नेपालगन्ज । प्रतिनिधिसभा बिघटन भएयता बाँकेमा राजनीतिक दलका केन्द्रीय नेताहरुको दौडहा बढेको छ । सर्वसाधारणलाई पार्टी प्रवेश गराउन र कार्यकर्ताहरुलाई आफ्नो पक्षमा पार्न राजनीतिक दौडहा सुरु भएको हो । पुस १३ गते कांग्रेसले गरेको बिरोधसभालाई सम्बोधन गर्न नेता गगन थापा नेपालगन्ज आए । उनले त्रिभुवन चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरी लोकतन्त्रलाई ‘कु’ गरेको बताए । उनले कांग्रेसले सडक आन्दोलन गरी प्रतिनिधिसभा पुर्नस्थापना गराउन सहयोगको अपिल गरे । प्रतिनिधिसभा बिघटन भएपछि नेकपा दाहाल—नेपाल पक्षका नेता योगेश भट्राई पर्यटन तथा नागरिक उद्यययन मन्त्रीबाट राजीनामा दिएर पुस ११ गते नेपालगन्ज आए । उनले आफ्ना पक्षका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन नेपालगन्ज आएका हुन । उनले नेपालगन्जस्थित जिल्ला समन्वय समितिको सभाहलमा लामो समयसम्म प्रशिक्षण दिएका हुन । उनले प्रधानमन्त्री ओलीले संविधानको भावना विपरित प्रतिनिधिसभा बिघटन गरेको भन्दै कार्यकर्ताहरु एक हुन आग्रह गरे । ‘प्रधानमन्त्रीको कदम असंबैधानिक छ । त्यसका बिरुद्ध सबै कार्यकर्ताहरु एक जुट हुन आवश्यक छ,’ उनले कार्यकर्ताहरुलाई प्रशिक्षणका क्रममा दाहाल नेपाल पक्षमा लाग्न अनुरोध गरे । उक्त प्रशिक्षण कार्यक्रममा ओली पक्षका नेता तथा कार्यकर्ताहरु उपस्थित भएनन् ।
पुर्बमन्त्री भट्राई आएको दुई दिनपछि प्रधानमन्त्री ओली पक्षका नेता महेश बस्नेत पुस १३ गते नेपालगन्ज आए । उनले आफ्ना निकटका नेता तथा कार्यकर्ताहरुलाई भेटेर प्रधानमन्त्रीको कदम संबैधानिक रहेको भन्दै सरकारलाई सहयोग गर्न निर्देशन दिए । नेता बस्नेतका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा समेत दाहाल नेपाल पक्षका नेताहरु उपस्थित भएनन् । ‘प्रधानमन्त्रीको कदम संबैधानिक छ । सरकारलाई सहयोग गर्नुस,’ उनले भने । नेकपाका दुई पक्षले वडासम्मै पुगेर कार्यकर्ताहरु भेला गरेर कमिटी गठन गरिरहेका छन् । उनीहरुले आफ्ना पक्षमा पार्न कार्यकर्ताहरु तानातान गरिरहेका छन् । आफ्ना पक्षमा पार्न कार्यकर्ताहरुलाई विभिन्न आश्वासन दिईरहेका छन् । प्रतिनिधिसभा बिघटन भएपछि जनता समाजबादी पार्टीले पनि आफ्नो राजनीतिक गतिबिधिलाई तिव्रता दिएको छ । पुर्ब शहरी विकास मन्त्री ईस्तियाक राईको गृह जिल्ला पार्ने भएकाले पनि गतिबिधि बढेको हो । पुस १३ गते जसपाले नेपालगन्जको त्रिभुवनचोकमा बिरोधसभा गर्यो । सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको कदमबिरुद्ध आन्दोलनमा होमिन आग्रह गरे । ‘संसद पुर्नस्थापना नहु“दासम्म संघर्षका लागि सबै कार्यकर्ताहरु तयार रहनुस,’ उनले भने ।
त्रिभुवन चोकमा बिरोधसभा भइरहँदा नेकपा ओली समूहको भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरिरहेका थिए । उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र अर्का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकारलाई संकटतर्फ धकेलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेको दाबी गरे । ‘पार्टी र सरकार सन्चालन गर्न नदिएपछि त्यही पार्टीबाट जितेर गएको संसदको के औचित्य रह्यो,’ सोमबार बाँकेको खजुरामा आयोजित आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै भने,‘पार्टी र सरकार सन्चालनका लागि प्रधानमन्त्री ओलीले सांसद बिघटन गर्नु भएको हो ।’ मुख्यमन्त्री पोखरेल मंगलबार बर्दियाका कार्यकर्ताहरुलाई सम्बोधन गरेका छन् । राजनीतिक शास्त्रका प्रध्यापक तथा बिषलेसक डा. जर्नादन आचार्यले राजनीतिक दलका नेताहरु निर्वाचन हुने वा नहुनेमा दुविधा रहेको भन्दै कार्यकर्ता भेट्न नेताहरु दौडिरहेको बताए । ‘प्रवाभमा पर्ने कार्यकर्ताहरु एकअर्काको पक्षमा लागिसके । तर लोभ नहुने कार्यकर्ताहरु हेर्ने र पर्खाईको अवस्थामा छन्,’ उनले भने,‘मन्त्री भएका सांसद भइसकेकाहरुसंग गाडी छ । घुम्नु अनौठौ मान्नु पर्छ,’ उनले भने ।