बर्दिया—औपचारिक कार्यक्रममा सधैजसो कालो कोटको पहिरन । कार्यालय कोठा अगाडि र कुर्ची अगाडिको टेबुलमाथि उपाध्यक्ष लेखिएको नेमप्लेट । यहाँसम्मको यात्रा तय गर्न उनका लागि कम्ति चुनुौती झेल्नु परेन । तर निरन्तरको संघर्ष, त्याग र हिम्मतले हिमाकुमारी थरुनी गेरुवा गाउँपालिकाको उपप्रमुख बन्न सफल भएकी छन् । उपाध्यक्षसम्मको यात्रा गर्दा धेरैथोक खुसी गुमाएकी छन् । अनेकथरी कुराको पछाडि लागेर श्रीमानले अर्को विवाह गरेर छोडेको कम्ति पीडा थिएन । समुदायले चरित्रमाथि प्रश्न उठाउँदा मन नपोल्ने कुरै भएन । तर पनि सधै आफ्नो लक्ष्यमा अडिग रहिन । यही संघर्षले उनी ईतिहास रच्ने अवसर पाईन । थरुनी भएर पनि पहिलो महिला उपाध्यक्ष भएकी छ । ‘मलाई जति दुःख र पीडा भएपनि कहिलै रोईन । जति कुरा काटे पनि पछाडि फर्केर हेरीन,’ गेरुवा गाउँपालिकाको कार्यालयमा भटिएकी उनले सफलताको राज सुनाईन,‘घरबाट कुनै सहयोग पाएन । श्रीमानले पनि छोड्नु भो । पीडैपीडामा संघर्ष गर्दा आज यो अवस्थामा पुगेको छु ।’
श्रीमानबाट सहयोग नपाएकी उनलाई माईती पक्षले भने निकै सहयोग गरेका थिए । उनका बुबा योगेश चौधरी ०५६ सालको निर्वाचनमा गोला गाविसको उपाध्यक्षमा जितेका थिए । माईती छँदै घरमा का“ग्रेसका ठूला नेताहरुको जमघट हुन्थ्यो । बैठक हुँदा कुरा सुन्थिन । बुबाले राजनीति गर्नु पर्छ भनेर सुझाव दिन्थे । तर विवाह भएपछि उनी परिवारीक बन्धनमा बाँधिन । जग्गाजमिन थिएन । काममा जोतिनु प¥थ्यो । भेलाबैठकमा जान रोक लगाइयो । रातबिरात घर पुग्दा गाली खानु र कुटपीट हुनु समान्य थियो । तर पनि उनी हरेश खाईनन् । सामाजिक सेवामा निरन्तर लागिरहीन । १० कक्षा पास गरेकी उनी महिला स्वयंसेविका बनेपछि राजनीतिक यात्रा गर्न केही सहज भयो । उनी निरन्तर २२ वर्षसम्म स्वयंसेविका भएर सेवा गरिन । त्यससंगै एक संस्थामा स्वयंसेवी भएर गाउँगाउँमा पुगिन । ‘यसरी स्वयंसेवीरुपमा काम गर्दा यो संग गईस । त्योसंग हिडिस भने गाउँमा कुरा काट्थे । घरबाटै सहयोग नपाएपछि अरुले त भन्ने नै भए,’ उनी विगत खोलिन,‘म त्यस्ता नचाहिने कुराको पछाडि लागेको भए यो अवस्थामा पुग्ने थिएन । सफलताको राज यही हो ।’ यस्तै नकारात्मक कुराका पछाडि लागेर नै श्रीमानले दोस्रो विहे गरे । १६ वर्षअघि श्रीमानले छोड्दा दुई नाबालक छोरा थिए । उनीहरुको पालनपोषणका लागि निकै संघर्ष गर्नुप¥यो । त्यसलगत्तै सशस्त्र युद्धमा होमिएका माओवादीको निशानामा परीन । कांग्रेसको राजनीति गरेको आरोप लाग्यो । दुई छोरा बोकेर सदरमुकाम गुलरिया भागिन । त्यही डेरा लिएर छोरा पढाउन थालिन । मुक्त कमैया परिवारबाट सिलाईकटाई तालिम पाएकी उनले त्यही पेशा रोजिन । भूमि सुधार कार्यालयले कमैया महिलाका लागि सिलाईकटाई तालिम चलाएपछि प्रशिक्षक बनिन् । ‘माओवादीको तारोमा परेपछि २०५८ सालमा गाउ“बाट भागेर गुलरिया पुगे । तालिम दिएर दुई छोरालाई पढाए । एउटा नेपाली सेनामा भर्ना भएको छ । अर्को कामका लागि बिदेश आउनेजाने गर्छ,’ उनले भनिन्,‘मैले गरेको संघर्ष बारे भनेर साध्य छैन । तर लक्ष्यसम्म पुग्न पाएकोमा हाल खुसी छ ।’
शान्ति पुर्नबहाली भएपछि २०६४ मा गाउँफर्केकी हुन । त्यसयता निरन्तर स्थानीयका घरदैलोमा पुग्थिन । सामाजिक काममा खटिरहीन । पालिकाको निर्वाचन नजिकिदै गएपछि पालिका प्रमुखको दाबी गरीन । हाल उनी कांग्रेसको महासमिति सदस्य पनि हुन । ‘मैले चाही अध्यक्षको टिकट किन नपाउने । सबै योग्यता पुग्छ भन्दै टेबुल ठोकियो । तर पार्टीले उपाध्यक्षमा दियो,’ हिमाले भनिन्,‘प्रमुख हुन अझै मन छ । पार्टी र जनताजर्नादनले विश्वास गरे पक्कै पनि प्रमुख हुने छु ।’ पहिले कुरा काट्नेहरु उनलाई नमस्कार गर्छन । मुखमा राम्रोसंग हेर्न सक्दैनन् ।