बाँके । सरकारी सेवामा प्रवेश गरेको सात वर्षमै आरती चौधरीले सेवाग्राहीको मन जितेकी छन् । स्वास्थ्य समस्या लिएर कार्यालय आउने सेवाग्राहीको मन बिझाउने काम उनले कहिल्यै गरिनन् । पहिलो ‘पोष्टिङ्ग’ भएको प्युठान होस् चाहे हाल कार्यरत बाँके १ जहाँ भएपनि पनि उनी सेवाग्राही माझ उत्कृष्ट कर्मचारीका रुपमा परिचित छन् । नेपालगन्ज–१ घर भएकी जनस्वास्थ्य निरीक्षक आरती सेवाग्राहीको मन जितेकै कारण ‘इन्ट्रीग्रेटी आइकन २०२०’ को उत्कृष्ठ आठमा परेकी छन् । ‘इन्ट्रीग्रेटी आइकन २०२०’को बिजेता बन्ने दौडमा रहेकी उनले सेवाप्रवाहमा अझ जिम्मेवारी
थपिएको महसुस गरेकी छन् । आरती भन्छिन्–‘सबैले चर्चा गर्दा खुःसी लाग्नु स्वभाविक नै हो तर खुःसीसंगै सेवाग्राहीलाई अझ प्रभावकारी सेवा दिने चुनौती पनि आएको महसुस गरेकी छु ।’
२०७० साल माघ २६ गतेदेखि उनी सरकारी सेवामा प्रवेश गरेकी थिइन । उनको पहिलो नियुक्ती प्युठानको स्वर्गद्धारी स्वास्थ्यचौकीको इन्चार्जका रुपमा भएको थियो । दुईवर्ष त्यहाँका विरामीको सेवा गरेकी उनलाई प्रभावकारी काम गरेकै कारण जिल्ला जनस्वास्थ्य कार्यालयले उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको थियो ।
सरकारी सेवा शुरु गरेको पहिलो पोष्टिङ्गमै उत्कृष्ट बनृपछि थप हौसला र प्रभावकारी काम गर्ने आत्मबिश्वास जागेको आरती बताउँछिन् । भन्छिन्–‘मैले कहिल्यै पनि टेन टु फाईभको डिउटी गर्न आएको कर्मचारी मात्र हुँ भन्ने सम्झिइन । जनताको सेवा गर्न आएकी हुँ भन्ने सम्झिएकाले मलाई सेवाग्राहीले राम्रो मान्नुभएको होकी जस्तो लाग्छ ।’ दुई वर्ष प्युठान काम गरेपछि उनको सरुवा बाँकेको गनापुरमा भयो । त्यहाँबाट नेपालगन्ज उपमहानगरपालिकामा समायोजन भएपछि उनी स्वास्थ्यचौकीमा जनस्वास्थ्य निरीक्षकका रुपमा कार्यरत छिन् । उपमहानगरपालिकाको समायोजन हुँदै गर्दा बिश्वभर कोरोना महामारी फैलिएको थियो । त्यसपछि उनी लगायत सबै स्वास्थ्यकर्मीहरु नेपालगन्जमा कोरोना नियन्त्रण अभियानमा सहभागि भए । ‘हामीले कहिल्यै कल्पना नगरेको महामारीसंग जुध्न् दिन राती नभनी सबैै स्वास्थ्यकर्मी खटियौं । टिमवर्कका कारण त्यो चुनौतीको पनि समाना गरेर अहिले सामान्य
अवस्थामा फर्किएका छौं ।’–उनले भनिन् । उनले कार्यालयमा आउने समस्यालाई अवसरका रुपमा ग्रहण गर्ने गरेकी छन् । कार्यालयको समस्याका नाममा सेवाग्राहीलाई सेवा दिनबाट बन्चित गर्ने काम कहिल्यै गरिनन् । ‘सेवाग्राहीलाई सेवा दिने हो । यो वा त्यो नाममा सेवा दिन सकिएन भने राम्रो हुँदैन । सरकारी सेवा भनेको उत्कष्ट हुन्छ, खराव हुँदैन भन्ने कुरा स्थापित गराउने दायित्व कर्मचारीकै हो ।’– आरतीले भनिन् । स्वास्थ्यक्षेत्र अझ संवेदनशिल भएकाले स्वास्थ्य सेवाका कर्मचारीमा सेवाग्राहीप्रति सबैभन्दा धेरै जिम्मेवारी हुने उन िबताउँछिन् । ‘मैले पाएको जिम्मेवारी मात्र पुरा गरे भने बिरामीको दुःख कम हुन्छ, मैले थोरै बढी मेहनत गरे भने बिरामीको ज्यान नै जोगिन सक्छ । यहि प्रेरणाले मलाई स्वास्थ्य सेवामा जोखिम लिएर काम गर्न हौसला दिन्छ ।’ – आरतीले भनिन् । ‘इन्ट्रीग्रेटी आइकन २०२०’को प्रतिस्पर्धामा रहेकी आरतीले सेवाग्राहीको सेवालाई आफुले संधै प्राथमिकतामा राख्ने बताइन ।