तस्बिर ः फाईल फोटो ।
नेपालगन्ज— कोरोना महामारी सुरु भएयता बाँकेमा खोपलगायतका स्वास्थ्य समस्या डमाडोल बन्दै गएको छ । विभिन्न रोगबिरुद्ध दिंदै आएको नियमित खोप सेवा नराम्रो गरी प्रभावित भएको छ । कोरोनाका विरामीको संख्या बढ्दै गएपछि अन्य रोग लागेका विरामीको उपचारमा पनि समस्या हुन थालेको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नियमित खोप १५ प्रतिशतसम्म घटेको छ । यसअघि पनि जिल्लामा शत प्रतिशत खोप सेवा पाउनबाट बालवालिकाहरु बन्चित बन्दै आएका थिए । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोरोना सुरु भएयता खोप कार्यक्रमहरु प्रभावित बनेको बताए । ‘कोरोनाको महामारी सुरु हुनअघि पनि शत प्रतिशत खोप हुन सकेको थिएन । तर हाल भने १५ प्रतिशतसम्म नियमित खोप घटेको छ,’ उनले भने । स्वास्थ्य कार्यालयले स्वास्थ्य चौकी मार्फत पोलीयो, बिसीजी, डिपीटी, पेन्टा, पीसीबी, जापानीज इन्सेफ्लाईटीस बिरुद्ध लगायतका ११ खोप निशुल्क लगाउँदै आएको छ । स्थानीय सरकार आएपछि वडावडामा स्वास्थ्य केन्द्र राखिएका स्थापना गरिएका छन् । कोरोनाको त्रासका कारण खोपलगायतका सेवा लिन आउनेको संख्या घटेको छ । महामारीकै कारण स्वास्थ्यकर्मीहरु पनि खोप दिन घरघर पुग्न नसकेका हुन । कोरोनकै त्रासका कारण सर्वसाधारणहरु अन्तिम अवस्थामा मात्रै स्वास्थ्य केन्द्रमा पुग्ने गरेका छन् ।
तर कोरोनाको महामारी अघि बाँकेको दुर्गम नरैनापुर गाउ“पालिकामा खोपको अवस्था सकारात्मक देखिएको थियो । स्थानीय सरकारले स्वास्थ्यमा लगानी गरी घरघरमै खोप सेवा दिन थालेपछि त्यहाँको स्वास्थ्य अवस्थामा सुधार आएको हो । तर नेपालगन्ज उपमहानगरपालिकाको खोप सेवा ७९ प्रतिशतमा खुम्चेको छ । डुडवा गाउँपालिकामा पनि खोप सेवा पनि सन्तोषजनक रहेको छ । खजुरा, बैजनाथ, राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा पनि पूर्ण खोप सेवा पुग्न सकेको छैन । स्थानीय सरकारले स्वास्थ्य सेवा दिएको तथ्यांक नदिंदा अझ बढी खोपको समस्या हुनसक्ने स्वास्थ्यका अधिकारी बताउँछन् । ‘स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने पालिकाहरुको स्वास्थ्य सेवा प्रभावकारी बनेको देखियो । त्यस्तै स्वास्थ्यकर्मीहरुलाई घरघरमै पठाएर सेवा दिन सक्ने हो भने समस्या हट्छन,’ स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाह भन्छन् ।
दिगो विकास लक्ष्य अनुसार सरकारले सन २०३० सम्म शत प्रतिशत स्वास्थ्य सेवा दिने लक्ष्य राखेको छ । बाँकेमा भने उक्त लक्षय पुग्ने सम्भावना निकै कम देखिएको छ । नेपालगन्ज उपमहानगरमा सबैभन्दा बढी स्वास्थ्य समस्या देखिने गरेको हो । हात्ती पाईले रोगबिरुद्धको औषधि सेवन निकै कम छ । नियमित गर्भ परीक्षणको समस्या उस्तै छ । कुपोषण नियन्त्र हुनसकेको छैन । सुत्केरी मृत्यु दर बढेको छ ।