संरक्षित क्षेत्रमै दुर्लभ कृष्णसार असुरक्षित – Dastabej

संरक्षित क्षेत्रमै दुर्लभ कृष्णसार असुरक्षित


  • विमला चौधरी बीबीसी न्यूज नेपाली, बर्दिया

  • बर्दियाको गुलरिया नगरपालिकास्थित खैरापुरलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरिएको एक दशक बढी भइसक्यो। तर संरक्षणको चुनौती र समस्या हालसम्म पनि जस्ताको तस्तै रहेको पाइएको छ। संरक्षित क्षेत्र घोषणा अघिदेखिनै बसोबास गरिरहेका बस्ती व्यवस्थापन हुन नसक्नु नै मुख्य समस्या रहेको संरक्षण अधिकारीहरूको भनाइ छ। “कृष्णसार संरक्षण क्षेत्र घोषण हुनुभन्दा पहिले नै उक्त क्षेत्रमा ऐलानीमा बसोबास गरेका र २०६२/०६३ को जन आन्दोलनपश्चात् सुकुम्बासीको नाममा बसोबास गरेका १४२ घरधुरी संरक्षित क्षेत्रभित्रै बसोबास गरिरहेका छन्,” कृष्णसार संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत अर्जुन भुसालले भने।
    आहाराको कमी
    कृष्णसार वासस्थान क्षेत्रअन्तर्गत पर्ने पुरानो बबई नालाले २० हेक्टरभन्दा पनि बढी क्षेत्र ओगटेको बताइएको छ।यस क्षेत्रमा कृष्णसारले नखाने जातको मिचाहा बेसर्मा झार फैलिएको हुँदा आहारायुक्त वासस्थान घटेको कार्यालयले जनाएको छ।संरक्षित क्षेत्रको ५२७ मा ११५ हेक्टर बस्ती रहेकोले भुस्याहा कुकुरबाट समेत कृष्णसार असुरक्षित रहेको कार्यालयका कर्मचारीहरू बताउँछन्।
    कृष्णसारकै लागि संरक्षित क्षेत्र भित्रै आठ हेक्टर जमिनमा मौसमी खेती समेत गरेको कार्यालयका रेन्जर एवं सूचना अधिकारी मनराज लामा मोक्तानले बताए। मास, मुसुरो गहुँ र जौ लगाउनुका साथै पानीको लागि सोलार बोरिङमार्फत् १५ वटा कृत्रिम ताल समेत निर्माण गरिएको मोक्तानले जानकारी दिए।

    संरक्षित क्षेत्रमा पनि असुरक्षित
    संरक्षण थाल्दा केवल नौवटा कृष्णसार भेटिएका थिए। तर अहिले तिनको सङ्ख्या २११ पुगेको आधिकारिक तथ्याङ्क छ। विसं २०७० सालमा ३०० को सङ्ख्यामा वृद्धि भएका कृष्णसारको सङ्ख्या अहिले भने ओरालो लाग्दै गएको देखिन्छ। विसं २०७१ मा बबई नदीमा आएको बाढी संरक्षित क्षेत्रमा समेत प्रवेश गरेका कारण ४० वटा र २०७४ सालको बाढीबाट १८ वटा कृष्णसारको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। चालु आर्थिक वर्षको साउनदेखि पौष १५ सम्म २५ वटा कृष्णसारको मृत्यु भइसकेको देखिन्छ। तीमध्ये चितुवाको आक्रमणबाट १९ वटा, हुँडारको आक्रमणबाट तीन वटा, अन्य कारणले दुई वटा कृष्णसारको मृत्यु भएको कार्यालयले जनाएको छ।
    बस्ती व्यवस्थापनमा चुनौती
    विसं २०३२ सालबाटै संरक्षणको कुरा चले पनि त्यो समयमा कृष्णसार फेला परेको स्थानमा चारैतिर मानवीय बस्ती रहेकाले २०३६ सालदेखि २०४९ साल सम्म बर्दियाको भौँराफाँटमा स्थानान्तरण गरेर संरक्षण गर्ने प्रयास भएको बताइन्छ। त्यहाँ सफल नभएपछि २०५० सालमा कृष्णसार खैरापुरमै उपयुक्त रहेको महसुस गर्दै नम्बरी आबादीमा बसेका स्थानीयवासीको मुआब्जा दिएर २४५ बिघा जग्गा अधिग्रहण गरिएको बताइएको छ। त्यतिबेलैको समितिले ऐलानीमा बसोबास गरेकालाई जग्गा उपलब्ध गराउन नसक्दा हालसम्म पनि संरक्षित क्षेत्रमा बसोबास गरिरहेको स्थानीयवासी बताउँछन्। उक्त बस्ती स्थानान्तरणका लागि विभिन्न प्रयास भएको, तीन पटकसम्म बजेट विनियोजन गरेर उच्चस्तरीय बस्ती व्यवस्थापन समिति गठन गर्ने पहल गरिए पनि गठन हुन नसक्दा बजेट फ्रिज भएर गएको संरक्षण अधिकारीहरूको भनाइ छ।

    संरक्षणमा स्थानीयवासी सक्रिय
    संरक्षण अधिकारीहरूले संरक्षित क्षेत्र भित्रको बस्तीले असुरक्षा बढाइरहेको भनिरहँदा स्थानीयवासीले भने कृष्णसारलाई आफ्नो सन्तानलाई जसरी माया गर्दै आएको बताउँछन्। संरक्षित क्षेत्रमै २०२८ सालबाट बस्दै आएका महेन्द्र सिंह महतरा भन्छन्, “खेती गरे पनि आधाभन्दा धेरै खाइदिन्छ, बचेको खाने हो। यहाँका स्थानीयले अति नै माया गर्दै आएका छौँ।” “अन्य ठाउँ भए खै के हुन्थ्यो होला। माया गरे पनि कानुनबाट डराउनुपर्ने हुन्छ, चितुवाले कृष्णसारलाई मारेर खेतबारीमा घिसार्दै ल्याएको देख्नासाथ तुरुन्त खबर गर्ने गर्छौँ।” सुत्केरी अवस्थामा समेत तरकारी बचाउन बारीमै सुतेको इन्द्रा अधिकारीले बताइन्। संरक्षण कार्यालयका कर्मचारी टाढा भएको अवस्थामा वरिपरि रहेका स्थानीयले नै रेखदेख गर्दै आएको बबई कृष्णसार उपभोक्ता समितिकी कोषाध्यक्ष एवम् कृष्णसार संरक्षण क्षेत्र व्यवस्थापन परिषद्की सदस्य प्रेमकुमारी रिजालले बताइन्। उनले भनिन्, “स्याल र कुकुरले कृष्णसारलाई लखेटेको देख्दा हामी आफै धपाउने गर्छौँ। बफर क्षेत्रभित्र बसोबास गरेका हामी सबैको मानवीय कर्तव्य पनि हो।”

    कृष्णसारको विशेषता
    कृष्णसार स्तनधारी जनावर हो। यो नदी तटीय क्षेत्रले तयार पारेको खुल्ला, घाँसे मैदानमा बस्न मन पराउने विज्ञहरू बताउँछन्। कृष्णसारको आवाज सानो हुने भएकाले घना जङ्गलमा प्रवेश गरेमा पुनः आफ्नो बथानमा आउन नसक्ने बताइन्छ। कृष्णसारको पोथीले एक पटकमा एउटा मात्र बच्चा पाउने र यसको औसत आयु १२ वर्षसम्म रहने विज्ञहरूको भनाइ छ। बच्चाले घाँस खाने नहुँदासम्म माउले करिब एक महिनाको अवधिभरि अग्लो घाँसमा लुकाएर राख्ने हुँदा बच्चालाई स्याल, कुकुर र चीलले समेत खाने खतरा हुने संरक्षणमा खटिएका कर्मचारीहरू बताउँछन्।

  • २० पुष २०७७, सोमबार २१:५४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर