मनको लकडाउन – Dastabej

मनको लकडाउन

मैले फेसबुक स्क्रोल नगरेर मेसेन्जर अन गरें । दिमाग जता पुर्याए पनि उसको नाममा हरियो बत्ती बलेको र नबलेको कुरिबस्थें । ध्यानमा रहँदा पनि त्यही हरियो बत्ती देख्न थालेको थिएँ । उसले समय दिएन । अरू बेला ‘यो नभए के भो र ? यो को हो र ?’ भनेर चहारिरहने मन कतै शुन्यमा अडिएजस्तो भयो ।


  • सिमाना पौडेल

  • ‘भिडियो कल’ नभएको धेरै दिन भएको थियो । फोनमा देशको आर्थिक अवस्थादेखि मेरो भविष्यसम्मको कुरा हुन्थ्यो । कहिले सीमा मिचेको कुरा, कहिले अवचेतनमा जरा गाडेको जातियताले निम्त्याएको घटना, कहिले भोकले रन्थनिएको पीडा, कहिले सम्झनाका फूलहरू साटासाट त कहिले कोरानाले दिएको छटपटी आदानप्रदान ।

    अनि कहिले मेरो दिमागको न्युरोसिसहरूबारे कुराकानी, कहिले उसको दिमागको न्युरोन्सको विश्लेषण । यस्तैयस्तै ।

    त्यो दिन पनि उसको ‘भिडियो कल’ भएन । ऊ अनलाइन झुलुक्क आयो, हरायो ।

    मैले फेसबुक स्क्रोल नगरेर मेसेन्जर अन गरें । दिमाग जता पुर्याए पनि उसको नाममा हरियो बत्ती बलेको र नबलेको कुरिबस्थें । ध्यानमा रहँदा पनि त्यही हरियो बत्ती देख्न थालेको थिएँ । उसले समय दिएन । अरू बेला ‘यो नभए के भो र ? यो को हो र ?’ भनेर चहारिरहने मन कतै शुन्यमा अडिएजस्तो भयो । विचार, मन सबै उसैमा गएर समर्पित भएपछि आँखा पनि टक्क अडिरहन सक्दोरहेछ । यही हो, मेरो वर्षाैदेखिको खोज (यो गहिरो महसुस भयो) ।

    धेरै दिन कुरा भएन ।

    मन भड्कनुपर्थ्यो, भड्किएन । भड्काउन आफैंले कोसिस गरें । कति पुराना साथीहरूसँग हाइहेल्लो गरें । अहँ कतै मन अडिएन ।

    प्रेममा समर्पण कसरी हुने रहेछ ? कसरी अडिने रहेछ मन ? कसरी बाँधिदो रहेछ मन ? प्रेममा पर्नु मन आफैं सम्हालिनु रहेछ । डुलि हिँड्ने मनले ठेगाना पाएको छ ।

    उसलाई म्यासेज पठाएँ– मलाई छोडेर जति वर्ष टाढा भए पनि कुरेर बस्ने बानी लागेको छ । कुरिरहनुको आनन्द भेट्नु जत्तिकै हुने रहेछ । तिमीलाई नभेटेको भए, मैले यो कुरा कहाँ थाहा पाउँथे ?

    अचेल फेसबुकमा यति धेरै नयाँ कुरा आउँछन् कि सबै क्लिक गरेर हेर्न साध्य हुँदैन । सबै राम्रा, सबै खुशी । दुखी देखेर दुःखी नहुन फेसबुक चलाउँछन् कि कसो ! यति धेरै मान्छेहरू खुशी देखिन्छन् कि खुशीकै अभाव देखिन्छ । त्यो अभावले तपाईंलाई चिथोर्न सक्छ । तपाईंको वास्तविकतामा व्यंग्य हानेर छियाछिया बनाउन सक्छन् ।

    फेसबुकभरि रेसिपी सिकाइरहने ‘नवआगन्तुक सेफ’हरूको अनुहार कतै तपाईंको घनिष्ठ साथी पर्न सक्छ । दाल र भात मात्रै खाइरहेको तपाईं आफैंलाई धिक्कार्नुहुन्छ । केही गर्न नसकेकोमा गहिरो सास फेर्नुहुन्छ । उता नवसेफहरू राम्रो फोटो फेसबुकमा पोस्टाएर मुख बिगार्दै युट्युब सराप्दै खान थाल्छन् (जसको बारेमा तपाईंलाई आजसम्म पत्तो छैन) ।

    दिक्दार भएर फेसबुक बन्द गर्नुहुन्छ । किताब समात्नुहुन्छ । दिमागमा राष्ट्रपतिले बिछ्याएको कार्पेटको सम्झना आउँछ । कोरोना नियन्त्रणमा खर्च भएको रु.१० अर्बको सम्झना आउँछ । टाढा रहेका आमाबुबा, साथीभाई सम्झनामा आउँछन् । किताबका अक्षरभन्दा बढी संकटापन्न भविष्यको चित्र मनभरि छाउँछ । पुस्तक बन्द गर्नुहुन्छ । मन कसरी ‘लक’ गर्ने ? लकडाउन हुँदैमा मान्छेका दुख कहाँ लकडाउनमा रहन्छन् ? मन कहाँ ‘लक’ हुन्छ ?

    म के चाहन्छु ?

    खुशी ।

    कसरी ?

    हामी यति धेरै बाहिरी जिन्दगीमा रूमल्लिएका छौँ कि खुशी वस्तुप्राप्ति, सफलताप्राप्ति । अर्थात् भौतिक सुविधा प्राप्तिमा देख्न थाल्यौं । अरूको दुख, छट्पटी, असफलतामा देख्न थाल्यौं । आफ्नोभन्दा ठूलो घर कसैले बनायो भने आफैं दुख्न थाल्यौं । आफ्नोभन्दा सानो घर देखेर मन रमाउन थाल्यो । मनको ढाँचा अरूसँग तुलना गरेर खुशी र दुखी हुने भएको छ । तुलनात्मक खुशीमा अल्झिरहेका छौं । यो नशाजस्तै हँदोरहेछ । यो रहर जस्तै ‘मिराज’ रहेछ । कहिल्यै नसकिने, कहिल्यै पूरा नहुने ।

    वास्तविक आनन्द, वास्तविक खुशीले तुलना रूचाउँदैन, प्रेमले जस्तै ।

    हरेकलाई आफ्नो प्रेम संसारकै उच्च लाग्छ । आफ्नो प्रेमले जति अरूको प्रेमले आकर्षित गर्दैन । प्रेमको स्वभाव सधैं अन्तरमुखी हुन्छ । हृदयको गहिराइमा मात्रै प्रेम भेटिन्छ । बाहिरी दुनियाँलाई विर्सने बित्तिकै प्रेमले पूर्णता पाउँछ । प्रेम पनि मनभित्र पस्ने साधन हो (केही हदसम्म) ।

    प्रेम मोहले बेरिरहेको बेला तनाव हुन्छ । गुनासाहरू हुन्छन् । छट्पटी हुन्छ । प्रेम अनाशक्त भएर गरिएको खण्डमा भवसागरबाट पार मिल्छ (पछि भनम्ला यसबारे ) ।

    हामीबीच कुरा हुन विस्तारै कम भयो । बोल्न जरूरी नलागेपछि फोनबाटै सुनिने धड्कन र सासहरू बोल्न थाल्दा रहेछन् । हामीले बोलेर आफ्ना छट्पटी मात्रै बताएका थियौं । प्रेम कहिल्यै गरेका रहेनछौ ।

    जुन राष्ट्रमा जन्मिन्छौ, त्यो राष्ट्रप्रति जिम्मेवारी हुन्छन् । सचेत नागरिकको भूमिका वहन गर्नपर्ने हुन्छ ।

    तिमारू कता गएर आएका ?

    माइतीघर ।

    किन ?

    उसले मलाई ‘१० अर्ब खै ?’ लेखिएको पम्प्लेट देखाई ।

    मैले सरकारलाई प्रश्न गर्नुपर्थ्यो । म पनि सडकमा अरूलाई साथ दिनुपर्थ्यो । त्यसो नगरेकोमा अपराधबोध भइराख्यो ।

    म भोली माईतीघर जान्छु । त्यहाँ विरोध प्रदर्शन गर्दैछन् । सचेत नागरिकको भूमिका खेल्न पर्याे नि !

    हुन्छ ।

    म साथीलाई भोलि आउँछु भनेर म्यासेज टाइप गरिरहेको थिएँ ।

    सरकारलाई यो बेला घरभित्रै बसेर सहयोग गर्ने हो । एकजनाले गर्दा कोरोना फैलियो भने ? कोरोनाले लगेको सन्तानलाई सम्झिनुको पीडा । भेट भयो भनेर रमाइरहँदा महिनौं क्वारेन्टाइनमा बस्नुको पीडा । कोरोनालाई जितेको खुशी । अनि कोरोना लाग्दाको छट्पटी र पीडा केही थाहा छैन हामीलाई । यसरी अन्धाधुन्ध विरोध गर्ने सही समय होइन यो । हिसाब माग्दै गरौँला । तर हाम्रो कारण टोलमा संक्रमण फैलियो भने… ?

    मैले कहाँ यति सोच्न भ्याउनु ?

    पानीको फोहोराले भीड तितरबितर बनाउने, छ महिना जेल हाल्ने अनि छसय रूपैयाँ जरिवाना रहेछ । हामी जेल पर्याै भने… यो बेला साथ दिने को छ ? को बोल्छ हाम्रो पक्षमा ? कुनै न कुनै गुटमा रहनुपर्छ विरोध गर्न पनि । नत्र विरोधको स्वर जेलभित्र छ महिना थन्कन्छ ।

    म भोलि जान नपाउने निश्चित भयो । सरी साथी ! मैले यस्तो समयमा साथ दिन सकिनँ । प्रश्न गर्न सडकमै उत्रने सही समय होइन यो ।

    भोलि म आफैँ भिडियो कल गर्छु । सधैं बोलिरहन जरूरी छैन ।

    म्यासेन्जरका अक्षरहरू आँखा च्यातीच्याती पढ्छु । उसोभे खाली म्यासेज पठाउनुपर्याे ।

    अहँ । म्यासेन्जर र अहिलेको एन्ड्रोइड फोनलाई मौनताको भाषा थाहा छैन ।

    उबेला नोकियामा नजानेरै खालीखाली म्यासेजका बक्सहरू आमाबाट छोरीसम्म पुग्थ्यो । छोरी मुसुक्क मुस्कुराउँथी ।

    आमा म्यासेज पठाउन सिक्दै हुनुहुन्छ ।

    आमा खाली म्यासेजका बक्समा सम्झना र मायाका कोसेलीहरू पठाउँथिन् । छोरी खोल्थी र मुस्कुराउँथी ।

    मेरो मन चन्चल भइरहेछ ।

    भेट्न मन लागेर होला ।

    म उसको उत्तर सुनेको नसुन्यै गरिदिन्छु ।

    भेट्न आऊँ ?

    भो, पर्दैन । कोरोनाको डर छ ।

    मान्छे खान नपाएर मरेका छन् । छट्पटीका कारण आत्महत्या गरेका छन् ।

    मर्न मन छ ?

    सँगै ।

    दुबैको मन एउटै बिन्दुमा ‘लक’ भयो भने त्यहाँ प्रेम हुन्छ (दुईवटा खोज्नु अर्थात जोडी खोजिहिँड्नु रोग हो । मानसिक रूपमा विचलित हुनु हो । खोजेकै समयमा नभेटिन सक्छ । तनाव किन बढाइरहनु ? अरूमा खुशी अडिएको देख्नु आफूलाई नचिन्नु हो । अज्ञानी बन्नु हो) ।

    डुलिहिँड्ने मनलाई ठाउँमा ल्याउन प्रेमको पिजँडा चाहिन्छ । त्यो हो, आफैंप्रतिको प्रेम । मनलाई ‘लक’ गर्न अर्को सजिलो उपाय हो, आफ्नो रूचीमा रमाउनु । आफ्नै कर्ममा रमाउनु (गीताको सार– कर्म गर, फलको आश नगर) ।

    यो पढेपछि उसले पक्कै भन्नेछ– आफैंमा रमाउने मान्छेले मसँग भिडियो कल भएन भनेर किन लेखिरहनु ? यो आफैँमा गुनासो र विरोधाभाष भएन ?

    तिमीसँग पुगेर रोकिएको मनलाई फेरि मेरै ठेगानामा पठाईदिनु । म आफ्नै घर बनाउँदैछु मेरो मनको लागि । जग खन्दैछु ।

    धर्मले मान्छेलाई अन्धो बनाउँछ । तिमी धार्मिक नहुनू ।

    धर्मले प्रश्न वर्जित गरेको छ । म कहाँ अटाउँछु ?

    अध्यात्म पनि पिजँडा हो ।

    कसरी ?

    धेरै प्रश्न नगर्नू । अर्काेपालि बताउँछु । सकेसम्म शान्त रहने प्रयास गर्नू (र यी कुराकानीपछि मन केहीबेर निःशब्द रहन्छ । सोचाइमा एकरुपता आउँदैन, खण्डित हुन्छु) ।

    भवतु सब्बः मंगलम् !!!

  • २ कार्तिक २०७७, आईतवार २०:०१ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ