नेपालगन्ज । कृषि क्षेत्रमा सजिलो र थोरै लगानीमा गर्न सकिने व्यवसाय हो मौरी पालन । यो व्यवासयका लागि समय छुट्याउन आवश्यक पर्देन । त्यसैलेपनि मौरी पालनमा पछिल्लो समय आकर्षण बढ्न थालेको छ । बाँकेको खजुरा गाँउपालिका ३ धौलागिरीका थलबहादुर थापाले बर्षिक ६० घार मौरीबाट १० क्विन्टल मह उत्पादन गरी लाखौँ अम्दानी गर्न सफल भएका छन् । उनी बिगत एक दशक देखि मौरी पालनमा आवद्ध छन् । उनले मौरी पालनलाई नै घर खर्च र अम्दानीको मुख्य स्रोत बनाएको छन् ।
मौरी व्यवसायबाट बार्षिक लाखौं कमाउन उनी एक सफल किसान हुन् । उनले मह घरबाटै बिक्री गर्दा ५ सय ५० रुपैयाँ लिइरहेका छन् । मिसावट मह नभएकाले थापाले उत्पादन गरेको मह पोखरा, काठमाण्डौ दांङ लगाएतका जिल्लाहरुमा माग भइरहेको मौरी पालक किसान थापाले बताए । मह शुद्ध रहेकाले दैनिकी प्रयोग गर्दै आएका उपभोक्ताको भनाई छ । महलाई दम, रुघखोकी जस्ता रोगका लागि उपयुक्त मानिन्छ ।
थापाले उत्पादन गरेको मह दैनिक प्रयोग गरिरहेको अमृत गौतमले बताए । थापाका एक छोरा र बुहारी कामको सिलसिलामा काठमाण्डौ बस्दै आएका छन् । तर थापा उमेरले बृद्ध भए पनि छोराको भरमा नरहेको जनाए । उनलाई समय समयमा कृषि ज्ञान केन्द्रले पनि सहयोग गरिरहेको छ । कृषि ज्ञान केन्द्र बाँकेले ३० घार मौरीपनि उपलब्ध गराएको छ । सरकारले कृर्षि क्षेत्रमा लगानि गरेका किसानहरुलाई प्रोत्सहन गरे पक्कै पनि नेपाली अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ ।