नेकपा सचिवालय बैठकमा चर्काचर्की - Dastabej

नेकपा सचिवालय बैठकमा चर्काचर्की


  • बिनु सुवेदी ekantipur.com

  • काठमाडौँ — पार्टी एकीकरणलगत्तै अन्तरसंघर्ष सुरू भएको नेकपाका शीर्ष नेताका पछिल्ला संवाद फुटकेन्द्रित बन्दै गएका छन् । आफूलाई एकताको पक्षधर बताउने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नै कारण अहिलेसम्म पार्टी फुट्नबाट जोगिएको दाबी गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आरोप–प्रत्यारोपको पारो दिनहुँ बढिरहेको छ ।
    यो सिलसिलाले मंगलबार पनि निरन्तरता पायो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वयले एकअर्कामाथि दोषारोपण गर्दै यसअघि पेस गरेका प्रस्तावहरुलाई के गर्ने भन्नेमा विवाद हुँदा बाझाबाझको स्थिति बन्यो । ओलीले दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने अडान राख्दै आउँदो महाधिवेशनसम्म कुनै पनि निर्णय बहुमत अल्पमतबाट नहुने दोहोर्‍याए । बहुमतबाट हुने निर्णय मान्न आफू तयार नरहेको भन्दै उनले बुधबारको बैठकमा उपस्थित नहुने जानकारीसमेत गराए ।
    असन्तुष्ट नेताहरुले पार्टीको विधि, पद्धतिअनुरुप आएका प्रस्तावमा छिनोफानो गर्नुपर्ने भन्दै ओलीमाथि दबाब दिए । अधिकांश नेताले प्रस्तावका विषयलाई छलफलबाटै टुंग्याउनुपर्ने बताए भने ओली र उनी पक्षधरले बैठकबाट मात्र निकास नआउने भन्दै अनौपचारिक संवाद गर्नुपर्नेमा जोड दिए । महासचिव विष्णु पौडेलको जन्म दिन मनाएर आआफ्नो आसनमा बसेलगत्तै अध्यक्षद्वयबीच तिक्ततापूर्ण संवाद सुरू भएको थियो । त्यसपछि अरु नेता बोलेका थिए । बैठकमा नेताहरुबीचको संवाद र घोचपेचको शैली कस्तो थियो ? सहभागी केही नेताले करिब २ घण्टाको उक्त बैठकमा आएका अभिव्यक्तिको मुख्य सार यस्तो रहेको सुनाए :
    केपी शर्मा ओली
    तपाईंको प्रस्तावमा छलफल हुन सक्दैन, फिर्ता लिनुस् । दोस्रो, तपाईंले पार्टीको पद्धति, तरिका र विधान सबै उल्लंघन गर्नुभएको छ, तपाईंको निजी प्रस्ताव केन्द्रीय कार्यालयबाट छाप्ने र लोगो प्रयोग गर्ने कुरा पार्टीको पद्धति र अनुशासनविपरीत छ । पार्टीको अनुशासन उल्लंघन गरेकामा तपाईंमाथि कारबाही किन नगर्ने ? मैले यसअघि पनि भनेको छु, आज पनि भन्छु, प्रस्तावका नाममा ल्याएको आरोपपत्र फिर्ता गर्नुस्, क्षमायाचना गर्नुस् अनि बल्ल बैठक बस्छ । तपार्इंको प्रस्ताव रिस, आवेग, कुण्ठा, द्वेष र लाञ्छनाले भरिएको छ, यो कुनै प्रस्ताव होइन । पार्टीलाई कता लैजाने, आफूहरू कता जाने भनेर तपाईंहरूको नियत स्पष्टै देखिन्छ । विभाजन, विखण्डन र सर्वनाशको बाटोमा तपाईंहरू जाँदै हुनुहुन्छ । मेरो कर्तव्य पार्टीलाई एकतातर्फ लैजाने र जोगाउने हो, त्यसका लागि नै मैले भूमिका खेल्छु । भोलिको बैठक तयारी गरेर पछि गरौं भन्ने मेरो प्रस्ताव हो ।
    पहिले अनौपचारिक छलफल गरेर कम्तीमा महाधिवेशनसम्म सहमतिबाट जानुपर्छ । विधि र पद्धतिको आडमा बहुमतले गरेको निर्णय मानिन्न, बहुमतबाटै जाने हो भने केन्द्रीय कमिटीको बैठक २५ गतेसम्म किन कुर्नुपर्‍यो, आजै बसेर छिनोफानो गरे भइहाल्यो नि । तपाईंहरूले जबर्जस्ती नै बैठक राख्नुहुन्छ भने भोलिको बैठकमा आउनका लागि मेरो फुर्सद छैन । यस्ता बैठकको के काम ?
    पुष्पकमल दाहाल
    पार्टीको अन्तरसंघर्षलाई यो स्थितिमा पुर्‍याउन भूमिका खेल्नुभएको छ । अहिलेको विवादको फायर तपाईंले नै खोल्नुभएको हो । सचिवालय बैठक बोलाउन हामीले आग्रह गरेर लेखेको पत्र बुझाउन जाँदा कति अपमान गर्नुभयो ? सबै कुरा पद्धतिमै हुन्छ भन्दै तोक लगाउनुभयो । बैठक बोलाउनुको सट्टा उल्टै लाञ्छना लगाउनुभयो, हामीलाई अपमान गर्नुभयो । केपीजी, तपाईं असाध्यै व्यक्तिवादी र कुण्ठाग्रस्त मान्छे हो, तपाईंमा ‘आई एम द स्टेट’ भन्ने भाव छ । बालुवाटारमा बसेर पार्टी फुटको कदम धेरै पटक चाल्नुभएको छ ।
    देशव्यापी गुट भेला, मदन भण्डारी फाउन्डेसनका कार्यक्रम, एमाले दल दर्ता र पार्टी विभाजनको अध्यादेश ल्याएर फुटतिर लैजाने काम तपाईंबाट भएको छ । अहिले पनि तपाईंले मलाई र अरू साथीहरूलाई उत्तेजित पार्न खोजिरहनुभएको छ । यिनीहरूले उत्तेजित भएर अभिव्यक्ति दिउन् भनेर लागिरहनुभएको छ, तर हामी उत्तेजित हुन्नौं ।

    तपाईं कि म रहन्न, कि प्रचण्ड रहन्न भन्दै हिँड्नुहुन्छ, फेरि आफूलाई पार्टी एकताको पक्षमा रहेको देखाउनुहुन्छ, यो कसरी मिल्यो ? प्रस्तावमाथि छलफल गर्न दिन्न भन्ने तपाईं को हो ? यसो गर, उसो गर भनेर तपाईंले निर्देशन दिने, मैले खुरुक्क मान्ने भन्ने हुन्छ ? अनौपचारिक छलफल पनि गर्दै गरौंला, पूर्वनिर्धारित बैठक रोकिँदैनन् । थप छलफलका लागि भोलि (बुधबार) १ बजे बैठक राखौं ।
    माधवकुमार नेपाल
    तपाईं (ओली) ले अध्यक्षबीचको एकता हो भन्नुभयो, जुन धारणासँग म पहिले पनि असहमत थिएँ, अहिले पनि असहमति राख्छु । पहिले मदन भण्डारी र मनमोहन अधिकारीबीचको एकता हो कि मार्क्सवादी र मालेबीचको एकता हो ? एकतामा सहमत हुनेहरू पार्टीभित्रै रहन सक्छन्, सहमति नभएपछि छाडेर हिँड्छन् । आफ्नो कारण मात्रै एकता भएको भनिरहनुभएको छ, यही तपाईंको व्यक्तिवाद हो, मेरो सहमति भयो भने सहमति हुन्छ भन्ने तपाईंको अधिनायकवादी चिन्तन हो ।
    एउटा अध्यक्षले बैठक स्थगित गर्दा लोकतान्त्रिक काम हुने, अर्कोले गर्दा नाजायज भन्ने हुन्छ ? पार्टीभित्र सबै विषयमा छलफल गरौं । बैठक नै बोलाउँदिनँ, म नभए पार्टी फुट्छ भन्ने तपाईंको धारणा नै गलत छ । महाधिवेशनबाट सबै कुराको टुंगो लगाउँछु भन्ने पनि गलत हो । हामीले ०४९ साल माघमा तत्कालीन माले र मार्क्सवादीको महाधिवेशन गरेका थियौं । त्यो बेला के भएको थियो ? सम्झिनुस् त । महाधिवेशनसम्म यसो गरेर जाऔं भनिएको थियो ? अहिले पार्टी पुरानो अवस्थामा फर्काउँछु भनेर सम्भव छैन । सार्वभौम अधिकार केन्द्रीय कमिटीमा हुन्छ । सिस्टम भनेकै त्यही हो । कमिटीमा छलफल गरौं, तपाईंको धारणा पास हुन्छ कि अरूको धारणा पास हुन्छ, त्यहाँ हेरौं । कमिटीको बैठक एक्लै रोक्ने र एकता बचायौं भन्ने ? एकलौटी गरेको कामलाई हामीले अनुमोदन गर्ने ? ल्याप्चे लगाउने मान्छे हौं हामी ? तपाईंहरू दुई अध्यक्ष र महासचिवको एउटै राय भए पनि कमिटीको राय हुँदैनथ्यो ।
    कमिटीको बैठक बोलाउने पनि सीमा छ, सात दिनमा अनिवार्य बैठक बस्ने भनेर तोक्नु आवश्यक छ । आफूसँग सहमत नहुनेबित्तिकै बैठक बस्दिन भन्न पाइन्छ ? तपाईंले बारम्बार पाँच जना भनेर कुरा उठाउनुहुन्छ, ती पाँच जना तपाईंको विरुद्धमा किन लागे भनेर आफ्नो कमजोरी खोज्नु हुन्न । पहिलो फायर सुरु गर्ने तपाईं हो । पाँच जनाले बैठक बोलाऔं भन्न जाँदा प्रक्रियाबाट हुन्छ, मैले तोक लगाइदिन्छु भन्ने तपाईं होइन ? हामीले बैठक तपाईंकै सहमतिले बोलाएको हैन ? बैठक टारेर जाने काम गर्नु हुन्न । यसअघि प्रचण्ड कमरेडका केही मान्छे तपाईंको केही मान्छे भनेर गुटबन्दी गरेको हैन ? अहिले पार्टी फुट्नै लाग्यो भनेर दबाब सिर्जना गर्न मिल्छ ?
    झलनाथ खनाल

    हाम्रो पार्टीमा देखिएको अन्तरविरोध र समस्याको जड नै गलत नीतिलाई अघि सार्नु हो । तपाईंहरूले सुरुदेखि नै सहमति कि सहमति भन्नुभयो । सहमति भन्ने पनि कतै लाइन हुन्छ ? सहमति त कसैले चाह्यो भने न हुन्छ, जबर्जस्ती पनि हुन्छ ? सहमति भएन भने बहुमतबाट जाने पार्टीको विधि, पद्धति त छँदै छ नि, पार्टीको पद्धति मानौं र यो सहमतिको नीतिले ल्याएको संकटलाई सच्याऔं ।

    ईश्वर पोखरेल

    प्रस्ताव आएपछि अब छलफल हुन्न र गर्दिन भन्न मिल्दैन । छलफल हुन त दिनुपर्‍यो । तर बैठकका लागि बैठक राख्ने काम गरेर निष्कर्ष निस्किन्न । अनौपचारिक संवाद गरौं अनि बल्ल बैठक राखौं 

    वामदेव गौतम

    केपीजी र प्रचण्डजीले पेस गर्नुभएको प्रस्तावमाथिको छलफल बैठकमा प्रवेश गरिसक्यो । हामी छलफल गरेरै टुंगोमा पुग्नुपर्छ । प्रस्तावहरूमाथि अनौपचारिक छलफल गरेर सहमति खोज्ने प्रयास पनि गरौं, औपचारिक छलफल पनि गरौं, यसरी छलफल गर्दा के निष्कर्ष निकाल्न सकिन्छ, हेरौं ।

    नारायणकाजी श्रेष्ठ

    अनौपचारिक छलफल गर्नैपर्छ । निष्कर्ष निकाल्न अनौपचारिक छलफल पनि चलाउनुपर्छ । तर त्यसो भन्दैमा औपचारिक बैठक रोक्नु हुन्न । हामीले अनौपचारिक र औपचारिक दुवै किसिमले छलफल चलाएर जाऔं, पार्टी एकताको पक्षमा निर्णय गरौं । तर पार्टीको औपचारिक बैठकमा पेस भएको प्रस्तावलाई मान्दिन, छलफल गर्दिन र खारेज गर्छौं भन्न मिल्दैन । बैठकको एजेन्डा प्रस्तावहरूमाथि छलफल गर्ने हुनुपर्छ, छलफलबाटै निचोड निस्किनुपर्छ ।

    रामबहादुर थापा

    दुई अध्यक्षबीच छलफल नभई यसरी पार्टीको औपचारिक बैठकमा लिखित प्रस्ताव ल्याउनै हुँदैनथ्यो, आइहालेपछि अब छलफल गर्दिन भन्न मिल्दैन । प्रस्तावहरूमाथि छलफल गरौं र निचोड निकालौं ।

    विष्णु पौडेल

    पार्टीका दुवै अध्यक्षले पेस गर्नुभएको प्रस्तावमाथि छलफल गरौं र नगरौं भन्नेमा मेरो केही पनि मत छैन ।

  • १७ मंसिर २०७७, बुधबार ०९:३७ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा