आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान – Dastabej

आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान


  • दस्तावेज

  • नेपालगन्ज । हिउँदे बाली लगाउन किसानहरुलाई मल किन्न धान बिक्री गर्न हतारो छ । यता व्यवसायीहरु आफ्नो मनपर्दी कम मुल्यमा धान खरिद गरिरहेका कारण किसान मारमा परेका छन् । एक बोरी डिएपी मल किन्न किसानलाई दुई क्विन्टल धान बिक्री गर्नु परेको छ । हिउँदे बालीका लागि किसानहरुलाई बढीजसो डिएपी मल किन्नु पर्ने बाध्यता छ । जिल्ला प्रशासन कार्यालयले तोकेको धानको समर्थन मुल्य भन्दा करिव आधा मुल्यामा व्यवसायीहरुले धान किनिरहेका छन् ।

    घर भित्रियाउने बेला आएको झरीले भिजाएपछि व्यवसायीहरुले कम मुल्य लगाएका हुन । कम मुल्य भएपनि किसानलाई मल किन्न धान बिक्री गर्नुपर्ने बाध्यता छ । भिजेको धान भन्दै व्यवसायीहरुले १ हजार देखि १ हजार ५ सयसम्म प्रति क्विन्टल धान किनेका हुन । नभिजेको धान मोटा २ हजार रुपैयाँ क्विन्टल धान किसानलाई बिक्री गर्नुपर्ने बाध्यता छ । ‘डिएपी मल नछरे हिउँदे बाली राम्रो हुँदैन । किसानसंग नगद पैसा हुँदैन । हामीसंग अहिले हुने भनेको धान हो,’ जानकी गाउँपालिका मानपुरका राममनोहर मिश्र भन्छन्,‘यो वर्ष धान किन्ने व्यापारीहरुको मानोमानी छ । उनीहरुले धान भिजेको चमाल नआउने भन्दै निकै कम मुल्यमा धान किनिरहेका छन् ।’ उनले किसानहरुको बाध्यताको फाईदा व्यवसायीहरुले उठाई रहेको गुनासो गरे ।
    यस वर्षका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगन्जलाई धान खरिदका लागि स्थानीय प्रशासनले मोटा धान प्रति क्विन्टल २ हजार ७ सय ५२ रुपैयाँ सर्मथन मुल्य तोकेको छ । त्यस्तै मध्यम धान प्रति क्विन्टल २ हजार ९ सय २ सय मुल्य तोकिएको छ । यो गत वर्षभन्दा प्रति क्विन्टल १७ रुपैयाँ बढी हो । तर लिमिटेडले भने अझै धान खरिद गर्ने सुरुसार छैन । लिमिटेड नेपालगन्जका प्रमुख रमेशबहादुर विष्टले केन्द्रबाट धान खरिदका लागि कुनै निर्देशन नआएको बताए । ‘समर्थन मुल्य तोकिएको छ । तर कति धान किन्ने, कहिलेबाट किन्ने भन्ने निर्देशन आएको छैन,’ उनले भने,‘निर्देशन आएलगत्तै हामी धान किन्छौँ ।’

    लिमेटेडले धान खरिद गर्न हरेक वर्ष ढिलाई गर्दा बास्तविक किसानले समर्थन मुल्य पाउन नसकेका हुन । र, व्यापारीहरुले आफू अनुकुल धान खरिद गरेपछि किसानहरुले श्रम अनुसारको मुल्य नपाएको गुनासो छ । मल र बीउको जोहो गर्न किसानहरु सस्तोमा धमाधम धान बिक्री गर्न बाध्य भएका हुन । कतिपय किसानहरुले धान खेतिका लागि किनेको मल र बीउको ऋण तिर्न बिक्री गरिरहेका छन् । खेतिमात्रै गर्ने किसानको आम्दानीको बैकल्पिक श्रोत नभएका कारण धानमै निर्भर हुनुपर्ने बाध्यता छ । औषधि उपचारका लागि धान दिने शर्तमा व्यवसायीहरुले पहिले नै पैसा लगानी गरिसकेका हुन्छन् ।
    कृषि समाग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रमेशकुमार पौडेलले यस वर्ष प्रति बोरी युरिया मल ८४६, डिएपी २२९६ र पोटास १६९६ रुपैयाँ मल तोकिएको जनाए । खेतिपातीका लागि मल समयमै किसानले नपाउने र बढी मुल्य तिर्नु पर्दा किसानले खेतिपातीबाट मुल्य पाउन नसकेका हुन ।

     

  • २७ कार्तिक २०७८, शनिबार १२:४० प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन