नेपालगन्ज— बाँकेको कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि काम अगाडि बढाएका छन् । त्यसका लागि लागत संकलनको काम केही दिनमै सुरु हुने स्थानीय सरकारले जनाएका छन् । नरैनापुर गाउँपालिकाले भूमिहिन, दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्यविधि २०७७ अनुसार गाउँपालिकाको कार्यपालिका बैठकले इकाई कार्यालय स्थापना गर्दै कार्य अगाडि बढाउने निर्णय गरेको छ । अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले चालू आर्थिक बर्षको पारित बार्षिक बजेटबाट इकाई कार्यालयका लागि २५ लाख रुपैयाँ छुट्ट्याउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए । सरकारी जग्गा खोजी तथा संरक्षण शिर्षकको १० लाख, अध्यक्षको सिफारिसमा कार्यान्वयन हुने योजना तथा आयोजना शिर्षकको १० लाख र उपाध्यक्षको सिफारिसमा कार्यान्वयन हुने योजना तथा आयोजना शिर्षकको ५ लाख रुपैयाँ छुट्याई हिउँदे गाउँसभाबाट अनुमोदन गराई पारित गर्ने गरी व्यवस्थापन गर्ने निर्णय भएको शाहीले जनाए ।
त्यस्तै कोहलपुर नगरपालिकाले मंसिर २८ गते भूमिहीनको लागत संकलन तथा प्रमाणीकरणका लागी भूमी आयोगसँग कार्य सम्झौता गरेको कोहलपुर नगरपालिकाले शुक्रबार लागत संकलन ईकाई कार्यालय सञ्चालमा ल्याएको छ। ईकाईले नगरपालिका भित्रका भूमिहीन तथा सुकुम्बासी, अव्यवस्थित बसोबासीको लागत संकलन कार्य गर्ने छ । शाखा अधिकृत बिरबहादुर विकको नेतृत्वमा कर्मचारीलाई कामको जिम्मेवारी दिईएको छ । शुक्रबार नै भूमी सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देबी ज्ञवालीलले सो कार्यलयको उद्घाटन गरेका थिए । अध्यक्ष ज्ञवालीले देशभर आयोगको उत्साहजनक तवरले अगाडी बढि रहेको बताए । आफ्नो नेतृत्वमा गठित आयोग अन्तिम आयोग हुने भन्दै अध्यक्ष ज्ञवालीले सबै खाले भुमि समस्याका समाधान गर्ने दबि गरेका थिए । कोहलुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी थारुले कोहलपुर क्षेत्रका भूमिहीन तथा अव्यवस्थित बसोबासीले जग्गा धनि प्रमाण पूर्जा पाउने विश्वास व्यक्त गरिन् । उनले यस पटकको अयोग अघिल्लो आयोग बन्न नहुने बताएका छिन् । कार्यक्रमा विभिन्न राजनैतिक दलका नेता, वडा अध्यक्ष , विभिन्न संघरसंस्थाका प्रतिनिधिहरुको सहभागिता हरेको थियो ।