नेपालगन्ज— बाँके प्रहरीले डुडवा गाउँपालिका ३ बनकट्टाका १२ वर्षीय सुनिल रैदासको हत्या घटनाको अनुसन्धान नयाँ शिराबाट सुरु गरेको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको नजिक पुगेको दाबी गरेको छ । हत्या गरिएका बालकका परिवारले घटनामा संलग्न व्यक्तिहरुलाई पहिचान गरी कारवाहीको माग गर्दै आएका छन् । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुबाष खडकाले उक्त घटनाको अनुसन्धान फराकिलो बनाएको जनाए । ‘हरेक कोणबाट घटनाको अनुसन्धान हुँदै छ । छिट्टै नै हत्यामा संलग्न व्यक्तिहरुको पहिचान हुने विश्वासमा छौँ,’ उनले भने,‘अझै अनुसन्धानकै क्रममा छौँ । घटना नजिक पुगिसकेका छौँ ।’
कार्तिक १० गते राति नजिकको पोखरीमा बालकको हत्या भएपछि गाउँमा त्रास छ । स्थानीयले हत्यामा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गर्दै आएका छन् । ईलाका प्रहरी कार्यालय बनकट्टीदेखि ५ सय दुरीमा बालकको हत्या गरिएको थियो । हत्या गरिएका बालका बुवा विषराम रैदासले छोराको हत्याराहरुलाई कारवाही नहुँदा न्याय नपाएको अनुभुति भएको जनाए । यसअघि बालक हत्याको अनुसन्धानका लागि पक्राउ गरिएका व्यक्तिहरुलाई प्रहरीले रिहा गरेको छ । प्रहरीले २० जनालाई पक्राउ गरेको थियो । डुडवा गाउँपालिका ३ बनकट्टाका १२ वर्षीय सुनिल रैदास नेपालगन्जमै बसेर नेपालगन्जस्थित बिट्रिश इन्गलीस बोर्डिङ स्कुलमा नर्सरी कक्षामा पढ्थे । कोरोनाको कहरमा बिद्यालय बन्द भएपछि बुबासंगै नेपालगन्जबाट घर आउजाउ गर्थे । उनका बुबा बिषराम नेपालगन्जमा फर्निचर बनाउने पसल गर्दै आएका छन् । कार्तिक १० गते बिहान बिषरामले आफूसंगै छोरा सुनिललाई नेपालगन्ज ल्याएर सा“झ फर्किने बेला गाउ“मै संगै लिएर गएका थिए । त्यही रातिति गाउँ नजिकैको मन्दिर नजिकै दुर्गा माताको भण्डारा हेर्न गएका बालक हराएका थिए । बिहान गाउँ नजिकको पोखरीमा हत्या गरिएको अवस्थामा शव फेला परेकेो थियो ।