दाङ तुलसीपुर देखि करिब ११ किलोमिटर पश्चिम दंगिशरण गाउँपालिका ३ चखौरामा एउटा लामो आकारको भुइतले तर चिटिक्क परेकोे घर छ, । जहाँ घरभित्र थरिथरिका कोठा छन् ।
घरको भित्ताको अगाडि थारु समुदायले विभिन्न समयमा नाच्ने नाचहरुको तस्विर बनाइएको छ । त्यहि घर भित्र थारु समुदायको मौलिक संस्कृतिसंग जोडिएका विभिन्न सामग्रीहरु पनि राखिएकाछन् । आजभन्दा हजार बर्ष अगाडी थारु समुदायले प्रयोग गर्दै आएको परम्परागत गरहना देखि लुगा राख्ने भौका, खेतिपातीमा प्रयोग हुने हलो, जुवा, ह्याङगाँ, माछा मार्ने जाल, हेल्का, डेल्या, खोङग्या, खटिया, खटौलि, गोल्द्रा, गुन्द्री बुन्ने विभिन्न सामग्री सजाएर राखिएकाछन् ।
त्यसैगरि उनिहरुको कला, संस्कृति, संस्कारसंग जोडिएका विभिन्न सामग्रीहरु संग्रहालयमा सुरक्षित राखिएकाछन्, । बिहेको समयमा बेहुलील बेहुलाको घरसम्म पु¥याउने परम्परागत डोलि, ड्वाला, चाँदी लगायत माटोले बनाएका विभिन्न मौलिक गरहगहना, पुर्खाहरुले लगाउदै आएको परम्परागत रंगिविरंगी भेषभुषा, खुट्टामा लगाउने काठको चप्पल ‘पौवा’, खाना पकाउनका लागि प्रयोग गरिएका माटा भाडाँ, काठमा भाडा, पुजापाठमा प्रयोग गरिने माटाका देविदेउटा राखिएकाछन ।
यसैगरि थारु समुदायको विभिन्न नाचमा प्रयोग गरिने सांगितिक सामाग्री मादल, झाली, लगायत विभिन्न सामग्रीहरु संग्राहलयमा राखिएकाछन् । संग्रहालयमा राखिएका यी बहुमुल्य सामग्रीहरुले थारु समुदायको मौलिक कला, संस्कृति जगेर्ना संगै सिंगों थारु समुदायको पहिचान झल्काएको छ । त्यतिमात्र नभई संमग्र दाङ जिल्लाको गरिमा बढाएको छ ।
दाङमा आउने पर्यटकहरुलाई यस संग्रहालय मार्फत थारु समुदायको मौलिक कला, संस्कृतिको अध्ययन, अनुसन्धान र उनिहरुको बारेमा सहजै जानकारी लिन सक्ने एउटा ठुलो माध्यम बनेको छ । त्यसैले यस किसिमको संग्राहलयलाई अझ व्यवस्थित र फराकिलो बनाई बृहतर विकासको लागि राज्यको तर्फबाट ठोस योजना बनाउन जरुरी छ ।