वामदेवको गृहजिल्लामा पूर्ववत् छुट्टिए एमाले-माओवादी - Dastabej

वामदेवको गृहजिल्लामा पूर्ववत् छुट्टिए एमाले-माओवादी

वामदेवकाे अभियान कमजोर


  • जनक नेपाल

  • नेकपा विभाजनमा मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्य दामोदर अर्याल प्रचण्ड–माधव नेपाल समूहतर्फ लागे । ७ पुसमा बालुवाटार पुगेर अध्यक्ष केपी ओली समूहको केन्द्रीय सदस्यको सपथ लिएका उनी एक महिनापछि भने अर्को समूहको बर्दिया जिल्ला भेलामा सहभागी हुन पुगे । उनीसँगै फाउण्डेसनका जिल्ला अध्यक्ष इन्द्रबहादुर रावल पनि प्रचण्ड–माधव समूहतिर लागे । ४ माघको भेलामा उनले फाउण्डेसन नै भंग गरेको घोषणा गरिदिए । रावल उनै हुन्, जसको नेतृत्वमा फाउण्डेसनले बर्दियामा ओलीको समर्थन थुप्रै पटक भेला जुलुस निकालेको छ । नेकपाभित्रको सत्ता संघर्षमा ओली कमजोर हुनासाथ गुलरियाको राधाकृष्ण चोकमा ‘ओलीलाई हटाउन पाइँदैन’ नारा लगाउने उनकै समूह थियाे । अन्तरपार्टी संघर्षमा ‘अरिंगाल’को परिचय बनाएका अर्याल र रावलले ओली समूह छाड्नुको भित्री कारण नेकपा उपाध्यक्ष वामदेव गौतमसँगको बिग्रेको सम्बन्ध बन्न पुगेको छ । ओलीले केन्द्रीय कमिटी विस्तार गर्दा बर्दियाका नौ नेताहरू परे । तीमध्ये ६ जना गौतमनिकट रहेको दाबी गर्छन्, अर्याल ।‘केन्द्रीय कमिटीको सूची हेरेपछि मैले शंकर पोखरेललगायतका नेताहरूसँग बुझेँ’, उनी भन्छन्, ‘वामदेव आफैँले केन्द्रीय सदस्यको नाम टिपाएका रहेछन् । यो थाहा पाएपछि हामीले ओली समूह छाड्यौँ ।’ गौतमको सिफारिसमा पत्नी तुलसा थापा, बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, प्रदेशसभा सदस्यद्वय कविराम थारु र कुलप्रसाद पोखरेल, विमला विक, खड्गबहादुर खड्का ओली समूहको केन्द्रीय सदस्य बनाइएको अर्यालले बताए । नेता गौतमकै सिफारिसमा विकलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइयो । बर्दियामा थपिएका केन्द्रीय सदस्यमा श्याम ढकाल, शोभा ज्ञवाली र आफू मात्र ओली समूहको रहेको उनको दाबी छ ।तत्कालीन एमाले एक्लै बलियो रहेको बर्दिया १ मा माओवादी केन्द्रसँग गठबन्धन गर्दासमेत नेता गौतम २०७४ को निर्वाचनमा पराजित भए । ओली समूहले अन्तर्घात गरेर आफूलाई हराएको उनको आरोप थियो । पूर्वसांसद श्याम ढकाल र अर्याललगायत ओलीनिकट नेताहरूमाथि कारबाहीको माग गर्दै उनले केन्द्रीय कमिटीमा उजुरी दिए । त्यसैले गौतमसँग यी नेताहरूको सम्बन्ध राम्रो छैन । पार्टी विभाजन हुने स्थितिमा पनि बर्दियामा गौतम नै हाबी हुने अवस्था आएपछि आफू प्रचण्ड–माधव नेपाल समूहतर्फ लागेको अर्यालको भनाइ छ । ओली समूहनिकट नेताहरू भने अघिल्लो दिन उत्साहित भएर शपथ खाए पनि आधिकारिक नामावलीमा नाम नपरेपछि असन्तुष्ट भई उनी अर्को समूहमा लागेको बताउँछन् ।
    पूर्ववत् छुट्टिए एमाले–माओवादी
    पूर्वसांसद ढकाल बर्दियामा पूर्वएमाले एकठाउँ रहेको दाबी गर्छन् । उनले भनेझैँ प्रचण्ड–नेपाल समूहमा पूर्वमाओवादी र ओली समूहमा पूर्वएमालेको वर्चस्व देखिन्छ । एमाले–माओवादी एकताका क्रममा दुवै पार्टीबाट ७२/७२ जना रहेको १ सय ४४ सदस्यीय जिल्ला कमिटी बनाइएको थियो । ढकालका अनुसार, पूर्वएमालेमध्ये पाँच जना प्रचण्ड–माधव समूहमा गएको र चार नेता एकता अभियानमा लागेबाहेक अरु सबै ओली समूहमै छन् । पूर्वमाओवादीतर्फका दुई जना ओली समूहमा आएका छन् । स्थानीय तहका जनप्रतिनिधि पनि पूर्ववत् एमाले र माओवादी धारमा प्रष्ट रूपमा छुट्टिएका छन् । बर्दियाका आठमध्ये एमाले र माओवादीले तीन/तीन स्थानीय तहमा जितेका थिए । दुई तह कांग्रेसले जितेको थियो । पूर्वएमालेले जितेका बढैयाताल, बाँसगढी र ठाकुरबाबाका मेयर/उपमेयर ओलीपक्षमा लागेका छन् भने पूर्वमाओवादीले जितेका बारबर्दिया, मधुवन र राजापुर नगरपालिकाका मेयर/उपमेयर प्रचण्ड–नेपालमा छन् । पूर्वएमालेले बर्दियाका २७ वडाध्यक्ष जितेको थियो । तीमध्ये एक जना मात्र प्रचण्ड–माधव समूहतर्फ लागेका छन् । एकताअघि बर्दिया क्षेत्र नं. १ मा पूर्वएमालेको पकड थियो भने क्षेत्र नं. २ मा पूर्वमाओवादीको । पार्टी विभाजनमा पनि स्थिति त्यस्तै देखिएको छ । क्षेत्र नं. २ मा राजापूर नगरकमिटी अध्यक्ष अशोक चौधरीबाहेक अधिकांश नेतृत्व प्रचण्ड–माओवादीतर्फ लागेको छ । चौधरी पूर्वमाओवादीको रामबहादुर थापा ‘बादल’ समूहका भएकाले ओली समूहमा खुलेका छन् । ‘पार्टी विभाजनमा पूर्वएमाले करिब–करिब एकैठाउँमा छन् । पूर्वमाओवादीका केही नेता थपिँदा बर्दियामा हाम्रो समूह बलियो छ’ ओली समूहका नेता ढकालले भने । प्रचण्ड–नेपाल समूहका जिल्ला अध्यक्ष भुवन चौधरी वामदेव गौतमनिकट नेताहरूलाई केन्द्रीय सदस्य बनाएर ओली समूहले बर्दियामा पूर्वएमालेलाई एक ठाउँ राख्न खोजेको बताउँछन् । ‘पूर्वएमाले बलियो रहेको क्षेत्र नं. १ मा ओली समूह र पूर्वमाओवादीको पकड रहेको क्षेत्र नं.२ मा हाम्रो राम्रो छ’, उनले भने, ‘बर्दियामा माधव समूह पहिल्यैदेखि कमजोर रहेछ, त्यसमाथि वामदेवनिकट नेताहरू उता लागेपछि पुरानै स्थितिमा फर्किएझैँ भएको हो ।’ ४ माघकाे भेलामा पनि पूर्वमाओवादीनिकट कार्यकर्ताकाे बाहुल्य थियाे ।
    वामदेवकाे अभियान कमजोर
    उपाध्यक्ष गौतमले घोषणा गरेको नेकपा पार्टी एकता राष्ट्रिय अभियान उनकै गृहजिल्ला बर्दियामा कमजोर देखिएको छ । पूर्वएमाले पृष्ठभूमिका पूर्ण शर्मा जिल्ला संयोजक छन् । अभियानले बोलाएका भेलामा झिनो उपस्थिति देखिएको छ । ‘सबैलाई पद चाहिएको छ । दुवैतिरबाट तानातान भएका बेला कार्यकर्तामा अन्योल छ । एकता अभियानमा अहिल्यै ठूलो संख्या देखिएको छैन’ उनले भने, ‘तैपनि हामी एकताको झिनो आशा लिएर हिँडेका छौँ ।’गौतमनिकट अधिकांश नेताहरू ओली समूहमा देखिएका छन् । गौतमपत्नी थापासमेत ओली समूहको केन्द्रीय सदस्य मनोनीत भएपछि प्रश्न उठ्ने गरेको शर्मा स्वीकार्छन् । ५ माघ बिहान गौतमले फोन गर्दा उनले त्यही प्रश्न उठाए । ‘तुलसालाई मनोनीत गरिए पनि सपथ खाएकी छैनन् । उनीसहित ओली समूहका ९९ केन्द्रीय सदस्य राखेर अभियानको केन्द्रीय कमिटी घोषणा हुन्छ’, गौतमको भनाइ उद्धृत गर्दै शर्माले भने । गौतमले ९ माघमा जिल्ला र स्थानीय तहस्तरीय अभियान कमिटीहरू गठन गर्न निर्देशन दिएको पनि शर्माले बताएका छन् । शर्मासँगै जिल्ला नेताहरू अंगत श्रेष्ठ, अतिराम थारू, हरि अधिकारी पनि एकता अभियानमा छन् । आइतबार प्रसारित टेलिभिजन कार्यक्रम यक्ष प्रश्नमा पनि गौतमले पत्नी तुलसा आफ्नो अभियानको नेतृत्वमा रहने बताएका छन् । साथै, आफूले ओली समूहको अध्यक्ष बनाउन प्रधानमन्त्रीसँग प्रस्ताव गरेको तर ओलीले नमानेको समेत बताएका थिए ।
    शिलापत्रबाट

  • ६ माघ २०७७, मंगलवार ०९:१९ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार