर जाने गरेको छ । ‘सरकारी गाडीलाई राजनीतिक कार्यक्रममा पनि प्रयोग गरेको देखिन्छ । त्यो गलत हो,’ उनले भने ।
ठाकुरबाबा नगरपालिकाका उपप्रमुख कृष्णाकुश्मा थारु, राजापुर नगरपालिकाका उपप्रमुख मनकलाकुमारी चौधरी र बारबर्दिया नगरपालिकाका उपप्रमुख अन्जु दहित पनि स्कुटी प्रयोग गर्दै आएकी छन् । ‘म आफ्नो निजी मोटरसाईकल चढ्छु । यसले पनि काम चलेकै छ । एउटा गाडीमा कर्मचारी चढ्नु हुन्छ । शिक्षा, कृषि र स्वास्थ्यका समान दैनिक बोक्न गाडी नै प्रयोग हुन्छ,’ उनले भनिन्,‘पाँच वर्षका लागि निर्वाचित भएर आएका छौँ । सधै एकनास समय रहन्छ भन्ने होईन ।’ बारबर्दियाकी उउपप्रमुख दहितले आवश्यकता अनुसार प्रमुख र उपप्रमुखले गाडी प्रयोग गर्दै आएको बताईन । काम परेका बेला उनी आफ्नै निजी स्कुटी चढ्दै आएकी छन् । आन्तरिक स्रोतबाट महँगो गाडी किनेको भन्दै जनप्रतिनिधिहरुको चर्को आलोचना भएको थियो ।
ठाकुरबाबा नगरपालिकाका उपप्रमुख कृष्णाकुश्मा थारु ।
त्यसप्रति जनप्रतिनिधिहरु संबेदनशिल देखिन्छन् । जनप्रतिनिधिमा निर्वाचित भएपछि पाँच वर्षसम्म महँगो गाडी चढ्ने तर कार्यकाल पूरा भएपछि पुरानै अवस्थामा फर्किनु पर्ने परिस्थिती बारे पनि उनीहरु चनाखो देखिन्छन् । ‘यो संबेदनशिलताले जनप्रतिनिधिहरुलाई इमान्दारीतामा बाँधेर राख्न सहयोग पुग्छ,’ राजनीतिकशास्त्रका बिज्ञ डा. आचार्य भन्छन् ।
क्याप्सन ः गुलरिया नगरपालिकाकी उपप्रमुख सुशीला गिरी स्कुटी चढेर घर फर्किदै ।