द्वन्द्वपीडित चन्द्रबहादुर सफल व्यवसायी बने – Dastabej

द्वन्द्वपीडित चन्द्रबहादुर सफल व्यवसायी बने


  • दस्तावेज

  • दाङ, १४ पुस (रासस) : तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४४ वर्षीय चन्द्रबहादुर डाँगी गाईपालन गरेर छोटो समयमा आर्थिकरूपमा सक्षम हुनुभएको छ । उहाँले पछिल्लो समय आफूलाई सफल व्यवसायीका रूपमा चिनाउनुभएको छ । डाँगीको फार्ममा अहिले गाई हेर्न तथा दुग्धजन्य वस्तु किन्न आउनेको दिनहुँ भीड लाग्ने गरेको छ ।

    पाँच वर्षदेखि सो पेशा अँगाल्नुभएका डाँगीलाई परिवारका सबै सदस्यले साथ दिइरहनुभएको छ । सफल गाईपालकरूपमा चिनिनुभएका उहाँ आजभोलि गाईका बाच्छाबाच्छीलाई स्याहार्नमै व्यस्त हुनुहुन्छ । “सबै खर्च कटाएर वार्षिक रु आठ लाखसम्म बचत गर्न सफल भएको छु”, डाँगीले भन्नुभयो ।

    विसं २०५५ मा डाँगी जाजरकोटको रक्दा इलाका प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत हुनुहुन्थ्यो । सशस्त्र द्वन्द्वका समयमा उहाँ तत्कालीन नेकपा माओवादीले थापेको एम्बुसमा परी घाइते हुनुभयो । घाइते भएपछि उहाँ लामो समयसम्म उपचाररत हुनुभयो । द्वन्द्वमा परी अशक्त तथा घाइते भएका सुरक्षाकर्मीलाई सरकारले सेवाबाट अवकाश दिने नीति ल्याएपछि डाँगी २०५९ सालमा सेवानिवृत्त हुनुभयो । “केही समय रोल्पास्थित घरमा उपचार तथा आराम गरी बसेँ”, उहाँले भन्नुभयो । पछि बसाइँ सरेर दाङको तुलसीपुर आएपछि डाँगीले तुलसीपुरमा होटल सञ्चालन गर्नुभयो । “होटल व्यवशायबाट घाटा भएपछि सहकारी संस्था जागिर खान थालेँ”, डाँगीले विगत सुनाउनुभयो ।

    सहकारीमै काम गर्दा कृषि क्षेत्रका बारेमा ज्ञान हासिल गरेपछि डाँगीले २०७२ सालमा साहारा पशुपालन फार्म खोलेर उन्नत जातको गाईपालनमा लाग्नुभयो । सुरुआतमा उहाँले दुई बिघा जमिन वार्षिक रु १२ हजार भाडामा लिई रु एक लाख लगानी गरेर एउटा जर्सी गाई पाल्नुभयो । डाँगीकहाँ अहिले १७ गाई र १० बाच्छाबाच्छी छन् । एउटा जर्सीगाईको मूल्य रु एक लाख, होलेस्टनको रु दुई लाख र साहीवाल जातको गाईको मूल्य रु एक लाख ५० हजारसम्म पर्ने डाँगी बताउनुहुन्छ ।

    “दैनिक १५० देखि २०० लिटरसम्म दूध तुलसीपुरका विभन्न डेरी उद्योगमा बिक्री गर्छु”, उहाँले भन्नुभयो । केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गर्ने गरेको उहाँले बताउनुभयो । दाङमा प्रतिलिटर दूधको थोक मूल्य रु ६५ तथा खुद्रा मूल्य रु ८० छ । सोमबार उहाँको फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ की ४५ वर्षीया पूर्णिमा भट्टराईले आफ्नै घरआँगनमा शुद्ध दूध खान पाइने भएकाले किन्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि दूध किन्न बजार जानुपर्ने बाध्यता थियो, अहिले घरछेउमै ताजा दूध पाउँदा खुशी लागेको छ ।”

    डाँगीले फार्ममा अहिलेसम्म रु २० लाखसम्म लगानी गरिसक्नुभएको छ । दुग्धजन्य पदार्थ र मल बिक्री गरी वार्षिक रु १९ देखि रु २० लाखसम्म कारोवार हुने गरेको छ । उहाँले दुई बिघा जमिन गाईपालनका लागि भाडामा लिनुभएको छ । सिँचाइ अभावले घाँसखेती गर्न नसक्दा समस्या भएको छ । पर्याप्त घाँस उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको डाँगीले बताउनुभयो ।

    “अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग पाएको छु, तर आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन”, डाँगीले भन्नुभयो । उहाँले थप्नुभयो, “दुई वर्षअघि तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट गाईपालक किसान भनेर पुरस्कृत ग¥यो, त्यसबाट थप हौसला मिलेको छ ।” त्यस्तै कोरोनाका कारण गरिएको बन्दाबन्दीको समयमा आफूले उत्पादन गरेको दूध बजारमा बिक्री नहुँदा केही समस्या भए पनि अहिले भने बजारको कुनै समस्या नभएको डाँगीले बताउनुभयो ।

    कम लगानीमा छोटो समयमा मन्नग्य आम्दानी गर्न सकिने भएकाले अहिले डाँगीको फार्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन र गाई खरिद गर्न आउने गरेका छन् । कमाउनकै लागि जागिर खानैपर्छ भन्ने मान्यता गलत भएको डाँगीको भनाइ छ । सरकारले नारामा मात्र सीमित नभई व्यवहारिकरूपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने डाँगीको माग छ । उत्पादित सामग्री बिक्री गर्न बजारको व्यवस्था गनुपर्ने उहाँको सुझाव छ ।

  • १४ पुष २०७८, बुधबार ११:०२ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ