एकतर्फी सुनुवाइबाट ‘सिद्धबाबालाई सफाइ – Dastabej

एकतर्फी सुनुवाइबाट ‘सिद्धबाबालाई सफाइ


  • कृष्ण ज्ञवाली ekantipur.com

  • काठमाडौँ — जिल्ला अदालत सुनसरीले हनुमान मन्दिर आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार आरोपबाट सफाइ दिएको छ । पीडितको किटानी जाहेरीका साथै आरोपलाई स्थापित गर्ने कम्तीमा चार प्रमाण हुँदासमेत न्यायाधीश अर्जुन कोइरालाको इजलासले उनलाई सफाइ दिएको हो ।
    सरकारी वकिल कार्यालयले सोमबार सुनुवाइ रोक्नुपर्ने भनी दिएको निवेदनसमेत बेवास्ता गर्दै जिल्ला अदालतले आरोपितको एकतर्फी सुनुवाइका आधारमा मुद्दा टुंग्याएको हो ।
    साधनाका लागि भनेर आश्रममा बोलाएर सिद्धबाबाले आफूलाई बलात्कार गरेको भनी एक महिलाले २०७६ पुस १० गते प्रहरीमा जाहेरी दिएकी थिइन् । अनुसन्धानपछि प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत सुनसरीका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले फैसलाको रायकिताबमा ‘अभियोग दाबी पुष्टि हुने प्रमाण नभेटिएकाले सफाइ हुने ठहर्छ’ भन्ने उल्लेख भएको जानकारी दिए । फैसलाको पूर्णपाठ तयार भइसकेको छैन । पक्राउ परेपछि आरोपित सिद्धबाबाले आफूलाई छाड्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चले केही साताअघि उनलाई थुनामै राख्ने आदेश गरेको थियो । त्यस क्रममा महान्यायाधिवक्ता कार्यालयमा ल्याइएको मुद्दाको मिसिल जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीमा फिर्ता भइसकेको थिएन । महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार त्यही कारण देखाउँदै सुनसरीको सरकारी वकिलको कार्यालयले सोमबारको सुनुवाइ रोक्न निवेदन दिएको थियो ।
    सरकारी वकिलहरूले इजलासमा त्यही कुरा राखेपछि न्यायाधीश कोइरालाले ‘यही रहेको मिसिल हेरेर बहस गर्नू’ भनेका थिए । त्यसलाई इन्कार गरेका सरकारी वकिलहरूले मुद्दा स्थगन गर्ने निवेदन इजलासमै छाडेर फर्केका थिए । त्यसपछि अदालतका कर्मचारीले उक्त पत्र सरकारी वकिलको कार्यकक्षमै पुगेर फिर्ता गरेका थिए । दर्ता नहुने जोखिम देखेपछि उनीहरूले स्रेस्तेदारको कक्षमा पनि निवेदन पेस गरेको जिल्ला अदालत स्रोतले बतायो ।

    ‘केही सीप नलागेपछि हामीले इमेलबाट सुनुवाइ स्थगनको निवेदन दिएका थियौं,’ सरकारी वकिल कार्यालय स्रोतले भन्यो, ‘मुद्दाको सुनुवाइ रोकियो होला भनेको त फैसला आएको पो थाहा पायौं ।’ जिल्ला अदालत स्रोतबाट प्राप्त पत्रमा मिसिल नभएकाले मुद्दाको अध्ययन गर्न असमर्थ भएको उल्लेख गर्दै सुनुवाइ स्थगितको अनुरोध गरिएको छ ।
    प्राकृतिक न्यायको सिद्धान्तअनुसार न्यायनिरुपण गर्ने न्यायाधीशहरूले विवादित दुवै पक्षको सुनुवाइ गर्नुपर्छ । दुवैतर्फको सुनुवाइपछि मात्रै न्यायनिरुपण गर्नुपर्ने आधारभूत सिद्धान्त उल्लंघन हुने गरी न्यायाधीश कोइरालाले फैसला गरेका हुन् । उनको कार्यक्षमतामाथि यसअघि पनि प्रश्न उठेका थियो । गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानबिन गर्न न्यायपरिषद्मा पत्राचार नै गरेको थियो ।
    घटना यस्तो हो
    सोलुखुम्बुको साबिक जुबु गाविस स्थायी ठेगाना भएका चतरा बस्ने सिद्धबाबा रामकृष्णाचार्य वैष्णव कृष्णदास भनी चिनिन्थे । किटानीजाहेरीमा उल्लेख भएको विवरणअनुसार उनले आफ्नो नियमित सम्पर्कमा रहेकी एक भक्तलाई गत कात्तिक ३ गते राति साढे ११ बजे फोन र म्यासेन्जर कल गरे ।
    ती भक्त महिलाले रेस्पोन्स नगरेपछि रोमन अंग्रेजीमा ‘हेलो, मैले मौका दिएका बेलामा चुप किन’ भनी कुटीमा बोलाए । साधनाबाट प्राप्त हुने दीक्षाका लागि गुरुले अवसर दिएको ठानी उनी आश्रममा गइन् । सिद्धबाबाले आफ्ना कक्षमा लगेर ती महिलालाई ‘आफूले भनेअनुसार नगरे अनिष्ट हुने’ धम्की दिई चुप लागेर बस्न बाध्य बनाएर र बलात्कार गरे । त्यसपछि सिद्धबाबाले ‘यो कुरा कसैलाई नभन्नु, भनेमा अनिष्ट हुन्छ’ भनेर फेरि धम्की दिए ।
    घटनापछि डरले चुप लागेर बसेकी ती महिला काठमाडौं फर्किइन् । केही सातापछि श्रीमान्‌ले सिद्धबाबा र उनीबीच भएको म्यासेजको विवरण हेर्दा ‘शारीरिक सम्पर्क’ को कुरा उल्लेख भएको थाहा पाए । त्यसपछि ती महिलाले सबै यथार्थ श्रीमान्‌लाई बताइन् । श्रीमान्को अग्रसरतामा ती महिलाले प्रहरीमा किटानीजाहेरी दिइन् ।
    किटानीजाहेरीपछि प्रहरीले सिद्धबाबालाई पक्राउ गरी बयान लियो । उनले आरोप अस्वीकार गर्दै बयानमा भनेका छन्, ‘म त्रिदण्डधारी साधु संन्यासी हुँ । मैले अग्नि र स्त्रीलाई स्पर्शसमेत गर्न हुँदैन ।’ ती महिलाले एक वर्षदेखि एकोहोरो म्यासेज गरेको अनि शिष्य र भक्तजनले समेत आग्रह गरेकाले एकपटक फोनमा कुरा गरेको सिद्धबाबाले दाबी गरेका थिए । भोला बराल भन्ने व्यक्तिको फोनबाट भएको कुराकानीमा नै सिद्धबाबाले ‘मबाट एकपटक गल्ती भयो, माफ पाऊँ, अब त्यस्तो हँॅदैन, भयो भने म लिंग नै काटेर फालिदिन्छु’ भनेका थिए । उक्त कल रेकर्ड सिद्धबाबाकै भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भयो । प्रहरीले बलात्कार गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता गरायो । त्यही मुद्दामा जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले सिद्धबाबालाई धरौटीमा छाड्ने आदेश गरेका थिए । पछि उच्च अदालतले गिरीलाई थुनामा पठाउने आदेश गर्‍यो भने सर्वोच्च अदालतबाट पनि त्यो आदेश सदर भयो ।
    प्रमाण नभेटिएकै हो ?
    बलात्कारजस्ता घटनामा अपराधीले अरूले थाहा नपाउने गरी गोप्य स्थान छनोट गरेका हुन्छन् भने सकेसम्म आफूलाई त्यससम्बन्धी प्रमाणबाट जोगाउँछन् । त्यसैले यस्तो घटनामा पीडितलाई नै प्रमाणका रूपमा ग्रहण गरिन्छ र अन्यथा प्रमाणित नभएको अवस्थामा पीडितको भनाइलाई प्रमुख प्रमाण मानिन्छ । जिल्ला अदालत स्रोतबाट कान्तिपुरलाई प्राप्त मिसिलको फोटोकपीमा उक्त बलात्कार घटना पुष्टि गर्ने कम्तीमा चार फरक प्रमाण छन् ।
    पीडितले सिद्धबाबाको नाम किटानीका साथ उल्लेख गरी आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् भने अर्कोतर्फ घटना हुनुअघि सिद्धबाबाले पीडितलाई साधनाका लागि आश्रममा बोलाएको म्यासेज प्राविधिक परीक्षणबाट पनि पुष्टि भएको छ । पीडित त्यस दिन आश्रममा गएको पनि पुष्टि भएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा घटनापछि सिद्धबाबाले पीडितलाई फोन गरेर माफी मागेका छन् । पीडितले रेकर्ड गरी उपलब्ध गराएको उक्त ‘अडियो फाइल’ को आवाज सिद्धबाबाको हो भनी विधिविज्ञान प्रयोगशालाबाट पुष्टि पनि भएको छ ।
    सिद्धबाबाले घटनापछि आफ्ना भक्त भोला बरालको फोनबाट एक घण्टा २० मिनेट पीडितसँग फोन गरेका थिए । उनले कुराकानीका क्रममा क्षमायाचना गरेको अडियो रेकर्डबारे पछि बयानमा आफ्नो होइन भनेका थिए तर उनले अन्य सवालजवाफमा ‘आफूले धर्मरक्षाका लागि साधकहरूको अनुरोधमा घटनाबारे भावविह्वल भई पीडितसँग माफी मागेको’ स्विकारेका थिए ।
    कमजोर अनुसन्धान
    पीडितको दाबीअनुसार त्यतिबेला अनुसन्धान अधिकृत डीएसपी विनोद शर्माले किटानीजाहेरी पर्नासाथ मिलापत्रका लागि दबाब दिएका थिए । अनुसन्धानका दौरान घटनास्थल लैजाने क्रममा सुनसरीका एसपी यज्ञविनोद पोखरेलले आफूलाई एकान्तमा लगेर घटनाबारे मिहिन रूपमा बयान गर्न लगाएको पीडितको प्रतिक्रिया थियो । अनुसन्धान अधिकृत शर्माले अनुसन्धानका दौरान करिब २४ जनासँग मौकाको कागज गराएका छन्, जसले सिद्धबाबाको पक्ष लिएर घटना भएको होइन भन्ने तथ्य स्थापित गर्न बल पुर्‍याएको देखिन्छ ।

    सिद्धबाबालाई जोगाउन अनुसन्धानदेखि नै चलाखी गरिएको थियो । मौकामा कागज गराइएका सुरक्षागार्ड भनिने मुकेश साह त्यसका उदाहरण हुन् । पीडितको दाबीअनुसार सिद्धबाबाले बोलाएका दिन उनी आश्रममा पुग्दा कोही थिएनन् तर पछि सिद्धबाबाले साहलाई सुरक्षागार्डका रूपमा प्रस्तुत गरे । घटना भएको रात आश्रममा गार्ड बसेको दाबी गर्ने साहले ‘त्यो दिन गुरु सुतेपछि मूलगेटको ताला लगाएर साथैमा चाबी राखेर खाटमा पल्टिएको’ बयान दिएका थिए ।

    अनुसन्धान बलियो बनाउनुपर्ने प्रहरीले पीडितको दाबीलाई खण्डन गर्न बल पुग्ने यस्ता प्रमाण जुटाएर आरोपपत्र पेस गरेको थियो । सोधपुछका दौरान उभ्याइएका सबैजसोले पीडितलाई दोष दिएका छन् । सिद्धबाबाका पक्षमा उभिएका उनीहरूले पीडितलाई ‘दिमागी रूपमा बिरामी भएको’ आरोप लगाएका छन्, जसलाई आरोपपत्रमा महत्त्वका साथ समावेश गरिएको थियो ।

    को हुन् सिद्धबाबा ?

    सोलुखुम्बुको जुबुमा २०३१ फागुन १९ गते जन्मेका कृष्णबहादुर गिरी स्थानीय स्कुलमा कक्षा ७ मा फेल भएपछि २०४९ सालतिर घर छाडेर भारत गएका थिए । भारत प्रबासिनुभन्दा अघि गाउँमा जग्गाको सिमानाको विषय भएको विवादमा छिमेकीलाई मरणासन्न हुने गरी कुटपिट गरेकामा उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दासमेत परेको थियो । त्यो मुद्दा अझै छ । पछि उनले २०३० मंसिर १० गते जन्मेको भनेर सुनसरी जिल्ला प्रशासन कार्यालयबाट २०६५ पुस १७ गते अर्को नागरिकता पनि लिएका छन् । यसबारे स्थानीय प्रशासन ‘मौन’ छ ।

    घर छाडेको ६ वर्षपछि नेपाल आएर परिवारसँग उनको भेटघाट भएको थियो । घर आउँदा उनी युवा सन्तको भेषमा थिए । बालसन्तसँग बस्दाबस्दै उनले बराहक्षेत्रको चतरानहर पश्चिम किनारमा पर्ने सुनसरी मोरङ सिँचाइ आयोजनाको १३ बिघा जग्गा कब्जा गरेर आयुर्वेदको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरे । स्वास्थ्य शिविर सम्पन्न भइनसक्दै घेराबारा गरेर मन्दिर, हनुमानको प्रतिमा, रामानन्दचार्य सेवा पीठका भवनहरू धमाधम निर्माण गरे ।

    २०६५ सालदेखि उनले आफूलाई आयुर्वेदमा विद्यावारिधि गरेको डा. महासिद्ध योगी भनिएको पर्चा पम्प्लेटमा लेखाए । उनले आफू भारतमा रहँदा विभिन्न विषयमा आचार्य गरेको भन्न थालिसकेका थिए । पछिल्लो समय अयोध्यामा अनन्तश्री र सिद्धबाबा उपाधि पनि पाएका उनले चतराको जग्गामा आयुर्वेद विश्वविद्यालय खोल्न राजनीतिक दलका शीर्षस्थ नेतादेखि प्रहरी र सेना, प्रशासनिक निकायका सचिवहरूसम्म लबिङ गर्दै आएका थिए ।

  • २३ मंसिर २०७७, मंगलवार ०९:१४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर