बाँके— चाडपर्व नजिकिदै गर्दा भारतबाट मजदुरी गरी घर फर्किने नेपालीहरुको लार्को लाग्न थालेको छ ।
दसै र तीहारको मुखमा नेपालगन्ज नाका भएर नेपालीहरु धमाधम घर फर्किरहेका छन् । आर्थिक अवस्था कमजोर भएका कर्णाली र लुम्बिनी प्रदेश जिल्लाका हजारौ नेपाली भारतको सिमला, कालापहाड लगायतका क्षेत्र मजदुरी गर्न जाने गरेका हुन ।
चाडपर्व मनाउन भारतबाट मजदुरी गरी दैनिक करिव पाँच सय नेपाली घर फर्किरहेको सीमास्थित जमुनाहा प्रहरी कार्यालयले जनाएको छ ।
वर्ष दिनको चाडपर्व परिवारसंग बसेर मनाउन घर फिर्ता भएका हुन । ‘चाडपर्वमा बिदा मिलाएर घर फर्किएको छु,’ सिमलाबाट मजदुरी गरी बिहिबार नेपालगन्ज हुँदै घर फर्किका सल्यानका सुमन रावतले भने,‘परिवारसंग रमाईलो गर्ने सोंच बनाएको छु ।’
घरको खेतबारीले खाना नपुगेपछि नचाहेर पनि पैसा कमाउन भारत जाने गरेका हुन । उनले आफू जस्तै हजारौ नेपालीहरु भारतका विभिन्न स्थामा मजदुरी गरिरहेको बताए । सयौं नेपाली वर्षौदेखि घर नपर्किन नपाएको सुनिलको भनाई छ ।