विद्यालय खोल्ने सरकारको तयारी, ‘हतार नगर्न’ अभिभावक र जनस्वास्थ्यविद्को सुझाव – Dastabej

विद्यालय खोल्ने सरकारको तयारी, ‘हतार नगर्न’ अभिभावक र जनस्वास्थ्यविद्को सुझाव

नेपालमा कोरोना भाइरस


  • दस्तावेज

  • BBC Nepali
    कोरोनाभाइरस सङ्क्रमण फैलिने जोखिमका कारण विगत १० महिनादेखि बन्द रहेका विद्यालयहरू भौतिक रूपमै खोल्ने तयारी सरकारले गरिरहेका बेला अभिभावक महासङ्घ र जनस्वास्थ्यविद्हरूले हतार नगर्न सरकारलाई भनेका छन्। कोभिड-१९ रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समितिले अवस्था सहज बन्दै गएको भन्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्नका लागि आइतवार सरकारलाई सिफारिस गरेको छ। मन्त्रिपरिषद्‌ले निर्णय गरेसँगै उक्त सिफारिस कार्यान्वयनमा आउनेछ र विद्यार्थीहरू विद्यालयमै गएर पढ्न पाउनेछन्। तर जनस्वास्थ्यविद्ले भने सरकारले सङ्क्रमणको जोखिम यथावत् रहेको र विभिन्न मुलुकमा कोरोनाभाइरसको नयाँ प्रकार देखिएका बेला विद्यालय खोल्न हतार गर्न नहुने बताएका छन्। जनस्वास्थ्यविद् डा. शरदराज वन्त भन्छन्, “अहिलेको जाडो मौसममा बालबालिकालाई भौतिक रुपमा विद्यालय पठाउँदा कोरोनाभाइरसको अर्को लहर सुरु हुनसक्छ। जाडो नसकिँदासम्म हतार नगरेकै ठिक भन्ने मलाई लाग्छ।”
    सरकारी नियम मिचेरै प्रदेश नं २ मा किन खुल्न थाले विद्यालय
    कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि सरकारले गत वर्ष चैतदेखि देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।
    त्यसयता इन्टरनेट वा अन्य वैकल्पिक माध्यमबाट विद्यालयको पठनपाठन गरिएको भए पनि भौतिक रूपमा भने अधिकांश विद्यालयहरू औपचारिक रूपमा खुलेका छैनन्। यसअघि कात्तिक तेस्रो साता सरकारले विद्यालय खोल्नका लागि स्थानीय निकायले अवस्था हेरेर निर्णय गर्न सक्ने भन्दै विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा पनि जारी गरेको थियो। त्यसयता कतिपय क्षेत्रमा भौतिक रूपमा विद्यालय खुले पनि अधिकांश ठाउँमा भने खुल्न सकेका छैनन्। नेपालका केही स्थानमा सीमित विद्यालयहरू खुलेका छन्
    “दश महिना त बन्द भइसक्यो भने अब माघ महिनाभरि नखोल्दा हुन्थ्यो भन्ने हाम्रो सुझाव हो,” अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, “त्यतिन्जेल अहिलेकै वैकल्पिक माध्यमको पढाइ जारी राख्ने र माघमा अवस्था विश्लेषण गरेर विद्यालय खोल्ने निर्णय गर्दा राम्रो हुन्थ्यो भन्ने हामीलाई लागेको छ।” तर शिक्षा मन्त्रालयले भने यसअघि सार्वजनिक भएको कार्यढाँचा अनुसार स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पुर्‍याएर विद्यालय खोल्न सकिने जनाएको छ। अभिभावक र जनस्वास्थ्यविद्को सुझाव मिश्रित रहेको र अन्य क्षेत्र खुलिसकेका बेला विद्यालय पनि खोल्न सकिने परिस्थिति देखिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बीबीसीलाई बताएका छन्। उनी भन्छन्, “कतिपय कामकाजी अभिभावकले बालबालिकालाई घरमा हेर्न गाह्रो भएको बरु विद्यालय खुले सजिलो हुने पनि भनेका छन्। बालबालिकालाई खोप लगाउन नपर्ने भन्ने पनि छ। यस्तो अवस्थामा विद्यालयको क्षमताअनुसार विद्यार्थी सङ्ख्या बोलाउन र सङ्क्रमित देखिए पुन: बन्द गरिनेछ।”
    कोरोनाभाइरसको सङ्क्रमणको स्थिति विश्लेषण गरेर रोक लगाउन सक्ने अधिकार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रसँग रहने भनिएकोले सरकारको विद्यालय खोल्ने तयारी स्वागतयोग्य भएको प्याब्सनका राष्ट्रिय अध्यक्ष टीकाराम पुरीले बीबीसीलाई बताए।
    “अरू सबै क्षेत्रमा चाहिँ जोखिम नहुने र विद्यालयमा मात्रै हुने भन्ने त होइन। सम्पूर्ण स्वास्थ्यसम्बन्धी मापदण्ड पुर्‍याएर खोल्ने अनि केही समस्या देखिए रोक्ने भन्ने त छँदैछ,” पुरीले भने। भर्चूअल माध्यमबाट भइरहेको पढाइ भौतिक रूपमा उपस्थित भएर गरिनेभन्दा कम प्रभावकारी भएको भन्दै कतिपय अभिभावकहरूले विद्यालय खुलोस् भन्ने अपेक्षा राखेको पनि उनले बताए।
    गत वर्ष चैत महिनादेखि बन्द रहेका विद्यालयहरू स्थानीय रूपमा केही स्थानमा सञ्चालनमा रहे पनि अधिकांश विद्यालयले भर्चूअल वा अन्य वैकल्पिक माध्यममार्फत् मात्रै पढाइ सञ्चालन गरेका छन्। त्यसरी सञ्चालनमा रहँदा विद्यार्थीको ठूलो सङ्ख्या शिक्षाबाट वञ्चित भएको बताइन्छ। त्यसले विद्यालय शिक्षामा बालबालिकाको पहुँचसम्बन्धी विभिन्न कार्यक्रम पनि प्रभावित भएको छ।

  • २० पुष २०७७, सोमबार १४:४७ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर