नेपालगन्ज— फुसका लस्करै घर । ठाउँठाउँमा सडक छेउछाउमा रंगाइएका बाँसको पोल । घर अगाडि फोहर राख्ने गाउँघरमै बनाइएको झउवा, डालो । सडक कच्ची तर निकै सफा । कागज,प्लास्टिकका टुक्राको नामोनिसान देखिदैन । घर अगाडि फूल रोएिका छन् । यहाँ पुग्ने जोकोही सरसफाई देखेर छक्क पर्छन । यो गाउँ हो बढैयाताल गाउँपालिका वडा न. ७ समरपुर । उक्त गाउँलाई पूर्ण सरसफाई अन्र्तगत नमुना टोल बनाइएको छ । गाउँ चिटिक्क बनाउन स्थानीय आफै लागेका छन् । घर अगाडिको सडक आफै सफा गर्छन । घरभित्र उत्पादन हुने सड्ने फोहोरलाई बिर्सजन गरी मल बनाउछन् । नसड्ने खालका फोहोरलाई सुरक्षित स्थानमा लागेर फाल्ने गरेका छन् । गाउँलाई सफाई राख्न विभिन्न समिति बनाइएका छन् । सरसफाई र गाउँको सुन्दरता बढाउन फूल रोप्ने, अनुगमन, चर्पी मर्मत तथा व्यवस्थापन, फोहोर मलाई÷धारा फर्स÷जुठेल्नु (भाडा माज्ने स्थान) निमार्ण, चाङ तथा प्रतिक्षालय, व्यक्तिगत सरसफाई तथा स्रोत केन्द्र निमार्ण, अनुगमन र मुल समिति बनाइएको छ । पक्की घर नभए पनि हरेक घरमा पक्की शौचालय बनाइएका छन् । सरफाईको महत्व बुझेपछि स्थानीय पूर्ण सरसफाईका लागि जुटेका हुन । ‘गाउँलाई सरसफाई राख्न विभिन्न समिति बनाएका छाँै । समितिले पाएको जिम्मेवारी पूरा गरेपछि सहज भएको छ,’ फूल रोप्ने समितिकी राजकुमारी चौधरी चन्छिन्,‘पहिले फोहोर जताभावी फालिन्थ्यो । अचेल डालोमा फोहोर संकलन गरेर सुरक्षित स्थानमा लगेर फाल्ने गरेका छौँ ।’
सरकारले मुलुकलाई पूर्णरुपमा सरसफाई गर्ने नीति ल्याएपछि स्थानीय सरकारले अभियान चलाएका छन् । एकैपटक पूर्ण सरसफाइको अवस्था हासिल गर्न असम्भव भएकाले दुई चरणमा विभाजन गरी कार्यान्वयन गरिदै छ । पहिलो चरण सफा र स्वच्छ हो । दोस्रो पूर्ण सरसफाइ उन्मुख हो । पूर्ण सरसफाइ घोषणका लागि निश्चित सूचक तोकिएका छन् । पूर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार स्थानीय आवश्यकतामा आधारित खानेपानी, सरससफाइ, स्वच्छता, शौचालय, घरको सरसफाई, भान्साको अवस्था, धारा छेउमा बनाई भाडा सुकाउने स्थान, करेशाबारी, व्यक्तिगत सरसफाई लगायतका सुचक छन् । त्यस्तै खुला दिसामुक्त क्षेत्र घोषणा, सुरक्षित खानाको प्रयोग, सफा र स्वच्छ घर, विद्यालय, स्वास्थ्य संस्था एवं कार्यालय, ठोस तथा तरल फोहोरको व्यवस्थापन, ढल तथा मानव मलमुत्रीय फोहोर व्यवस्थापन, वातावरणीय सरसफाई पनि सूचक हुन । सरकारले सार्वजनिक बजार, राजमार्ग, धार्मिक तथा पर्यटकीय स्थललगायत तथा सस्थागत शौचालयहरु प्रयोगकर्ता–मैत्री (वातावरण, बाल, लैगिंक, अपाङ्गता र वृद्ध–मैत्री) बनाउने लक्ष्य राखेको छ । बालबालिकाको दिसालाई सुरक्षित विर्सजन, साबुन पानीले हात धुने, घर, संस्थागत निकाय, सार्वजनिक शौचालय, होटेल, क्यान्टिन आदिमा साबुन पानी सहित हात धुने स्थानको निर्माण गरिने छ ।
सरसफाई अभियानमा लागेकी फूलकुमारी चौधरीले गाउँलाई पूर्ण सरसफाई घोषणा गर्न निरन्तर लागेको बताईन । उनले आफ्नो घर अगाडिको सडक स्थानीयले दैकि आफै सफा गर्ने गरेको जनाईन । त्यससंगै धाराको अवस्था, भाँडा माज्ने स्थान, साबुन पानीले हात धोएर खान खाने लगायतका कार्यहरु निरन्तर भइरहेको उनले जनाईन । ‘समूह बैठकमा घरघरको सरसफाई बारे छलफल हुन्छ । सुझाव लिनेदिने गर्छौ,’ उनले भनिन्,‘सरसफाईमा हामी संबेदनशिल छौँ ।’ खाना खानुअघि, बच्चालाई खाना खुवाउनु भन्दा अघि, दिसा गरेपछि, बच्चाको दिसा धोएपछि, फोहोर तथा विषादी आदि छोएपछि साबुन पानीले हात धुने, मासिक धर्मलाई प्राकृतिक प्रकृयाका रुपमा लिदैं स्वच्छता र व्यवस्थापनको लागि घरायसी, विद्यालय तथा संस्थागत निकायमा स्यानीटरी प्याड, सफाइ एवं सुरक्षित विर्सजन लगायतका कार्य पूर्ण सरसफाई अन्र्तगत पर्छन ।