न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला – Dastabej

न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला


  • दस्तावेज

  • काठमाडौँ — कुनै बेला ‘न्याय नपाए गोरखा जानु’ भन्ने उक्ति प्रचलनमा थियो । बाँकेका ११ महिलासहित १४ जना भने न्यायको खोजीमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आइपुगेका छन् । कलंकीमा बुधबार साँझ भेटिँदा उनीहरू सबैका खुट्टामा फोका उठेका थिए । थकित र गलित अवस्थामा भेटिएका उनीहरू सिंहदरबारले न्याय देला र सबै दुःख भुलेर गाउँ फर्किन सकिएला भन्ने आशामा थिए ।

    उनीहरूले दुईवटा घटनालाई मुख्य रूपमा उठाएका छन् । बाँकेको नेवाजी गाउँकी नकुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा राम्ररी खोजीनीति नभएको । यही दुईवटा विषय सुनाउन उनीहरू केन्द्र सरकारको दैलो ताकेर नेपालगन्जबाट हिँडेका हुन् ।

    पैदल यात्राको २० दिन उनीहरूले मुख्य राजमार्ग छेउछाउका टहरा, गोठ र सामुदायिक भवनमा गोडा बिसाए । यात्रामा सामेल राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य रुबी खानले धेरैजसो रात आफूहरूले हिँडेरै बिताएको बताइन् । उनले भनिन्, ‘बरु दिउँसो र साँझ हामी बस्यौं, रातको शीतलमा भने हिँडिरह्यौं ।’ महिला दिनदिनै हिंसामा परिरहेको तर उनीहरूको मृत्यु र हिंसाको घटनामा प्रहरीले राम्ररी अनुसन्धान नगरेको सुनाउँदै उनले नकुन्नी धोबी र निर्मला कुर्मीको निम्ति न्याय माग्न आफूहरू काठमाडौं आउनुपरेको बताइन् । भनिन्, ‘सबैले यो कुरा थाहा पाऊन् र न्यायका निम्ति हामी कतिसम्म गर्न तयार छौं भन्ने बुझुन् भनेर हिँडेरै आएका हौं ।’

    न्यायका निम्ति हिँडेकामध्ये नकुन्नीका भाइ माताप्रसाद, बैनी शीला र परिवारका अन्य सदस्यसहित अधिकारको निम्ति नबोली हुन्न भन्ने स्थानीय छन् । उनीहरूमध्ये मुस्किलले एक–दुई जना मात्रै नेपालीमा बोल्छन् । अवधी भाषी उनीहरूमध्येकी आवादा दर्जीले आफ्नै लवजमा भनिन्, ‘बहुतै दिक्कत होईगा । तभीनय न्याय मागेक लिए चला आवागवा ।’

    गत साउन ५ मा नकुन्नी आफ्नै घरभित्र मृत फेला परेकी थिइन् । उनका भाइ माताप्रसादका अनुसार विवाहको झन्डै सात वर्ष भएपछि पनि दिदीभिनाजुको सन्तान भएको थिएन । माताले सुनाए, ‘छोराछोरी नभएपछि भिनाजुले दाइको छोरालाई गोद लिन खोजेका थिए तर दिदी त्यो पक्षमा थिइनन् ।’ उनका अनुसार भिनाजु रामकुमारको पहिलो श्रीमतीबाट एक छोरी थिइन् । पहिलो श्रीमती बितेपछि उनले दोस्रो विवाह गरेका थिए । दोस्रोबाट पनि सन्तान नभएपछि नकुन्नीसँग तेस्रो विवाह गरेका थिए । ‘सौताको छोरीले पनि आफूहरूलाई पालिहाल्छ भनेर दिदीले गोद लिन मानेकी थिइनन्,’ उनले भने ।

    घटनाबारे जानकार स्थानीय सतिना तेलीका अनुसार यही विषयलाई लिएर नकुन्नी र रामकुमारबीच खटपट भएको थियो । खटपट समयक्रममा हिंसामा बदलिएको थियो । श्रीमानबाट कुटपिट भएपछि दिदी निलडामसहित एक साता आफ्नो घरमा आएर बसेको बैनी शिलाले बताइन् । दिदीको न्यायको निम्ति काठमाडौंसम्म पैदलै आएकी शिलाले भनिन्, ‘दिदीको मृत्युबारे हामीले न्याय पाएनौं ।’

    सतिनाका अनुसार नकुन्नी घरेलु हिंसामा परेको बारे स्थानीय प्रहरी घटनाको केही दिन अघिबाटै जानकार थियो । घटनाको करिब एक महिनाअघि असार ५ मा नकुन्नीले आफूमाथि हिंसा भएको भन्दै स्थानीय महिला अधिकार मञ्चमा निवेदन दिएकी थिइन् । संस्थाले त्यसबारे बेलभार प्रहरी चौकी र जोगगाउँ प्रहरी चौकीमा जानकारी गराएको थियो । सतिनाले भनिन्, ‘तर प्रहरीले समयमै यसबारे गम्भीरता देखाएन ।’

    प्रहरीले चासो नदेखाएको अर्को महिनामै नकुन्नीले संसार छोडिन् । न्याय माग्न काठमाडौं आएकी रुबीका अनुसार उनीहरूले घटनाबारे निष्पक्ष छानबिन गर्न १९ दिनसम्म जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना पनि दिएका थिए । जिल्ला प्रहरीले नकुन्नीको मृत्यु आत्महत्याबाट भएको मेडिकल रिपोर्टले प्रमाणित गरेको बताउँदै आए पनि उनीहरूको चित्त बुझेको छैन ।

    उनीहरूले गत वर्षको मंसिरदेखि बेपत्ता भएकी निर्मला कुर्मीका निम्ति पनि न्याय मागिरहेका छन् । दुई छोरीकी आमा निर्मलालाई किन र कसले बेपत्ता पार्‍यो ? त्यसका पछाडि के–कस्ता कारण जिम्मेवार छन् भन्नेबारे पनि उनीहरू जान्न चाहन्छन् । कुर्मी हराएपछि उनका परिवारले गत मंसिर १६ मै स्थानीय प्रहरीमा किटानी जाहेरी दिए पनि प्रहरीले गरेको अनुसन्धानप्रति उनीहरू सन्तुष्ट छैनन् ।

    नौ दिन हिँडेर प्रदेश राजधानी बुटवल आएपछि उनीहरूले मुख्यमन्त्री कुलप्रसाद केसीलाई पनि भेटेका थिए । रुबीका अनुसार मुख्यमन्त्रीले प्रहरी र सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको दुई फरक–फरक छानबिन टोली गठन गर्ने र २० दिनभित्र टोलीले प्रतिवेदन बुझाउने आश्वासन दिएका थिए तर मुख्यमन्त्रीको आश्वासनले पनि उनीहरूको न्याय–यात्रा रोकिएन । रुबीले भनिन्, ‘हामी आश्वस्त हुन सकेनौं । पहिले पनि निर्मला पन्तको बलात्कार र हत्या घटनामा थुप्रै छानबिन समिति बने पनि न्याय मिलेन । त्यही भएर हामी हाम्रो कुरा सुनाउन काठमाडौं हिँडिराख्यौं ।’

    २०६१ सालमा स्थापना भएको महिला अधिकार मञ्च अहिले ४४ जिल्लामा विस्तार भएको छ । मञ्चकी केन्द्रीय अध्यक्ष रेणुका मल्लले आफूहरू कुनै गैरसरकारी संस्था नभएर गाउँबाट उठेर फैलिएको ‘लुज नेटवर्क’ मात्रै भएको बताइन् । यही संस्थाले अहिले नकुन्नी र निर्मलाको निम्ति न्याय खोज्न काठमाडौंसम्मको पैदल यात्राको चाँजोपाँजो मिलाएको हो । जसमा १८ वर्षकी बब्ली धोबीदेखि झन्डै ५० वर्ष पुग्न आँटेकी आवाजा दर्जीसम्म सामेल छन् ।

    जानकीमा महिला मृत फेला, पोष्टमार्टम रिर्पोट आए मुद्दा चलाउने प्रतिबद्धतापछि माईती पक्षले बुझे शव

    रुबीका अनुसार यो लामो पैदल यात्रामा उनीहरूलाई महिला अधिकार मञ्चको सचिवालय संस्था नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रले सुरुमा २५ हजार रुपैयाँ दिएको थियो । त्यसपछि यात्राका क्रममा खान र सामान्य भइपरी उपचारका निम्ति अन्य संस्था र व्यक्तिले केही रकम जुटाइदिएका थिए । उनीहरूले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई भेटने योजना बनाएका छन् । रुबीले खुट्टाभरि उठेका फोकाको दुखाइ सहँदै भनिन्, ‘उहाँहरूलाई हामी घटनाको सबै कुरा बताउँछौं र न्याय कसरी पाएनौं भनेर भन्छौं ।’ईकान्तिपुर ।

  • २१ आश्विन २०७८, बिहीबार ०९:५२ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ