नेपालगन्ज— गैंडाकोट नवलपुरकी स्रष्टा कल्पना पौडेल जिज्ञासु र बाँके खजुराका लोकप्रिय शैक्षिक ब्यक्तित्व ऋषि सापकोटाको प्रगतिशील बिवाहको तरंग अद्यावधि कायमै छ । बिश्व नेपाली साहित्य महासंघ नेपालकी अध्यक्ष,अन्तराष्ट्यि नेपाली प्रगतिशील साहित्य प्रतिष्ठानकी अध्यक्ष जस्ता थुप्रै जिम्मेवारी रहेकी कल्पना र खजुरकाको ज्ञानोदय नमुना माविका प्रधानाध्यापक ,ज्ञानोदय बहुमुखी क्याम्पसका उपाध्यक्ष,शुभकामना सहकारीका संस्थापक,जेनिथ मावि र लायन्स क्लब खजुरा जस्ता धेरै जिम्मेवारीमा आवद्ध ऋषिराम सापकोटा बीचको नवदाम्पत्य चर्चामा रहेको छ ।
दकस, लाज, अप्ठ्यो र असजिलोका अनेकानेक परिवेशलाई छिचोलेर यो जोडी एक भैसकेको छ । लक्का जवान छोराछोरीका अभिभावक समेत भैसकेर पनि पुनः बैवाहिक यात्रा रोज्नु साहस भन्दा दुस्साहस जस्तो थियो । यो मिलन पुरातन मान्यताको बिरुद्ध एकखालको बिद्रोह पनि हो । खोज्दै जाँदा साली भिनाजुको नाता पर्ने यो जोडीलाई एक हुने चाँजोपाँजो मिल्यो आखिर ।
पत्यक्ष देखादेख र चिनजानको इतिहास एक साल अघिको मात्रै हो । ढाईबर्ष देखि पत्नी बियोगमा परेर एकलास ब्यहोरेका भिनाजु ऋषिलाई भावी जीवन एक्लै काट्न नपरे हुन्थ्यो भन्ने लाग्थ्यो कल्पनालाई । फेसबुक प्रोफाइलबाटनै मैले उहाँलाई धेरै बुझेको हो । एउटा राम्रो दिदी खोज्न म्यासेन्जर च्याटमा सुझाव दिन्थेँ । कालान्तरमा आज आफै सो स्थानमा पुग्दा अचम्म लाग्छ । पुनर्बिवाह त्यो पनि यति छिटै होला भन्ने कल्पना थिएन । बन्धनबिहीन संसारमा बिचरण गरिरहेकी कल्पनालाई कहीं कतै अनुबन्धित हुने रहर छँदैथिएन । सतहत्तर सालको मंसिर ५ गते लगन बनेर आयो, काठमाण्र्डौको एउटा पार्टी प्यालेसमा ।
कसले राख्यो होला त पहिले बिहेको प्रस्ताव ? यो जिज्ञासामा नवदम्पती मुखामुख गर्दै थियो । कल्पनालाई पतिकै मुखबाट सुन्न मन लाग्यो । ऋषिलाई कल्पनाले भन्दिए हुन्थ्यो भन्ने लाग्यो । पहिलो प्रपोज गर्ने ऋषिनै हो भन्दै कल्पनाले थप्दै थिईन् ः भिनाजुको जीवनमा राम्रो मान्छे आईदिए हुन्थ्यो भन्ने साली तिमीनै आए के भयो त ? भिनाजुले स्वागत गेट बनाए,रातो कार्पेट ओच्छयाए । म अक्क न बक्क भएँ । एकसाल अघि साडु कहाँ छन् भनेर सोधेको याद आउँछ । पितृसतात्मक ब्यवस्थाको शिकार भएकी म । बैदेशिक रोजगारीमा दशक लामो इजरायल बसाईको बिट मार्न पाउँदा नपाउँदै डिभोर्सको सामना गर्न पुगेको सवाई कहेँ । एकल पुरुषको दैनिकी सामना गरेका ऋषि र डिभोर्सको शिकार कल्पनाको एकल संसार फिल इन् द ब्ल्यांक्स् भयो ।
घरपरिवाको मन जितेर बिवाहजस्तो सम्बेदनशील बिषयमा सबैलाई राजी बनाउनु सजिलो थिएन । त्यो भन्दा असजिलो कुरा थियो आफूले आफैलाई मनाउन । यी दुबै अग्ला पहाड नाघे ऋषिले । पारिवारिक सहमति पाईन् कल्पनाले । शिशिर जिना सुबोध सम्झना,सुनिता नवीन,बिकल्प संकल्प अनुसा छोराबुहारी छोरी ज्वाईंहरु प्रेरणा र साक्षी बनेर आए । अपेक्षा पनि यही थियो । यतिबेला दुबैतर्फका सबै सदस्य खुशी खुशी छन् । मञ्चमा वरका छोराले शुभकामना मन्तब्य दिंदै गर्दा बधुको सहोदर दाजु सभापति थिए । ऋषिको के चीजले आकर्षण गर्यो त कल्पनालाई ? कल्पनालाई झट्ट केही कुराले आकर्षित पारेको होईन रे । बरु डरमिश्रित भावना सलबलाएको थियो । अगुल्टोले हानेको कुकरजस्तै । ऋषिलाई नारीसम्मानको मामलामा अब्बल पाएँ । सामाजिक छवि प्रचुर पाएँ । शितल सौम्य भेट्टाएँ । कठोर मन झुक्दै गयो । मलाई फुक्काफाल चरी बनेर उड्न दाम्पत्य जीवनले ब्यवधान ल्याउँदैन भन्नेमा कन्फर्म भएँ ।
बिभिन्न परिस्थितिले एकल जीवन बिताएका महिला तथा पुरुषको विहे हुनुपर्छ भन्ने मान्यता राख्ने कल्पना स्वयम् बिवाहको फन्दामा बेरिईन् । आफू जनमोर्चाको राजनीतिको नजिक रहेको खुलासा गरिन् । कर्मचारी भएको नाताले खुला राजनीतिमा नरहेपनि प्रगतिशील बिचार राख्ने ऋषि प्रगतिबादी हुन् । यी दुईमनको पार्टी एकीकरण भयो । प्रगतिशील बिवाह मञ्चमा जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलको शुभकामना मन्तब्य थियो । लोकप्रिय नेता चित्रबहादुर केसी, मोहनबिक्र सिंह र जनगायक जीवन शर्माले शुभकामना आयो । बिवाह समारोहमा उपस्थित दर्जनौले सफल सहयात्राको शुभाकामना दिएका थिए । जोडीलाई अवसर र चुनौती थपिएको भान भयो ।
दुई छोराकी आमा भैसकेकी कल्पनाको एक छोराको विवाह समेत भैसकेको छ र तीन सन्तानका पिता ऋषिका सबै छोराछोरीको विवाह भैसकेको छ । कल्पना चार दशक उकालो लागिसकेकी छिन् भने ऋषि पचासको दशकबाट अघि बढिसकेका छन् । यो उमेरान्तरले बैवाहिक जीवनलाई कुनै फरक नपारेको दुबैको भनाई छ । साहित्य बिबिध बिधामा कलम चलाईरहने कल्पनामा कविको छवि छ । एकल तथा संयुक्त उल्लेख्य सिर्जना छन् उनका ।
भावनाका भेलहरु (गजल संग्रह) ,जुन हराएको रात, पोखिएका खुशीहरु(गीत संग्रह) बिद्रोहका तरंग(मुक्तक संग्रह) उनका चर्चित कृतिहरु हुन् । अझै सिर्जनात्मक हुन मन छ । जीवनका बाँकी बसन्त सुखद बनाउन दुबैले कुनै कसर बाँकी नराख्ने ऋषिको भनाई छ । मेरो कुनै अँकुश हुन्न । उनीपनि मेरो दैनिकीलाई कहिल्यै डिस्टर्ब गर्दिनन् । अलिकति बाध्यता अलिकति आवश्यक्ता र अलिकति संयोगनै हाम्रो बैवाहिक जीवनको राज हो । हाम्रो पुनर्विवाह समाजको लागि प्रेरणा र उदाहरण बन्न सकोस् । हामी यसैमा खुशी छौं ।