कोहलपुर— बैदेशिक रोजगारीमा संयुक्त अरब इमिरेट्स पुगेका बाँके खजुराका ३८ बर्षीय गोबिन्द सापकोटाका केही सामान्य सपना थिए । एउटा घडेरी र त्यसमा राम्रो घर । श्रीमतीलाई खुशी दिने । १५ बर्षीय छोरा र सात बर्षीया छोरीको लालनपालन,राम्रो शिक्षादीक्षा र औषधोपचार गर्ने । उनै गोबिन्दको सवारी दुर्घटनामा मृत्युभएको गलत खबरले परिवारमा दुईदिन सम्म रुवाबासी चल्यो । मृतकको शवको खोजिमा निस्किएको दैलेखी सेवा समाज युएईका हर्क चन्द लगायतको टिमले गोबिन्दलाई स्थानीय अस्पतालमा उपचाररत अवस्थामा फेला पार्याे । फोटो खिचेर पठायो । यो खबरले बाँकेको खजुरा र कोहलपुरमा रहेका आफन्त सपनाबाट ब्युँझिएझैं भए । गम्भीर घाईते भएर सडकमा ढलेको देखेको भरमा एक ट्याक्सी चालकले गलत खबर सम्प्रेसण गरेको थियो । यो घटनामा मानवताको ठूलो उदाहरण पेश गरेको दैलेखी सेवा समाजले परिवारलाई सान्तवना मात्रै दिएन बरु अस्पताल धाउने र बिरामीको ताजा अवस्था अपडेट गराउँने गरेको छ । भिसा म्याद हर्ने,बीमाको अवस्था बुझनेदेखि दुतावासलाई झकझक्याउने सम्मको काम गरिरहेको छ ।
मंसिर २७ गते साँझको समयमा साथीको कोठामा चिया खाएर फर्किने क्रममा अरबी महिलाले हाँकेको तीब्रगतिको कारले गोबिन्दलाई ठक्कर दिएको थियो । दुर्घटना गराएर कुनैपनि चालक फरार हुन नपाउने र भैहालेमा दोब्बर सजायँ हुने स्थानीय कानुनले गर्दा चालककै सक्रियतामा प्रहरीले घाइतेलाई अस्पताल पुगाईएको थियो भन्छन् समाजका महासचिव संकल्प चन्द ठकुरी । ठूलो आवाज सहितको दुर्घटनाको आवाज सुनेपछि घाईतेको उद्धार सुरु भएको थियो । अस्पतालको आकस्मिक कक्षमा बिभिन्न उपकरण जडान गरी उपचार भैरहेको तस्बिरले परिवारलाई आशा जगाएको छ । घरी खुट्टा सलबलाएको खबर आउँछ घरी हल्का बन्द आँखाको नानी चलमलाउन खोजेको संदेश आउँछ ।
तुलनात्मक रुपमा स्वास्थ्य अवस्था सुधारजस्तो देखिएपनि अझै खतरामुक्त नरहेको बताईएको छ । भेन्टिलेटरबाट सामान्य अक्सिजनमा राखेर उपचार हुनु र हात खुट्टा चलमलाउनुले आसाको सञ्चार भएको घाईतेकी पत्नी बेलमती भट्टराई बताउँछिन् । हामी यति टाढा छौं सामाजिक सञ्जालको माध्यमबाट समाजका साथीले हौसलापूर्ण खबरहरुले हाम्रो पीडामा मल्हमको काम गरेको छ भन्दै उनी आफूहरु टाढाबाट स्वास्थ्य लाभको कामना मात्र गर्नसक्ने बतार्उछिन् । बिदेशको भूमिमा ब्यस्त दैनिकीमा रोजगारीमा गएकाहरुको दुखसुखको सारथि बनेर दैलेखी सेवा समाजले उदाहरणीय काम गरेको बताउँछन् घाईतेका दाजु कोहलपुरका यज्ञ सापकोटा । घटना भएदेखिनै जताततै चासो चिन्ता प्रकट गरेर कोहलपुरकै दीपनारायण खनाल र दैलेखका मणि रिमालले दुबईस्थित साथीहरुमाझ खबर फैलाएर सहयोग गरिएकोमा आभार ब्यक्त गरे । बिश्वभर रहेका तमाम नेपालीहरुलाई प्रेरणा हुनेगरी दैलखी सेवा समाजले खेलेको अभिभावकीय भूमिका अत्यन्तै पुण्य काम हो भन्दै यज्ञ सापकोटा भन्छन् ःसमाजका साथीहरुप्रति हामी सधैँ ऋणी रहनेछौं ।