बुटवल — बुटवलमा प्रहरीको पेस्तोल खोसेर खाग तस्करले गोली चलाएका छन् । खाग तस्करीको आशंकामा प्रहरीले पक्राउ गर्न खोज्दा तस्करले प्रहरीको पेस्तोल खोसेर गोली चलाएका थिए । प्रहरीलाई हानेको गोली आफ्नै साथीलाई लाग्दा एक जना गम्भीर घाइते भएका छन् ।
गोली प्रहारबाट काठमाडौं, वसन्तपुरका राकेश न्यौपाने गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए । न्यौपानेको चिउँडोमा गोली लागेको छ । उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज लगिएको छ ।
बुटवल–८ सुख्खानगरको पश्चिमाञ्चल फाइनान्स पछाडि कलश होटलमा बिहान करिब ९ बजे गोली चलेको थियो ।
प्रहरीका अनुसार खाग तस्कर बसेको प्रारम्भिक सूचनाका आधारमा २ जना प्रहरी सादा पोसाकमा होटलमा पुगेका थिए । होटलमा सोधपुछपछि ४ जना बसेको कोठामा बाहिरबाट चुकुल लगाइएको थियो । त्यसपछि ढोका फोरेर प्रहरीको पेस्तोल खोसेर प्रहरीलाई प्रहार गर्न खोज्दा न्यौपानेको चिउँडोमा गोली लागेको थियो ।
गोली हान्ने जाजरकोटको नायकवडा गाउँपालिका–४ का विरेन्द्रबहादुर सिंह फरार भएका छन् । अन्य २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको बारीकोट गाउँपालिका ४ का कर्णबहादुर राउत र सुर्खेतको लेकबेंसी नगरपालिकाका भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी प्रवक्ता थापाले बताए ।