नेपालगन्ज— अघिपछि परिवारका सदस्यहरु घरमुलीसंग कमै बोल्छन् । स्थानीयले बडघर (गाउँको अगुवा) संग पनि बादविवाद गर्दैनन् । तर माघी यस्तो लोकतान्त्रिक पर्व हो जसले निर्धकका साथ बोल्ने अवसर जुराउँछ । घरमुली र बडघरले गरेका निर्णयको ठाडै आलोचना गर्न छुट दिइन्छ । त्यसैले माघीलाई लोकतान्त्रिक पर्व भन्न थालिएको छ । त्यसो त थारु समुदायले माघीलाई नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । वर्षभरी गरिएका कामहरुको समिक्षासंगै नया“ योजनाहरु बनाउने पुस्तौदेखिको परम्परा हो । रोचक के भने माघीको दोस्रो दिन परिवारका सम्पूर्ण सदस्यलाई एक ठाउमा भेला गरिन्छ । बुबा, आमा, श्रीमान, श्रीमतिदेखि छोराछोरीसमेत सामूहिक खानपीन (खोज्नीबोज्नी) गर्छन् । ‘घरमुलीले वर्षभरी गरेका काम, कारवाही र आयब्याय मौखिकरुपमा प्रस्तुत गर्छन् । त्यसपछि पालैपालो हरेक सदस्यलाई टिप्पणी गर्ने समय दिइन्छ,’ बाँके बैजनाथ गाउँपालिका ८ फत्तेपुरका पुर्ब बडघर चन्द्रबहादुर चौधरी भन्छन्,‘माघीले स्वतन्त्रता दिन्छ । हरेक परिवारका सदस्यलाई बोल्ने अधिकार दिएको हुन्छ । त्यसैले माघीलाई लोकतान्त्रिक पर्व भनिएको हुनु पर्छ ।’
उनका अनुसार घरमुलीको कामप्रति चित्त नबुझे परिवारका सदस्यले अर्कैलाई घरमुुुुुुली छनौट गर्न सक्छन् । गल्ति कमजोरी सच्याउन तयार भए पुरानैलाई निरन्तरता दिनससक्छन् । उमेर पुगेका मात्रै होईन परिवारका सदस्यका रुपमा रहेका छोराछोरीले पनि आफ्ना कुरा राख्न पाउँछन् । उनीहरुले बढी काम गर्नु परेकोदेखि लिएर खानपीन लत्ताकपडाका कुरा पनि राख्छन् । उनीहरुको मागलाई घरमुलीले सम्बोधन गर्नु पर्छ । ‘घरमुलीको नेतृत्वको परिक्षा माघीमै हुन्छ । घरको सबै हिसाबकिताव पारदर्शि गर्नु पर्छ । यसले परिवारका सदस्यबीच सम्बन्ध अझ कसिलो बनाउँछ,’ पुर्ब बडघर चन्द्रबहादुर भन्छन्,‘माघीले परिवारबीच समन्ध सुधारसंगै लोकतन्त्रको अभ्यास गर्न सिकाउँछ ।’
थारु समुदायले परिवारबीचको (खोज्नीबोज्नी) सकेपछि गाउँमा सामूहिक लोकतन्त्रको अभ्यासमा जुट्छन् । गाउँभरीका किसानहरु सार्वजनिक स्थानमा भेला गरी बडघरको भूमिकाप्रति प्रश्न गर्छन । बडघरले सबैको जवाफ दिनै पर्छ । गाउँमा भएका विवाह, मृत्यू संस्कार, देबीदेवताको पूजा, गाउँमा भएका आम्दानी तथा खर्च र सार्वजनिक काम बारे बडघरले आफ्ना कुरा राख्छन् । त्यसप्रति सर्वसाधारणहरुले सार्वजनिक टिप्पणी गर्छन । बडघरको भूमिका प्रभावकारी भएनभएको बारे छलफल गरिन्छ । ‘बडघरको भूमिका सकारात्मक नभए नेतृत्वका लागि खुला निर्वाचन गरिन्छ । एकभन्दा बढी बडघरको दाबी गर्ने देखिए हात उठाएरै मत दिईन्छ,’ बाँके बैजनाथ गाउँपालिका गुरदियालपुर गाउँका बडघर केदार थारु भन्छन्,‘कुनैकुनै गाउँमा बडघरका लागि निर्वाचन हुने गरेको छ ।’ उनका अनुसार माघीमा परिवारदेखि गाउ“मा पनि लोकतान्त्रिक अभ्यास गर्न सिकाएको छ । वर्षभरी घरमुली र बडघरका बारे बोल्न नसक्ने सर्वसाधारणहरुले पनि त्यस दिन जामेर बोल्न पाउदाँ अपनत्व महसुस गर्छन ।
माघीकै अवसरमा थारु समुदायले गाउँका लागि आफ्नै तरिकाले नीति नियम बनाउँछन् । सार्वजनिक कामका लागि श्रमदान, विवाह, मृत्यू संस्कारका लागि आवश्यक पर्ने जनशक्ति परिचालन, देबीदेउताको पूजा, थारु देउताको देउथानको हेरदेख, कुलो, पानी लगायतका कामका लागि नीति बनाईन्छ । त्यही नीतिलाई टेकेर बडघरले गाउँको नेतृत्व गर्छन । त्यसैले माघी महत्वपूर्ण हुनुको बैज्ञानिक कारण रहेको अगुवाहरुको तर्क छ ।
पश्चिम तराइका अधिकांश जिल्लामा माघी मनाउने तरिका उस्तै रहेको बडघरहरु बताउँछन् । माघीको एक÷दुई दिनपछि थारु समुदायलाई आवश्यक पर्ने कपाल काट्ने नाउ, कृषि औजार बनाउने लोहार, गाउँमा झारफुक र देउताको पूजा गर्ने गुरुवा, सहायक गुरुवा केसउका, देउताको मुर्ति बनाउने कुम्हार, गाउँको सुरक्षामा खटिने चौकीदार, देउथानमा लिपपोट गरी पूजा गर्ने चिरकिया लगायतका जनशक्ति छनौट गरिन्छ । उनीहरुको पारिश्रमिक बार्षिक तोकिएको हुन्छ । किसानले उनीहरुलाई बार्षिकरुपमा धान दिने गर्छन ।
एक साता अगावै थारु गाउँमा माघीको रौनक सुरु भइसकेको छ । माघीका गीत सु्निन थालेका छन् । मासुका परिकारका लागि स“ुगर, खसी, कुखुराको जिताको तयारी भइसकेको छ । कशोरीहरुका लेहगा र चोलीयामा तयारी अवस्थामा छन् । माघीका परिकारका लागि थारु समुदायहरुले माछामासु, घाँेघी, सिद्रा, सागपात, ढिक्रीका लागि चामलको पिठोको सारजाम गरिसकेका छन् । माघीमा थारुहरुको ढिक्री अनिवार्य परिकार हो । ‘माघीको परिकारका लागि सबै बन्दोबस्तीका समाग्री जुटाइसकेका छौ“ । साथीभाई मिलेर खानापीन तथा रमाईलो गरिरहेका छौँ,’ कोहलपुरका स्थानीय रामकुमार चौधरीले भने,‘माघीका अवसरमा केही दिन कामले फुर्सद मिलाएर रमाइरहेका छौँ ।’
पुसको अन्तिम रात १२ वजेपछि थारु समुदायहरु नदी, खोला, पोखरीमा स्नान सुरु गर्ने अगुवाहरु बताउ“छन् । शिवालयमा जल चढाएर पूजा गरिएपछि ठुलावडा र आफन्तसंग ढोगेर आर्शिवाद लिने चलन छ । चामल छोएर निस्राउ निकालिन्छ । त्यही चामल गरिव गुरुवाहरुलाई दान दिने र मिठोमसिनो खाएर रमाउने क्रम सुरु हुन्छ । त्यस दिन जोकोही व्यक्तिलाई जसको घरमा पनि निम्तोविना जान छुट हुन्छ । बर्षौसम्म बोलचाल नभएका व्यक्तिहरु घरमा सजिलै जान सकिने र शुभकामना आदानप्रदान गर्न सकिने अगुवाहरुले बताए । ‘माघी मेलमिलापको पर्व पनि हो । यस्तो महत्व निकै ठूलो छ,’ थारु अगुवा फूलराम चौधरी भन्छन् । माघी नुहाएर फर्केपछि निसराउ अर्थात प्रसाद तयार पारेर दिदीबहिनी तथा भान्जी चेलीहरुलाई दिने चलन रहेको चौधरीले बताए । ‘थारु समुदायले चेलीबेटीलाई दान दक्षिणा गर्ने समय नै माघी हो,’ उनले भने,‘विवाहित सबै चेलीलाई निसराउ दिने चलन छ ।’ ०५७ साल अघि माघीका समय छोरी वेटीलाई साहु महाजनका घर कम्लरी,बुक्रेनी र कमैया राख्ने निधो हुन्थ्यो । सरकारले कमैया प्रथा अन्त्य गरेको घोषणा पछि अहिले यो परम्परा हटेको छ ।