डुडवाकी एक महिला बलात्कृत भएपछि गाउँमै मिलाउने प्रयास भयो । घटना भएको चार दिनपछि प्रहरीमा खबर पुग्यो । बलात्कारको आरोप लागेका व्यक्ति फरार हुन सफल भए । नेपालगन्जकी अर्की एक महिला बलात्कृत भईन । कोहलपुरमा दुई महिला बलात्कृत भए । भदौ महिनामा मात्रै बाँकेमा पाँच महिला बलात्कृत भएका छन् । चार महिलालाई जवरजस्ती गर्ने प्रयास भएको प्रहरीले जनाएको छ । पछिल्लो समय बाँकेमा बलात्कारका घटनाहरु बढ्दै गएका छन् । त्यस्तै महिलामाथि जबरजस्ती गर्न खोज्ने घटनाहरु पनि दैनिक हुने गरेका छन् । तर प्रहरी कार्यालयमा यस्ता निकै कम पुग्ने गरेका छन् । कोरोनाका संक्रमण सुरु भएपछि सुरु भएको लकडाउनयता बाँकेमा २१ महिला बलात्कृत भएको मुद्दा प्रहरीमा परेको छ । जेष्ठ, असार, श्रावण महिना चार÷चार र चैत्र र बैशाखमा दुई÷दुई वटा बलात्कारका घटना भएका छन् । बलात्कारका घटनाहरु बढ्न थालेपछि महिलाहरु जोगिन समस्या भएको छ । तर प्रहरीले भने सुरुमा माया प्रेम हुने तर घटना सार्वजनिक भएपछि बलात्कारको मुद्दा दर्ता हुने गरेकाले संख्या बढेको जनाएको छ । ‘पहिले सहमतिमा हुने तर घटना बाहिर आएपछि बलात्कारमा मुद्दा दर्ता पनि भएका घटना छन् । कतिपयलाई श्रीमतीलाई पनि जबरजस्ती गर्न नपाउने भन्ने जानकारी नहुँदा मुद्दा परेको छ, जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखाका अनुसार कारण बलात्कारका घटना बढेको देखिन्छ ।’
त्यस्तै पहिले बलात्कारजस्तो गम्भीर अपराधलाई लुकाउने र समुदायमै मिलाउने चलन भएकाले पनि कम घटना प्रहरीमा दर्ता हुने गरेका थिए । तर हाल त्यस्ता घटनाहरु सार्वजनिक हुन थालेका छन् । बलात्कारजस्तो गम्भीर मुद्दा मिलाउने व्यक्तिहरुलाई पनि कारवाही हुन भएकाले पनि घटना प्रहरीमा पुग्न थालेका हुन । ‘महिला पनि सचेत भइसकेकाले पनि घटना हामी कहाँ आउन थालेका हुन । फौजदार संहिताको करणी सम्बन्धी कसुरले कुनै महिलालाई निजको मन्जुरी नलिइ करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरका बालिकालाई करणी गरेमा जवरजस्ती करणी गरेको मानिने छ । आफ्नी श्रीमतिलाई पनि मन्जुरी नलिई करणी गरेमा जवरजस्ती करणीको मुद्दा लाग्ने कानुनी प्रवधान छ । बलात्कारको आरोप पुष्टि भएमा २० वर्षसम्म जरिवाना हुनसक्ने कानुनी प्रवधान छ ।
त्यस्तै गएको आर्थिक वर्षमा बाँकेमा ५२ महिलामाथि बलात्कार भएको र १० महिलालाई जबरजस्तीको प्रयास भएको प्रहरीमा अभिलेख छ । आर्थिक वर्ष ०७५÷७५ मा ५६ बलात्कार र ४ घटना जवरजस्ती प्रयास गरिएको घटना दर्ता भएको थियो । ०७४÷७५ मा ३५ महिलामाथि बलात्कार भएको थियो । ३१ महिलालाई जबरजस्तीको प्रयास गरिएको मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । कतिपय घटनामा १६ वर्ष मुनिका छन् । गलत फिल्म हेर्ने र देखासिकीका कारण किशोरहरु बलात्कारका घटनामा संलग्न हुने गरेको प्रहरीले जनाएको छ । उनीहरुमा कौतुहलता हुन्छ । मोबाईलमा एडल्ट फिल्म हेर्छन । त्यस्ता घटनामा संलग्नहरुमाथि कारवाही हुननसक्दा महिलामाथि बलात्कार र यौन दुव्र्यवहारका घटना बढ्दै गएको छ । कतिपय पीडितले घटना लुकाउने गरेका छन् । कतिपयले ढिलो गरी उजुरी गर्दा प्रमाण अभावमा अभियुक्तहरु उन्मुक्ति पाउने गरेका छन् । मदिरापान, मानसिक रोगी र अपराधिक मानसिकताका व्यक्तिहरुबाट यस्ता घटना बढी हुने गरेको प्रहरीले जनाएको छ । वातावरण र खानपानले पनि अपराधिक घटनामा बृद्धि भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, परिचित व्यक्तिहरुबाट महिलाहरु बलात्कृत हुने गरेका छन् ।