दहचोकमा इन्द्रजात्रा मेला – Dastabej

दहचोकमा इन्द्रजात्रा मेला


  • दस्तावेज

  • काठमाडौँ । धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण चन्द्रागिरि नगरपालिका–१ दहचोकमा इन्द्रजात्रा मेला प्रारम्भ भएको छ । वर्षा एवं सहकालका देवता इन्द्रको पूजा हुने जात्राका रुपमा लिइने इन्द्रजात्रा आइतबार साँझ दीप प्रज्ज्वलन गरी प्रारम्भ गरिए पनि आज भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रदह स्नान मेला लागेको छ ।

    हरेक वर्ष दहचोक मेलाका लागि आयोजक समिति गठन गरेर व्यवस्थापन गरिँदै आए पनि यस वर्ष कोरोनाका कारण भक्तजनको न्यून सहभागिता रहेको चन्द्रागिरि नगरपालिका–१ का वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो । दहचोक १०० गन्तव्यस्थलभित्रको इन्द्रदह/काजी कालु पाण्डे समाधिस्थल क्षेत्रमा परापूर्वकालदेखि भाद्र शुक्ल पूर्णिमाका दिन मनाइँदै आएको छ । इन्द्रजात्रा/इन्द्र दह स्नान मेलामा कोरोना भाइरसको सङ्क्रमणका कारण भक्तजनको उपस्थिति न्यून रहेको उहाँले बताउनुभयो ।

    प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको दिन इन्द्रदह स्नानका लागि भक्तजनको घुइँचो लाग्छ । अहिले उक्त क्षेत्रमा विभिन्न भौतिक संरचना निर्माण गरिएको छ । करिब २०० रोपनीे क्षेत्रफलमा फैलिएको सांस्कृतिक महत्वको इन्द्रदह परिसरलाई पवित्र तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार, भ्यूटावर, बहुउद्देश्यीय भवनलगायत निर्माण गरिएको छ ।

    काठमाडौँको कलङ्कीदेखि पाँच किलोमिटर उत्तरपश्चिममा अवस्थित दहचोक प्राकृतिक सौन्दर्यका दृष्टिकोणले रमणीय र आकर्षकस्थल मानिन्छ । यहाँबाट काठमाडौँ उपत्यका एकसाथ अवलोकन गर्न सकिन्छ । सो क्षेत्रमा पौराणिक, ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेका स्थान थुप्रै छन् । दहचोकस्थित इन्द्रदह, मनकामना मन्दिर, कालु पाण्डेको समाधिस्थल, ओढारलगायत पर्यटकीयस्थल प्रमुख आकर्षण मानिन्छन् ।

    दहचोकस्थित कालु पाण्डेको समाधिस्थल ऐतिहासिकतामा आधारित महत्वपूर्णस्थल हो । सो स्थल दहचोकको सबैभन्दा अग्लो भाग छ । पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गर्दा वीरगति प्राप्त गरेका पाण्डेले मृत्युपर्यन्त गोरखा देखिने स्थानमा आफ्नो टाउको राख्नू भन्ने इच्छा गरेअनुरुप उहाँको समाधि बनाइएको बताइन्छ । दहचोकको इन्द्रदहमा स्नान गर्नाले जस्तोसुकै रोग पनि निको हुन्छ भन्ने जनविश्वास छ । सत्ययुगमा स्वर्गका राजा इन्द्र आएर सुनको मौलामा हात्ती बाँधी इन्द्रदहमा स्नान गरेको जनविश्वास छ । दहचोक डाँडाबाट उत्तरतर्फ नीलगिरि, धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, लाक्पादोर्जेलगायत हिमाल तथा गोरखा, नुवाकोट, रसुवा, धादिङ र काठमाडाँै उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । (रासस)

  • ४ आश्विन २०७८, सोमबार १६:३८ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश