नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा २३ वडा छन् । तर वडा सचिवकारुपमा कार्यरत महिला कर्मचारी चार जनामात्रै छन् । वडा न. ४ मा गौरीकुमारी शाही, वडा न. ८ मा शान्ता घर्ती, वडा न. १० मा शान्ति केसी र वडा न. ११ मा साविता तिवारी वडा सचिवकारुपमा कार्यरत छन् । कतिपय पालिकाका वडा सचिवमा महिला सहभागिता शुन्य छ । नेपालगन्ज उपमहानगरमा भने सचिवमा निकै कम सभागिता देखिएको छ । कोहलपुर नगरपालिकामा १५ वडा मध्ये दुई वडामा मात्रै सचिवमा महिला कर्माचारी कार्यरत छन् । वडा न.११ मा पुष्पाकुमारी ओली र वडा न. ७ मा लक्षमी बिष्ट वडासचिवकारुपमा कार्यरत छन् । खजुरा गाउँपालिकाको ८ वडाका सचिवमा महिला सहभागिता शुन्य छ । त्यस्तै डुडुवा गाउँपालिकाको ६ वडाको सचिवमा महिला सहभागिता छैन । राप्ती सोनारी गाउँपालिकाको ९ वडा मध्ये वडा न. ४ मा शैलजा चौधरी सचिवका रुपमा कार्यरत छन् । तर बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाको दुई वडामा महिला सचिवकारुपमा कार्यरत छन् । वडा न. ४ मा सुजाता चौधरी र वडा न. ३ मा ज्योती घर्ती वडासचिवकारुपमा काम गरिरहेका छन् । बैजनाथ गाउँपालिकाको ८ वडा मध्ये वडा न १ मा कमला बिष्ट गुरुङ, र जानकी गाउँपालिकाको ६ वडा मध्ये वडा न.२ बेलभारमा कविता रेग्मी सचिवका कार्यरत छन् । महिला शाखामा कार्यरत उनलाई सचिवकारुपमा जिम्मेवारी दिइएको हो । उक्त पालिकाका दुई वटा सचिवबिहिन छन् । यो तथ्यांकले बाँकेका आठ पालिकामा ८१ वडा मध्ये ११ जना महिलामात्रै वडा सचिवमा कार्यरत रहेको देखिन्छ । वडासचिवकारुपमा महिला कर्मचारी किन निकै कम छन् त ? ‘लोकसेवामा महिलाका लागि बिशेष आरक्षणको व्यवस्था भइदिने हो भने महिलाहरुको सहभागिता बढ्थ्यो,’ नेपालगन्ज उपमहानरपालिका ४ का वडा सचिव गौरीकुमारी शाहीले भनिन्,‘हाम्रो समाजमा अझै पनि पुरुष मानसिकता छ । महिलाहरु अगाडि बढ्न सकेका छैनन् ।’ उनका अनुसार वडासचिवका रुपमा कार्यरत महिलाहरुलाई हेर्न दृष्टिकोण पनि फरक छ । ‘यो सचिव महिलाले के काम जाने होला भन्छन् । अविश्वास गरिन्छ । काममा पनि सघाउ“दैनन्,’ उनले अनुभव सुनाईन ।