पर्यटकीयस्थलमा धमाधम पूर्वाधार निर्माण – Dastabej

पर्यटकीयस्थलमा धमाधम पूर्वाधार निर्माण


  • दस्तावेज

  • गलेश्वर, १६ मङ्सिर (रासस) :म्याग्दीका पर्यटकीयस्थलमा पछिल्लो समय धमाधम पूर्वाधार निर्माण भइरहेको छ । पर्यटकीयस्थलको प्रचारप्रसारले तीव्रता पाएसँगै पर्यटक आगमन पनि बढ्दै गएको छ ।

    बेनी नगरपालिकाको ऐतिहासिक ज्यामरुककोट, पुलाचौरपछै र सिङ्गा तातोपानी, मालिका गाउँपालिकाको देविस्थान, मङ्गला गाउँपालिकाको बरंजा, अन्नपूर्ण गाउँपालिकाको खोपरालगायत पर्यटकीयस्थलमा पूर्वाधार निर्माण भइरहेको छ । पछिल्लो समय पर्यटकीयस्थलका रुपमा विकास भएको मालिका गाउँपालिका–५ देवीस्थानस्थित गाईखर्क ताल पुग्ने सडक निर्माण भएको छ ।

    वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित रु दुई लाख र स्थानीयवासीको रु ५० हजार बराबरको श्रमदानमा उक्त सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र राना मगरले जानकारी दिनुभयो । देवीस्थानको हाँस खोलादेखि गाईखर्कसम्म ७५० मिटर सडक निर्माण गरिएको छ । पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको सो तालको पर्यटन प्रवद्र्धन गर्न मोटरबाटो निर्माण गरिएको वडाध्यक्ष पिपला बुढाथोकी मगरले बताउनुभयो ।

    ताल अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी वडा कार्यालयले बजेट विनियोजन गरी मन्दिर निर्माण थालेको छ । गाउँपालिकाभित्रका पर्यटकीयस्थलमा पर्यटकको सेवा सुविधालगायत अन्य आवश्यक भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले विशेष जोड दिएको अध्यक्ष श्रीप्रसाद रोका मगरको भनाइ छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी प्रदेश सरकारको आर्थिक सहयोगमा दुई होमस्टे सञ्चालन गरिएको छ ।

    बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित ऐतिहासिकस्थल खड्गभवानी कोत परिसरलाई समेत पर्यटकीयस्थल बनाउन वडा कार्यालय, नगरपालिका र गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माण गरिरहेका छन् ।
    भू–तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको रु १४ लाख ९९ हजार तथा उपभोक्ताको रु तीन लाख ६५ हजार बराबारको श्रमदानबाट पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माणपछि कोतमन्दिर पुग्न सहज भएको छ ।

    चालू आवमा भू–तथा जलाधार व्यवस्थापन कार्यालयको बजेटबाट २५० मिटर, गतवर्ष पर्यटन बोर्डको बजेटबाट ५६ मिटर र बेनी नगरपालिकाको बजेटमा ७६ मिटर पदमार्ग निर्माण गरिएको थियो । ज्यामरुककोट मन्दिरलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने गरी पूर्वाधार निर्माण गर्न थालिएको अध्यक्ष थापाले बताउनुभयो । मुक्तिनाथको दर्शन गरेर फर्किएका भक्तजनलाई गलेश्वरहुँदै ज्यामरुककोत र यहाँदेखि बागलुङको पञ्चकोट पु¥याउन सके पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताइएको छ ।

    खड्ग भवानीकोत परिसरबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा चुरेनलगायत हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका विभिन्न स्थल, गलेश्वर, पञ्चकोट, बेनी, पर्वतको कुश्मा, कालीगण्डकीको नागबेलीसहितको दृश्यावलोकन गर्न सकिन्छ ।

  • १६ मंसिर २०७८, बिहीबार १६:०६ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन