लुम्बिनी — रूपन्देहीको तिलोत्तमा–४ स्थित भण्डारी रेस्टुरेन्ट रहेको घरमा दिनहुँ बाक्लो आवतजावत हुन्छ । रुवाबासी चल्छ । घरको दोस्रो तलास्थित कोठाका भित्तामा टाँगिएका तस्बिर हेरेर एक दम्पती आगन्तुकका सामुन्ने बिलौना गर्छन् । २७ वर्षीया सीता भण्डारी पौडेल गत भदौ २० को बिहान तिलोत्तमा–५ स्थित घरको कोठामा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । त्यसयता उनको माइतीमा रुवाबासी छ ।
रुपन्देहीको तिलोत्तमाकी २७ वर्षीया सीता भण्डारीको मृत्युको कारण पत्ता लगाउन माग गर्दै निकालेको जुलुसका सहभागी । तस्बिर : अमृता अनमोल/कान्तिपुर
बाबुआमा र भाइ सुरज सीतालाई सम्झिएर शोकमग्न छन् । न्याय नपाउन्जेल अन्त्येष्टि नगर्ने उनीहरूको अडानका कारण २२ दिनदेखि शव लुम्बिनी प्रादेशिक अस्पतालमा छ । घटनाको निष्पक्ष छानबिन माग गर्दै आफन्त र अधिकारकर्मीले प्रदर्शन गर्दै आएका छन् ।
पोस्टमार्टम रिपोर्टबाट आत्महत्या प्रमाणित भएको प्रहरीको दाबी छ । परिवारले पत्याएका छैनन् । सीताको दुई वर्षअघि तिलोत्तमा–५ का टीका पौडेलसँग विवाह भएको थियो । विवाहपछि उनीहरूले पाल्पाको तानसेनमा दी दरबार रिसोर्ट सञ्चालन गर्दै आएका थिए ।
तीजका लागि भदौ ६ मा माइत आएकी सीतालाई जेठाजुका छोराको जन्मदिन परेको भनी घरमा बोलाइएको थियो । भदौ १९ को दिउँसो उपहारसमेत किनेर सीता घर पुगिन् । भोलिपल्ट बिहान आफ्नो कोठामा चुन्नीको पासोमा झुन्डिएको अवस्थामा भेटिइन् ।
माइतीबाट फर्केकै दिन रहस्यमय मृत्यु
परिवारका अनुसार सीताका श्रीमान् टीका भदौ १९ को साँझ मदिरा सेवन गरी ससुराली पुगेका थिए । उनले सासू–ससुरालाई ‘सीता अब बितरा पर्ने भई’ भन्दै सुनाएका थिए ।
सीताका बाबु हरिप्रसाद भण्डारीलाई उनले भदौ २० को बिहान ‘जरुरी काम छ’ भनेर घरमा बोलाएका थिए । छोरीको घर पुग्दा ज्वाइँ–छोरी दुवै थिएनन् । सोधपुछ गर्दा मृत पाएको बताइएको थियो ।
‘छोरीको शव सिरानीको आडमा घोप्टिएको अवस्थामा थियो,’ हरिप्रसादले भने, ‘त्यसको जीउमा नीलडाम र मुखमा रगत देखिएको थियो ।’ शव भुइँमा घोप्टो पारेर राखिएको देखिनु, घरका अन्य सदस्यलाई सीताको मृत्युबारे थाहा नहुनु, मुखबाट रगत बगेकाले उनको आत्महत्या नभई हत्या भएको हरिप्रसादको दाबी छ । घटनापछि ज्वाइँले आफ्नी दिदीका कारण भएको आफूहरूलाई सुनाएको हरिप्रसादले बताए ।
सीताको मृत्युपश्चात् इलाका प्रहरी कार्यालय बुटवलमा श्रीमान् टीका, आमाजू विष्णु र जेठाजु हरिविरुद्ध आत्महत्या दुरुत्साहन प्रयास र ज्यानसम्बन्धी जाहेरी दर्ता भएको डीएसपी सत्यनारायण थापाले बताए । तीन जनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको उनले जानकारी दिए । घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोले पनि गर्दै छ । सीताका भाइ सुरजले सीआईबीले सकारात्मक नतिजा दिएमात्र शवको अन्त्येष्टि गर्ने बताए । ‘अब अन्तिम विश्वास सीआईबीकै हो,’ उनले भने । ईकान्तिपुरबाट ।