नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापा मुस्कुराईरहेका थिए, बुधबार बिहान । मुस्कुराउनुको कारण थियो, उनी कोरोनाबिरुद्धको खोप लगाउने बाँकेको पहिलो व्यक्ति बन्दै थिए । मुस्कानसंगै उनले खोप लिए, अनि रचे ईतिहास ।
भारत सरकारले अनुदान दिएको कोरोनाबिरुद्धको खोप नेपालभरीका स्वास्थ्यकर्मीहरुलाई पहिलो चरणमा दिने कार्य सुरु भएको छ । बाँकेको हकमा डा. थापा भाग्यमानी हुन, जसले खोप लगाएर सुरुवात गरे । नेपालकै चिकित्सक क्षेत्रमा वरिष्ठमा पर्ने डा. श्यामसुन्दर यादव लगायतले कोरोनाबिरुद्धको खोप लिए । खोप लिंदा चिकित्सकहरुको ओठमा मन्द मुस्कान देखिन्थ्यो ।
बुधबारमात्रै भेरी अस्पतालका १२० जनाले सो खोप लिए । ४ सय ५० जनालाई खोप दिने लक्ष्य छ । बिहिबार शिक्षण अस्पताल नेपालगन्जका चिकित्सक र स्वास्थ्यकर्मीले खोप लिने छन् । पहिलो चरणको खोप भएकाले धेरैलाई त्रास हुनसक्छ ।
तर भेरी अस्पतालका प्रमुख डा. थापा भन्छन्,मैले बिहान खोप लिए । तर यस्को कुनै साईडईफेक्ट देखिएन । नेपालभरी सयौंले खोप लिईसके । अब डराउनु पर्दैन । जिल्लामा पहिलो चरणमा कोरोनाको फ्रन्टलाईनमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई तोकिएको नियमानुसार खोप लगाउन सुरु गरिएको छ ।