नेपालगन्ज—कोहलपुर १२ का रामबिक्रम चन्द (साहित्यिक नाम बिक्रम शिशिर) रोजगारीका लागि सन १९९९ मा पहिलो पल्ट युनाईटेड अबर ईमिरेट्स (युएई ) पुगे । उनी गाडी चालक हुन । युएईको राजधानी अबुधावि नेपालीहरुको साहित्यिक मन्चले गजल महोत्वसको आयोजना गरेको जानकारी पाए । उनले दुई वटा गजल पठाए । एउटा गजल महोत्सवका लागि छनौट भएको खबर पाए । खुसीको सीमा रहेन । उनलाई गजल बाचन गर्न आउँदा कण्ठ पारेर सहभागि हुन आउन आयोजकले सुझाए । बिदेशीको बसाई । ओभरटाईममा पाउने पारिश्रमिकको आश । चन्दले गाडी चलाउँदा गाडीको शीशा हेर्दै गजल बाचन गर्न अभ्यास सुरु गरे । उनले ०६२÷६३ को जनआन्दोलनपछि संविधान लेखन प्रक्रिया चलिरहेको थियो । त्यही विषयलाई आधार मान्दै उनले गजल लेखेका थिए ।
कस्तो होला लोकतन्त्र हेर्ने मन छ
संविधान बनाएर काया फेर्ने मन छ
समेटेर कोपिलाहरुलाई बहुप्रतिभाको,
औधौगिक आर्थिक क्रान्ति छेड्ने मन छ ।
‘तारेख र बार याद भएन । एक दिन युएईको अबुधावि रोडमा गाडी चलाउँदै थिए । संगसंगै गजल पनि बाचन अभ्यास गरिरहेको थिए । अचानक प्रहरीले गाडी रोक्यो । कारवाही गर्ने स्थानमा लग्यो,’ साहित्यिक पृष्ठभूमिका चन्दले भने,‘अबुधाबिका प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको भन्दै १५ हजार द्रिहम (नेपाली साढे तीन लाख) जरिवाना गरिदियो ।’ यो घटना सन् २०१० मा उनले झेलेका थिए । त्यहाँका प्रहरीले उनलाई ओभरटेकिङ फ्लो रुलमा कारवाही गरेको हो । त्यसअघि त्यहाँको प्रहरीले उनलाई २५ हजार द्रिहम जरिवाना गरेको थियो । उनले आफू नेपाली भएको र काम गर्न युएई आएकोले त्यतिधेरै रकम तिर्न नसकेको आग्रह गरेपछि प्रहरीले १० हजार द्रिहम जरिवाना छुट गरेको थियो । तर त्यसका लागि तीन महिनासम्म गाडी चलाउन नपाउने गरी लाईसेन्स निलम्बनमा राख्नु पर्यो । उनले आफू कार्यरत कम्पनीका मालिकलाई फोन गरेर साढे तीन लाख मगाएर जरिवाना तिरे । ‘त्यहाँको कानुन अनुसार मलाई जेल सजाय हुन सक्थ्यो । तर धन्न जेल सजाय भएन,’ आप्रवासी कामदार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अनुभव सेयर गरे,‘आफ्नै कारणले पनि विदेशमा दुःख पाईने रहेछ । गजलको चक्करमा साढे तीन लाख नेपाली जरिवाना तिर्नु परे ।’ उनले विदेशमा रहेका नेपालीहरुलाई त्यहॉको कानुन अनुसार चल्न सुझाए । हाल उनी हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका कला विभागमा संलग्न छन् ।