नेपालगन्ज— जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनबिरुद्ध आन्दोलनमा उत्रिएको छ । त्यही अनुसार मुलुकका विभिन्न शहरमा प्रदर्शन गरिएको छ । जसपा बाँकेले बुधबार नेपालगन्जमा बिरोध प्रदर्शन गरेको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनको घोषणा गरेको जसपाका नेता तथा पूर्वमन्त्री ईस्तियाक राईले जनाए । उनका अनुसार पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाण्डौमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय पार्टीले गरेको छ । साथै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै बैठक सुरू गर्न सभामुख अग्नी सापकोटालाई आग्रह गर्ने निर्णय गरिएको छ ।