नेपालगन्ज— नेपालमा १५ देखि १९ वर्ष उमेरका १ हजार मध्ये ८८ जनाले बालविवाह गर्दै आएका छन् । नेपाल जनसंख्यिक तथा स्वास्थ्य सर्बेक्षण २०१६ अनुसार नेपालमा बालविवाहको अवस्था डरलाग्दो देखिएको छ । नेपालमा किशोरकिशोरी १० देखि १९ बर्षको संख्यामा कुल जनसंख्याको झन्दै एक चौठाइ लगभग ६४ लाख अर्थात २४.१८ प्रतिशत रहेको छ । विवाहको औसत उमेर पुरुषको हकमा २१. ७ बर्ष र महिलाको हकमा १७.९ रहेको छ । नेपालमा जनसांखिक तथा सर्भेक्षण सन् २०१६ मा १७ प्रतिशत किशोरीहरु कम उमेरमै पहिलै गर्भवती तथा आमा बन्ने गरेका छन् ।
खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा उप संयोजक टीकामाया गुरुङले नेपालको कुल जनसंख्याको १७ प्रतिशत किशोरी उमेर नपुग्दै आमा बन्ने गरेको बताइन । जस्का कारण मातृ मृत्युदर घटाउन चुनौतिपूर्ण रहेको छ भने शिशु मृत्युदर पनि बढ्दै गइरहेको उनले जनाईन । बी ग्रुप नेपालगन्जको आयोजना र नेपाल पत्रकार महासंघ बाँकेले संयोजनमा बुधबार गरेको कार्यक्रममा उनले बाँकेमा पनि कम उमेरका किशोरीहरु गर्भवती हुने गरेको जनाईन ।
तर पछिल्लो समय किशोर किशोरीहरुमा हुने गरेको यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे किशोरकिशोरीहरुको बुझाई सकरात्मक बन्न थालेको अधिकारकर्मी बताउँछन् । खासगरी किशोरावस्थामा आउने परिवर्तन र त्यसबारेको बुझाइ सकारात्मक बनाउन बालबालिका र किशोरकिशोरीहरुको समूह गठन गरिएको । तीन पालिकामा १२ वटा किशोरी र १२ वटा किशोर गरी २४ वटा समूह गठन गरिएको छ । १० देखि १५ र १६ देखि २४ वर्ष उमेर समूहमा विभाजन गरेर समूह बनाइएको छ । समुदायस्तरका अन्य बालबालिका तथा किशोरकिशोरी र युवाहरुलाई यसबारेमा सुचना प्रवाह गर्ने काम हुँदै आएको परियोजनाका संयोजक दिनेश कुमार चौधरी चौधरीले बताए । नेपालको जनसख्या तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार, अहिले पनि उमेर नपुगेरै गर्भधारण गर्ने र बुवाआमा बन्ने किशोरकिशोरीको संख्या डर लाग्दो तथ्याकं रहेको छ ।