बिक्री गरिएको बागेश्वरी मन्दिरको १ सय बिगहा जग्गा फिर्ता ल्याउन आलटाल – Dastabej

बिक्री गरिएको बागेश्वरी मन्दिरको १ सय बिगहा जग्गा फिर्ता ल्याउन आलटाल


  • ठाकुरसिंह थारु

  • क्याप्सन ः नेपालगन्जस्थित बागेश्वरी मन्दिरलाई इन्द्रपुरमा दान दिइएको तर बिक्री भइसकेको करोडौं जग्गा । तस्बिरः ठाकुरसिंह थारु

    नेपालगन्ज । हिन्दुहरुको प्रमुख शक्ति पीठ मध्येको एक नेपालगन्जस्थित वागेश्वरी मन्दिर गुठीको खर्बौ मुल्यको बिक्री गरिएको करिव १ सय बिगहा जग्गा फिर्ता गर्न सरकारबाटै ढिलाई हुँदै आएको छ । जसका कारण जग्गा खोजीका लागि आदेश दिने अदालतको आदेश र सरकारले गठन गरेको छानबीन आयोगको प्रतिबेदन अलपत्र पर्नुका साथै गुठीको जग्गामा शहर बिस्तार हुने क्रम जारी छ । बिक्री गरिएको जग्गा हाल नेपालगन्ज उपमहानगरमा पर्छ ।

    मालपोत कार्यालय बाँकेको अभिलेख अनुसार २०२५ सालमा बागेश्वरी मन्दिरको नाममा ९९ विगहा ५ कठ्ठा १४ धुर जग्गा देखिन्छ । उक्त जग्गा विभिन्न भक्तजनहरुले मन्दिरलाई दान दिएका हुन । तर मन्दिरका महन्थहरुले उक्त जग्गा विभिन्न व्यक्तिहरुलाई बिक्री गरेको सार्वजनिक भएपछि तत्कालिन सरकारले पुर्ब न्यायाधीश मोहनरमण भट्राईको संयोजकत्वमा सरकारी, सार्वजनिक र गुठीको जग्गा छानबीन र खोजिका लागि ५ वर्षअघि आयोग नै गठन गरेको थियो । तर उक्त आयोगले बुझाएको प्रतिबेदन सरकारले हालसम्म कार्यान्वयन नगर्दा बागेश्वरीको जग्गा फिर्ता हुननसकेको हो ।

    ‘सरकारी, सार्वजनिक र गुठीको जग्गा छानबीन र खोजिका लागि गठन गरेको आयोग हाल अस्तित्वमै छैन । तर उक्त आयोगले बागेश्वरी मन्दिरसहितको ३० वटा प्रतिबेदन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवरण मन्त्रालयलाई बुझाएको हो,’ मन्त्रालयका प्रवक्ता जनकराज जोशी भन्छन्,‘केही प्रतिबेदन क्याबिनेटमा पेश भएको छ । केही हुन बाँकी छ ।’ आयोगले ३ वर्षअघि मन्त्रालयमा पेश गरेको प्रतिबेदन मन्त्री परिषदमा पेश हुननसक्नुले बागेश्वरी मन्दिरको जग्गा फिर्ता प्रकरण सेलाएको हो ।

    कसरी बिक्री भयो ?
    साविक कर्मोहना ईन्द्रपुर गाविस हाल नेपालगन्ज उपमहानगरपालिकासंग जोडिएको जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा बागेश्वरी मन्दिरको नामको जग्गा छ । इन्द्रपुरको जग्गाको मुल्य छोईनसक्नु छ । खजुरामा पनि जग्गा उस्तै महँगो भइसक्यो । दानबाट वागेश्वरीका नाममा आएको जग्गालाई विभिन्न व्यक्तिको नाममा कमाउन दिने र त्यसबाट उठ्ने मालपोत कर र उत्पादनले नित्य पूजा गर्ने, सन्त महन्तहरुमा आएमा आवास तथा हण्डी दिने र पूजाआजा कार्य चलाई शेष बचत भएमा महन्तका सन्तान दरसन्तानले खाने व्यवस्था तत्कालिन व्यवस्थामा थियो । तर भक्तजनले दान दिएको करिव एक सय विगहा हाल व्यक्तिको नाममा रहेको पाइएपछि खोजीका लागि चासो गरिएको हो । वागेश्वरी मन्दिर राज गुठीमा दर्तामा छ । राज गुठीको सम्पत्ती सरकारी हुने कानुनी प्रावधान छ ।

    गुठी संस्थानका सूचना अधिकारी मोहनरमण भट्राईले सरकारले आयोगको प्रतिबेदन कार्यान्वयन गरेको भए आफूहरुलाई जानकारी आउनु पर्ने बताए । ‘बागेश्वरी मन्दिर जग्गाको प्रतिबेदन आएको धेरै वर्ष भइसक्यो । मन्त्रालयले मन्त्री परिषदमा पेश गरेको भए प्रक्रिया अगाडि बढ्न सक्थ्यो,’ उनले भने,‘मलाई लाग्छ त्यो प्रतिबेदन मन्त्रालयमै थान्किएको छ । होईन भने केही प्रक्रिया अगाडि बढ्थे ।’
    भक्तजनहरुले वागेश्वरी मन्दिरलाई दिएको जग्गा व्यक्तिलाई बिक्री गरेको पाइएपछि कानुनीरुपमै खोजि सुरु गरिएको थियो । ईकान्तिपुरबाट ।

     

    जग्गा खोजी
    नेपालगन्जका अधिवक्ताहरुले ५ वर्ष मन्दिरको जग्गा व्यक्तिलाई बिmक्री गरेको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । त्यसपछि मन्दिरको जग्गा खोजि हुन थालेको हो । उनीहरुका अनुसार मन्दिरको इन्द्रपुर क्षेत्रको सबैजसो जग्गा बिक्री भई घर निमार्ण भइसकेको छ । सुरुमा मन्दिरको जग्गा मुल महन्थ हरिहरनाथ योगी र चन्दननाथ योगीका नाममा दर्ता भएको देखिन्छ । त्यसपछि बिक्री गर्दै जाँदा विभिन्न व्यक्तिका नाममा दर्ता हुँदै आएको हो । बागेश्वरी मन्दिर गुठीको सबै सम्पत्ती सरकारको हो । व्यक्तिका नाममा दर्ता गर्न मिल्दैमिल्दैन । तर रैती देखाएर मुलमहन्थको नाममा जग्गा दर्ता गरेको पाइएको छ,’ मन्दिरको सम्पत्ती संरक्षण तथा जग्गा खोजीका लागि दायर मुद्दामा पैरबी गरेका उपाध्यक्ष अधिवक्ता सुनिल श्रेष्ठ भन्छन् । उनका अनुसार अदालतमा मुद्दा चलिरहेका बेला पनि मन्दिरको जग्गा व्यक्तिको नाममा सारिएको छ ।

    मन्दिरको जग्गा
    मालपोत बाँकेको अभिलेख अनुसार ०२८ कार्तिक १४ गते भूमि प्रशासन कार्यालय बाँकेको निर्णय अनुसार इन्द्रपुर करमोहनका विभिन्न व्यक्तिका नाममा ८७ विगहा २ कठ्ठा ३ धुर मध्ये पूजाआजा गर्दा लाग्ने अक्षता तथा हण्डीको लागि सिरबाट नापनक्सा भएको महन्त हरिहारनाथ योगी नाममा ९ विगहा १९ कठ्ठा ५ धुर, चन्द्रनाथ योगीको नाममा ९ विगहा १३ कठ्ठा १२ धुर जग्गा दर्ता गरेको प्रमाण भेटिएको हो । त्यस्तै कतिपय दान गरिएको जग्गा मन्दिरको अभिलेखमा नराखी व्यक्तिकै नाममा सोझै पास गराइएको छ । त्यस्तै मालपोत कार्यालय बाँकेको ०५७ असोज १६ गतेको अभिलेख अनुसार इन्द्रपुरकै मन्दिरको थप जग्गालाई महन्तद्धयले रैताने नम्बरीको निणर्य गराएको पाइएको छ ।

    अदालतको आदेश
    उच्च अदालत नेपालगन्जले ०७३ असार २२ गते वागेश्वरी मन्दिरको नाममा रहेको जग्गा र सम्पत्ती कुन र कहाँ कस्तो अवस्थामा छ त्यसको खोजिनीति गरी ६÷६ महिनामा सम्पतिको आयव्याय अद्यावधिक विवरण सार्वजनिक गर्ने दिएको आदेश पनि कार्यान्वयन हुन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिका प्रमुखको संयोजकत्वमा समिति गठन भएपनि अदालतले गरेको आदेश अनुसार मन्दिरमा चढ्ने भेटीको आयव्याय सार्वजनिक गरिदैन । तर मन्दिरको मुलमहन्त चन्द्रनाथ योगीले वागेश्वरीको सम्पति दुरुपयोग नगरेको पटकपटक दाबी गर्दै आएका छन् । उनले महन्तको हैसियतले तत्कालिन व्यवस्थाले दिएको सुविधा प्रयोग गरिरहेको बताउछन् ।

    उनले आफ्नो नाममा जग्गा दर्ता गरेर बिक्री गरेको गरेको वागेश्वरी मन्दिरको नाममा अझै पनि ८४ विगहा जग्गा रहेको अभिलेख नदेखिने दाबी गर्छन । तर कानुन अनुसार मन्दिरको जग्गा किनेका व्यक्तिले मालपोत तिर्दा बागेश्वरी मन्दिर गुठीकै नाममा बुझाइने भएकाले अभिलेख देखिने गरेको हो । तर वास्तविकता भने फरक रहेको कानुन व्यवसायीहरुले बताउँछन् । मन्दिरको सबैजसो जग्गा रैतीलाई कमाउन दिएको भन्दै बिक्री गरिएको हो ।
    वागेश्वरी मन्दिरको चलअचल सम्पति सार्वजनिक हुनुपर्ने माग गर्दै अधिवक्ताद्धये उच्च अदालत नेपालगन्ज इजलासमा मुद्दा दर्ता गरेका अधिवक्ताद्धय लोकबहादुर शाह, बलबहादुर चन्दले सरकारी लापरवाहीका कारण गुठीको करिव एक सय विगहा जग्गा फिर्ता हुननसकेको हो । वागेश्वरी मन्दीरमा भक्तजनहरुले जग्गा तथा सुन र चा“दीका मुर्ति चढाउने परम्परा थियो ।

     

  • १५ कार्तिक २०७८, सोमबार १४:५९ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान