आधाले घट्यो चिडियाखानाको आम्दानी – Dastabej

आधाले घट्यो चिडियाखानाको आम्दानी


  • दस्तावेज

  • काठमाडौँ, (रासस) कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेको सदर चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ ।

    कोरोना महामारीका कारण मानिसहरु घुम्न ननिस्किँदा ललितपुरको जावलाखेलस्थित चिडियाखानाको आम्दानी आधाले घटेको छ । कोभिड–१९ सुरु हुनुभन्दा पहिलेको वर्षमा वार्षिक रु १५ करोडसम्म आम्दानी हुने गरेकामा गत आर्थिक वर्षमा रु सात करोड मात्र आम्दानी भएको चिडियाखानाको सूचना अधिकारी लिना चालिसेले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “पहिले मानिस उत्साहका साथ अवलोकन गर्न आउथे । हाल त्यो अवस्था छैन । अहिले दैनिक ५०० मानिस मात्र आउँछन् । कोरोना अघि दुई हजार ५०० सम्म आउने गरेका थिए ।” उहाँका अनुसार पहिलो पटक लकडाउन हुँदा आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको थियो । लामो समय बन्द रहँदा खर्च व्यवस्थापनमै समस्या आएपछि कोरोनाको जोखिमकै बीच स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई चिडियाखाना अवलोकन गर्ने व्यवस्था गरिएको हो । सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने छ भने जनावरलाई खुवाउन, छुन पाइने छैन । यसअघिझै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि खुला गरिएको छ ।

    हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

    चिडियाखाना अवलोकनका गर्न विदेशीको लागि रु एक हजार तथा सार्क राष्ट्रका नागरिकका लागि रु ५०० र नेपालीलाई रु २०० शुल्क तोकिएको छ । यसैगरी चिडियाखानाले नेपाली विद्यार्थीका लागि रु १३५ र ज्येष्ठ नागरिकका लागि रु १०० शुल्क लिँदै आएको छ । वार्षिक ११ लाख दर्शकसम्म अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ करोडसम्मको कारोबार हुने गरेको थियो । प्रवेश शुल्कबाट आएको आम्दानीले नै कर्मचारी र जनावरलाई खाना खुवाउने कामको व्यवस्थापन गर्दै आएको छ ।

    चिडियाखाना व्यवस्थापनका अनुसार बन्द हुनुअघि हरेक दिन तीन हजार अवलोकनकर्ता चिडियाखाना अवलोकनका लागि आउने गरेका थिए । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यसलाई निजी चिडियाखानाको रूपमा स्थापना गरेका थिए । विसं २०११ बाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो । सोहीअनुरुप कोषले व्यवस्थापन गर्दै आएको छ ।

  • ५ आश्विन २०७८, मंगलवार २१:३१ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश