नेपालगन्ज— कोरोना केही होईन । समान्य रुघाखोकीजस्तै हो । औषधि पनि खानु पर्दैन त्यसै ठिक हुन्छ । १४ दिन आईसोलेसन बसाईपछि घर फर्किएका अधिकांशले सामाजिक सन्जालमा पोष्ट गर्ने यस्ता सन्देशले सर्वसाधारणहरुमा भ्रम सृजना गरेको छ । यस्तो सन्देशले कोरोनाबिरुद्ध अपनाउनु पर्ने सतर्कतामा पनि कमी आएको छ । ‘बाहिर फैलाईएको अफवाहजस्तो कोरोना भाइरस कमजोर होईन । ज्यान पनि लिन सक्छ,’ कोरोना संक्रमितहरुमा उपचारमा प्रत्यक्ष खटिने क्रममा आफै संक्रमित हुन पुगेका भेरी अस्पताल नेपालगन्जका कोरोना स्रोत व्यक्ति फिजिसीयन डा. संकेत रिसाल भन्छन्,‘कोरोना भाइरसको आक्रमण मैले आफै झेले । यो चानचुने होईन रहेछ ।’ कोरोना संक्रमितहरुको उपचारमा खटिएका उनलाई दुई साताअघि एक्कासी उच्च ज्वरोले च्याप्यो । सहनै नसक्ने गरी टाउको दुख्यो । ज्वरो नियन्त्रण नभएपछि पीसीआर परीक्षण गराए । ल्याबले कोरोना संक्रमण पुष्टि ग¥यो । तीन दिनसम्म ज्वरोले छोडेन् । जिब्रोमा बिमरा आए । शरीर दुखेर काठियो । स्वाँस लिन समस्या भयो । दुई साताको पीडापछि उनी कोरोना जित्न सफल भई फेरि पनि कोरोना संक्रमितहरुको उपचारमा खटिएका छन् । अस्पतालकै आइसोलेसनमा १४ दिन बसे । ‘मान्छेहरु अझै पनि कोरोना भाइरसको संक्रमणलाई मजाकका रुपमा लिइरहेका छन् । यो समान्य हुँदैहोईन । सबै गम्भीर बनेमात्रै कोरोनासंग लड्न सकिन्छ,’ डा. रिसाल भन्छन्,‘आइसोलेसनबाट फर्किएपछि कोरोनाबिरुद्ध अफवाह फैलाउने काम भइरहेको छ । यसले आम मानिसहरुलाई गलत सन्देश दिइरहेको छ ।’ खासगरी लक्षण नदेखिएका संक्रमितहरुबाट गलत सन्देश प्रवाह भइरहेको उनको बुझाई छ । कोरोना भाइरस कम लोड हु“दा केही व्यक्तिमा त्यसको लक्षण नदेखिन सक्छ । तर लक्षण देखिएका संक्रमितहरुको अवस्था जटिल हुनसक्छ । डा. संकेतसंगै भेरी अस्पतालमै कार्यरत उनकी श्रीमति डा.उर्मिला रिसाललाई पनि कोरोना संक्रमण देखिएको थियो । ‘रोगलाई पनि हामीले मजाक लिन थालेपछि अवस्था गम्भीर बन्दै गएको हो,’ उनले भने ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाआफै पनि संक्रमित भए । उनले जटिल अवस्थाका कोरोनका विरामीका लागि प्लाज्मा दान गरिसकेका छन् । संक्रमण निको भएपछि उनी फेरि पनि विरामीको सेवामा खटिएका छन् । भरतपुर अस्पतालका हाल प्रमुख तथा भेरी अस्पतालका पुर्ब प्रमुख कन्सलटेन्ट तथा मेडिकल विभाग प्रमुख फिजिसीयन डा. राजन पाण्डे पनि भेरी अस्पतालमै कार्यरत हुँदा संक्रमित भएका थिए । १४ दिनको आइसोलेसन बसाईपछि उनी निको भएर उपचारमा खटिएका छन् । उनका अनुसार कोरोना भाइरस बारे समुदायमा गलत सन्देश प्रवाह हुँदा सर्वसाधारणहरु सर्तकता अपनाउन छोडेका छन् । ‘विश्वका विकसित मुलुकहरु कोरोनाको महामारीले आक्रन्त बनेका छन् । तर हामी कहाँ सबैजसो आफै डाक्टर भएर कोरोना बारे आफ्नो धारणा राखिरहेका छन्,’ उनले भने,‘स्वास्थ्य मन्त्रालयले घोषणा गर्ने काम हामीले गरिरहेका छौँ । यसले कोरोनाको महामारीलाई थप मलजल पुगिरहेको छ ।’ उनले कोरोना भाइरस बारे सन्देश प्रवाह गर्नेलाई कारवाहीको माग गरे । ‘कोरोना भाइरस बारे अफवाह फैलाउनेलाई कानुनी कारवाहीमा ल्याउनै पर्छ,’ उनले भने । भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु कोरोनाबाट संक्रमित हुने क्रम जारी छ । ‘कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेका बेला गलत प्रचारप्रसार गर्नेलाई कारवाही गर्नुपर्छ,’ डा. पाण्डे भन्छन्,‘एक जनाको मृत्यु भयो भने उसको परिवारका लागि कम्ति क्षति पुग्छ ।’ उनले कोरोना भाइरस केही होईन भन्नेहरुलाई आईसोलेसनमा रहेका विरामीहरुको अवस्था हेर्न आग्रह गरे ।
त्यस्तै शिक्षण अस्पताल नेपालगन्जका चार चिकित्सक र स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण देखिने क्रम जारी छ । उक्त अस्पतालमा एक सय शैयाको कोरोना बिशेष अस्पताल बनाइएको छ । अस्पतालमा कार्यरत रहेका बेला कोरोनाबाट संक्रमित बालरोग बिशेषज्ञा डा. रोमा बोरले पछिल्लो समय कोरोना भाइरस बारे अनेक खाले हल्ला फिजिएको बताईन । उनले गलत हल्ला फैलिनु गलत रहेको बताईन । ‘मलाई कोरोना पुष्टि हुन ५ दिनअघि नै कोरोनाको लक्षण देखिन थालेको थिए । पीसीआर परीक्षणपछि पुष्टि भयो,’ उनले भनिन्,‘विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार नै कोरोनाको उपचार हुनुपर्छ । तर यो रोग नै होईन भन्ने हल्लाले गलत म्यासेज दिइरहेको छ ।’ कोरोनाको महामारी सुरु हुनुअघि समुदाय निकै सचेत देखिन्थ्यो । अधिकांशले मास्क लगाउथे । तर कोरोना भाइरस रुखाखोकीजस्तै समान्य रोग हो भन्दै हल्ला फिजिदै गएपछि सर्वसाधारणहरु सर्तकता अपनाउन छोडेका छन् । स्थानीय प्रशासनले मास्क नलगाउने व्यक्तिहरुलाई एक रुपैया“ कारवाही गर्दै आएपनि नियन्त्रण हुन सकेको छैन । लकडाउन खुलेपछि सर्वसाधारणहरुको एकै ठाउँमा बढी भिड हुने गरेको छ । बाँकेमा कोरोना संक्रमणबाट ३० जनाको मृत्यू भइसकेको छ । बाहिर जिल्लाबाट उपचारका लागि ल्याइएक १८ जनाको मृत्यु भइसकेको छ ।