नदिजन्य पदार्थ बोक्ने ट्रीपरहरुबाट झर्ने पानीले सडकहरु बिगारेको भन्दै बाँकेमा ५० बढी ट्रिपरलाई नियन्त्रणमा लिइएको छ । शनिबार बाँकेको विभिन्न स्थानबाट पानी झार्दै हिड्ने गाडीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई जनही रु १५०० जरिवाना तिराएर छोडिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ले जानकारी दिए । उनले आइतबारदेखि थप कडाई गरिने बताएका छन् । यस घटनाले बाँकेमा अवैध रुपमा खोलाहरु दोहन भईरहेको पुष्टि भएको छ । नदीमा जेसिबी प्रयोग गरी नदीजन्य पदार्थ झिक्न नपाईने भएपनि बाँकेमा धेरै मात्रामा खोलामा जेसिबीहरुको प्रयोग भईरहेको पुष्टि भएको छ । बाँके प्रशासनले खोला तथा नदीमा यस्तो प्रयोग भएको भेटाएमा कारबाही गर्ने बताएको छ ।