नयाँ कार्य सुरु गर्ने सोचमा हुनुहुन्छ भने चाणक्य नीतिका यी विषय अनुसरण गर्नु उपर्युक्त हुन्छ किनभने कुनै पनि नयाँ काम सुरुवात् गर्नुअघि मानिसहरु पटक पटक गरौँ कि नगरौँ कि ? भन्ने दोधारमा पुग्छन् । तर चाणक्यका यी नीति अनुसरण गर्दा भने सहज हुने शास्त्रीय मान्यता छ ।
१) नयाँ काम गर्नुपूर्व तीन सोच राख्नुहोस् : कुनै पनि नयाँ काम शुरु गर्नुअघि मनमा यी कुरा मनन गर्नुहोस् । काम शुरु गर्ने समय र स्थान, उपलब्ध सम्पत्ति र समर्थन गर्ने मानिसहरू ।
२) क्षमताको आँकलन– काम गर्ने आफ्नो क्षमता छ कि छैन, त्यसको लेखाजोखा गर्नुपर्छ । अन्यथा खतरामा पर्न सकिन्छ ।
३ ) बोलीमा नियन्त्रण – भनिन्छ जिब्रोको गरिमा मीठो बोलीमा । व्यक्तिको सफलता र असफलतामा बोलीको पनि महत्वपूर्ण स्थान रहन्छ । मीठो, मधुर बोली नै हरेकको पहिचान हो । रुखो बोल्नेसँग कोही पनि निकट हुन्नन् ।
४ ) शरीरको हेरविचार– शरीर भगवानको सबैभन्दा ठूलो उपहार हो । धनसम्पत्ति नाश भए फेरि आउँछ तर शरीर नै नभए केही रहन्न । त्यसैले कुनै नयाँ काम शुरु गर्नुअघि आफ्नो शरीरको अवस्था, स्वास्थ्य सबै विचार गर्नुपर्छ ।
५ ) ज्योतिषीसँग परामर्श– कुनै नयाँ काम शुरु गर्नुअघि विज्ञ ज्योतिषीसँग सल्लाह लिनाले ग्रहदशाको अवस्था र आउने बाधाबारे पनि जानकारी मिल्छ ।
६) घरपरिवारसँग सल्लाह– विवाहअघि आफ्ना घरपरिवारसँग र विवाहपछि पत्नीसँग सल्लाह गरी काम गरेमा भैपरी आउने समस्या समाधानमा सहज हुन्छ ।
७) अशिष्ट पनि बन्नुपर्छ– सफल हुनका लागि कहिलेकाँही कडा निर्णय पनि लिनुपर्ने हुन्छ । निर्णय लिनका लागि कसैप्रति अशिष्ट व्यवहार गर्नुप–यो भने पनि पछि पर्नुहुन्न ।
८) रहस्य लुकाउनुस्– काम शुरु गर्नुअघि आफ्ना गोप्य योजनाहरु अरुलाई नभनेकै राम्रो मानिन्छ ।