कसको प्रजनन दर कति ? एक मुस्लिम महिलाले २.६, हिन्दू महिलाले २.१ र जैनले १.२ बच्चा जन्माउँछिन – Dastabej

कसको प्रजनन दर कति ? एक मुस्लिम महिलाले २.६, हिन्दू महिलाले २.१ र जैनले १.२ बच्चा जन्माउँछिन


  • दस्तावेज

  • नेपालगन्ज ।  मुस्लिमहरूको प्रजनन दर अहिले पनि उच्च छ। सन् २०१५ को विवरणअनुसार एक मुस्लिम महिलाले २.६ बच्च जन्माउँछिन्।

    त्यसपछि हिन्दूहरूको प्रजनन दर उच्च छ। एक हिन्दू महिलाले २.१ बच्चा जन्माउने दर देखिएको छ।

    जैनको प्रजनन दर भने सबैभन्दा कम छ। एक जैन महिलाले बच्चा जन्माउने दर १.२ रहेको छ।

    उक्त अध्ययनअनुसार सन् १९९४ मा र अहिले प्रजनन दरको सामान्य स्वरूप उस्तै छ।

    त्यस बेला पनि मुस्लिमहरूको प्रजनन दर उच्च (४.४) थियो भने दोस्रोमा हिन्दूहरू (३.३) थिए।

     

    India people  तस्बिर स्रोत,AFP
    “तर बच्चा जन्माउने अन्तर भारतका धार्मिक समूहहरूमा सामान्यतया पहिलेको तुलनामा एकदमै झिनो छ,” उक्त अध्ययनले भनेको छ।

    अनि विगतका दशकहरूमा जनसाङ्ख्यिक वृद्धि हिन्दूको भन्दा अधिक देखिएका सीमान्त समूहहरूमा अहिले त्यस्तो वृद्धि निकै सुस्त भएको स्पष्ट देखिएको छ।

    धार्मिक अनुसन्धानमा विशेषज्ञता भएकी प्यू रिसर्च सेन्टरकी एक वरिष्ठ अनुसन्धाता स्टेफनी क्रेमरका अनुसार रोचक कुरा के हो भने मुस्लिमहरूमा एकै पुस्तामा २५ वर्ष मुनिका प्रतिमहिला दुई बच्चाको प्रजनन दरमा कमी आएको छ।

    भारतमा एक महिलाले बच्चा जन्माउने औसत दर सन् १९९० को आरम्भतिर ३.४ रहेकोमा सन् २०१५ मा घटेर २.२ भएको छ।

    उक्त दर मुस्लिमहरूमा ४.४ बाट घटेर २.६ भई अझ तीव्र बनेको देखिएको छ।

    साठी वर्षको समयमा भारतमा मुस्लिम जनसङ्ख्याको अंश चार प्रतिशतले बढेको र त्यत्तिकै सङ्ख्यामा हिन्दू जनसङ्ख्या घटेको देखिएको छ।

    अन्य समूह लगभग स्थिर देखिएका छन्।

    क्रेमर भन्छिन्, “जनसाङ्ख्यिक मात्राको यो सामान्य परिवर्तन हेरेर के भन्न सकिन्छ भने कम्तीमा केही अघिसम्म औसत भारतीय महिलाको तुलनामा मुस्लिम महिलाहरूका बच्चा अधिक भए।”

    उक्त अध्ययनमा परिवारको आकारलाई प्रभावित गर्ने विभिन्न कारणहरू हुने भएकाले धार्मिक आस्थाले प्रजननमा कति प्रभाव पारेको छ भनेर निर्क्योल गर्न नसकिने उल्लेख छ।

    अन्य कैयौँ देशहरूमा जस्तो भारतमा धर्म परिवर्तन वा आप्रवासनका कारण जनसाङ्ख्यिक परिवर्तन नगण्य रहेको अध्ययनले देखाएको छ।

    भारतमा देखिएको सामान्य धार्मिक परिवर्तनको सबैभन्दा ठूलोको कारण प्रजनन दर नै रहेको देखिएको छ।

    भारतमा रहेका युवा जनसङ्ख्यामा बच्चा जन्माउने उमेरमा प्रवेश गर्ने महिलाको सङ्ख्या पहिलेको तुलनामा बढी भएकाले पनि पहिलेको तुलनामा जनसङ्ख्या वृद्धि चाँडो भएको देखिएको छ।

    उक्त अध्ययनका अनुसार सन् २०२० मा हिन्दूहरूमा मध्य उमेर २९, मुस्लिममा २४ र इसाईमा ३१ वर्ष देखिएको छ।

    भारतमा जनसङ्ख्या वृद्धि गराउने अन्य कुरामा महिलाको शिक्षाको स्तर पनि रहेको देखिएको छ।

    त्यहाँ उच्च शिक्षित महिलाहरू ढिलो बिहे गर्ने र अन्य महिलाको तुलनामा ढिलै पहिलो बच्चा जन्माउन थालेका छन्।

    त्यस्तै धन सम्पत्ति पनि बच्चा जन्माउने अर्को कारक तत्त्व हो। गरिब महिलाहरू उनीहरूको घरायसी खर्चमा सन्तानले मद्दत गर्न सकून् भनेर धेरै बालबच्चा जन्माउँछन्।

    उक्त अध्ययनको निष्कर्ष खासै आश्चर्यजनक भने होइन किनकि हालैका दशकहरूमा भारतमा प्रजनन दर तीव्र रूपमा घटिरहेको छ।

    भारतमा एक महिलाले औसतमा आफ्नो जीवनमा २.२ सन्तान जन्माउने अपेक्षा गर्छन्।

    त्यो अमेरिका (१.६) जस्तो देशको तुलनामा बढी हो भने भारतकै सन् १९९२ (३.४) र १९५० (५.९) को तुलनामा कम हो।

    उक्त अध्ययनको एउटा रोचक तथ्य के हो भने एकदमै थोरै मात्र भारतीयले कुनै पनि धार्मिक समूहको सदस्य नभएको बताएका छन्।

    विश्वव्यापी रूपमा हेर्ने हो भने इसाई र मुस्लिमपछि कुनै पनि धार्मिक समूहमा नरहेको बताउनेहरू तेस्रो स्थानमा आउँछन्। बीबीसी ।

  • ११ आश्विन २०७८, सोमबार ०६:५६ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश